भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सीमा नक्सा दुई देशको सहमतिमा बन्नुपर्ने बताएकी छन्।
पर्साको वीरगन्जमा आयोजित पार्टी कार्यकर्ता भेटघाटमा बोल्दै मन्त्री अर्यालले लिपुलेख, कालापानी नेपालकै नक्सामा राखिसकेको बताइन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष ०७५⁄०७६ को वार्षिक प्रगति समीक्षा गोष्ठी एवं प्रदेशस्तरीय दुईदिने अन्तरक्रिया कार्यक्रममा सहभागी हुन मन्त्री अर्याल वीरगन्ज आइपुगेकी हुन्।

भारतले नयाँ नक्सा निर्माणमा नेपालको लिपुलेक पनि उतै राखेको सन्दर्भलाई संकेत गर्दै मन्त्री अर्यालले भनिन्, ‘लिम्पियाधुराको सवालमा प्रमाणहरू जुटाउँदै गरेको छ। लिपुलेक र कालापानी नेपालको नक्सामै राखिसकियो।’
आफ्नो भूमि जोगाउन सरकारले कुनै कसर बाँकी नराख्ने उनले बताइन्। ‘यो सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायत नेपाली भूमि जोगाउन कुनै कसर बाँकी राख्दैन। ज्यान फालेर भए पनि आफ्नो भूमि आफ्नै गराएर छोड्छ’, उनले भनिन्।
पार्टीको नेतृत्व गरेर प्रधानमन्त्री बनेका केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपाल र जनयुद्धको नेतृत्व गरेर आएका प्रचण्डजस्ता व्यक्तिहरू भएको पार्टीको नेतृत्वमा बनेको सरकारले १ इन्च पनि नेपाली भूमि अरूकोमा पार्न नदिने उनको दाबी छ।
मन्त्री अर्यालले भनिन्, ‘अझ केपी शर्मा ओली नेतृत्वको यो सरकारले यस्ता कुरामा कुनै खुट्टा कमाउँदैन ।’
लोकतन्त्र प्राप्तिसँगै जनताको अभिमतबाट आएको दुईतिहाइको सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारा लिएर अगाडि बढिरहेको बताउँदै मन्त्री अर्यालले अगाडि भनिन्, ‘अब सरकारले विकासको खाका मात्र बनाउँदैन। कामको प्रतिफल देखिने गरी काम गर्छ।’
सरकारले गरेका राम्रा कामको भने सही प्रचार हुन नसकोको उनले गुनासो गरिन्। राम्रा कामको ठोस कुरा जनतामा लान पार्टी कार्यकर्तालाई उनले सुझावसमेत दिइन्।
सामाजिक सञ्जाल र बाहिर जता पनि प्रतिपक्षका मात्र कुरा आउँदा फिल्डजति सबै प्रतिपक्षलाई छाडेर चुप बसेको जस्तो देखिएको भन्दै कम्तीमा राम्रा कामको प्रचार गर्न पार्टी कार्यकर्तालाइ उनले आग्रह गरिन्।

स्थानीय पार्टीका नेता–कार्यकर्ताले उठाएका सवालहरूलाई सम्बोधन गर्दै मन्त्री अर्यालले आफूले पनि निगरानी राख्ने बताइन्। जनअपेक्षाविपरीत भएका कुनै काम आफूलाई मान्य नहुने भन्दै मन्त्री अर्यालले पार्टीका नेता–कार्यकर्ताबाट पनि सकारात्मक सुझाव आउनुपर्ने अपेक्षा व्यक्त गरिन्।
Shares

प्रतिक्रिया