ad ad

राजनीति


सत्ता गठबन्धनको निष्कर्ष : तीनै तहको निर्वाचन एकै पटक

उपयुक्त महिना आगामी मंसिर
सत्ता गठबन्धनको निष्कर्ष : तीनै तहको निर्वाचन एकै पटक

फाइल तस्बिर


सागर न्यौपाने
माघ ७, २०७८ शुक्रबार १९:३४, काठमाडौँ

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी वर्ष निर्वाचन हुने भएकाले पूर्वतयारी थाल्न सम्बन्धित निकायलाई निर्देशन दिए लगत्तै बसेको सत्ता गठबन्धनले तीनै तहको निर्वाचन एकै चरणमा गर्ने समझदारी जुटाएको छ। 

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रस्ताव अनुसार तीनै निर्वाचन एकै पटक गर्ने समझदारी जुटाइएको हो। 

बैठकमा सहभागी एकीकृत समाजवादी नेता गंगालाल तुलाधरका अनुसार तीनै तहको चुनाव एकैचोटी गर्ने तर निर्वाचन आयोगले प्रस्ताव गरेको वैशाखमा भने गर्न नसकिने निष्कर्ष निकालिएको हो। 

बैठकमा तीनै तहको चुनावका लागि २०७९ मंसिर महिना उपयुक्त हुने निष्कर्षमा सत्ता साझेदार नेताहरु पुगेका छन्। 

'२०७४ मा स्थानीय तहको निर्वाचन तीन चरणमा भएको थियो। तर कुन मितिलाई अन्तिम मान्नेबारे कानूनविद, संविधानविद् र निर्वाचन आयोगसँग परामर्श गरेर निष्कर्ष निकाल्ने सहमति भएको छ', नेता तुलाधरले नेपालखबरसँग भने, 'संघ, प्रदेश र स्थानीय निर्वाचन मंसिरमा एकै पटक गर्ने अध्यक्ष माधवकुमार नेपालको प्रस्ताव अनुमोदन भएको छ।'

सत्ता गठबन्धन बैठक : स्थानीय सरकारको अन्तिम मितिमा अड्कियो कुरो

२०७४ को वैशाख ३१ गते पहिलो, असार १४ गते र असोज २ गते तेस्रो चरणमा स्थानीय तह निर्वाचन भएको थियो। यी तीनमध्ये एकलाई पाँच वर्षे कार्यकालको अन्तिम मानेर निर्वाचन मिति घोषणा तयारीमा गठबन्धन जुटेको हो। 

बैठकपछि सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको भौगोलिक जटिलता र आर्थिक अवस्थालाई पनि ख्याल गर्दै तीनै निर्वाचन एकै चरणमा गर्नेबारे छलफल भएको जानकारी दिए।

'मुलुकको भौगोलिक जटिलताबारे हामीलाई थाहा छ। अर्कातिर आर्थिक अवस्था पनि सहज छैन। त्यसैले निर्वाचनलाई कसरी कम खर्चिलो बनाउने भन्ने बैठकमा कुरा भएको छ', उनले भने, 'त्यसका लागि तीनै तहको निर्वाचन पनि एकैचोटी गर्नेबारे छलफल भएको हो। तीनै तहको निर्वाचन एकै पटक गर्ने विषयले राजनीतिक संयन्त्रमा प्रवेश पाएको छ। यो सहमति अनुसार संविधानले जे व्यवस्था गरेको छ, त्यही अनुसार गठबन्धन अघि बढ्छ।'

यसअघि गत मंगलबारको संयन्त्र बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संघीय निर्वाचन वैशाख-जेठमा गर्ने प्रस्ताव अघि सारेका थिए। तर स्थानीय निर्वाचन पछि धकेल्ने प्रचण्डको प्रस्तावप्रति सत्ताधारी दलकै नेतासहित कानुनविद्हरुले पनि विरोध गरेका थिए। 

शुक्रबारको बैठकमा प्रचण्डको प्रस्ताव उपयुक्त भए पनि यसले एमाले अध्यक्ष केपी शर्मा ओलीको रणनीति 'अर्ली इलेक्सन'लाई बल पुग्ने भन्दै त्यसो नगर्ने तर तीनै तहलाई पूर्ण कार्यकाल चल्न दिनुपर्ने पक्षमा नेताहरु पुगेका छन्। 

बैठकमा माधव नेपालको प्रस्तावमा प्रचण्डले समर्थन जनाए पनि अर्को घटक जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले भने तीनै निर्वाचन एकै पटक सम्भव नहुने बताएका छन्। 

अध्यक्ष यादवले संविधानमा पनि एकैपटक तीनै तहको चुनाव गर्ने व्यवस्था नभएको पनि बताएका थिए। तर बैठकमा एकै चरणमा भए पनि एक महिनाभित्रमा तीनै तहको निर्वाचन सक्ने गरी काम गर्न सकिनेबारे कुरा भएको छ। 

बैठकमा माधव नेपालको प्रस्ताव अनुसार अघि बढ्न प्रमुख सत्तारुढ कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पनि तयार भएका छन्। 

'ल ठीक छ, हामी सबै सल्लाहबाटै जान्छौँ। गठबन्धनको भावनाअनुसार अघि बढिरहेका छौँ। यसलाई निरन्तरता दिनुपर्छ', बैठकमा देउवाले भनेका थिए, 'चुनाव मिति सहमतिबाटै घोषणा हुनेछ। कानूनविद, संविधानविद् र निर्वाचन आयोगसँग छलफल गरेर स्पष्ट दृष्टिकोण बनाएपछि तोकौँला।'

बैठकमा संविधानसँग बाझिएको ऐन संशोधन गरेर अघि बढ्न पनि गठबन्धनले निर्णय गरेको छ। निर्वाचनका लागि संघीय ऐन र संविधानको व्यवस्था बाझिएकाले यसलाई मिलाएर लानुपर्ने नेताहरुले निष्कर्ष निकालेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .