नेपाली भूमि लिपुलेकमा अतिक्रमण गरेर सडक बनाएको चर्को विरोध भएपछि भारतीय दूतावासले आफ्नो अडान सार्वजनिक गरेको छ।
भारतले दुई देशबीच स्थापित अन्तरसरकारी संयन्त्रका माध्यमबाट सीमासम्बन्धी मुद्दा सम्वादमार्फत हल गर्न सकिने जनाएको छ।
नेपालस्थित भारतीय दूतावासका प्रवक्ताले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै विगतमा भएका सहमति तथा मित्रवत सम्बन्धको भावनाअनुसार दुई देशबीच समाधान हुन बाँकी सीमासम्बन्धी विषय सुल्झाउन सकिने जनाएका हुन्।
सीमासम्बन्धी भारतको पुरानो अडान स्पष्ट रहेको र त्यही अडानमा कायमै रहेको पनि प्रवक्ताले जनाएका छन्।
'हाम्रो धारणा नेपाल सरकारलाई अवगत गराइसकेका छौँ,' विज्ञप्तिमा भनिएको छ।
नेपाली भूमि लिपुलेकमा भारतले जारी राखेको सडक निर्माणप्रति नेपालमा सत्तारुढ तथा विपक्षी दलले विरोध गरेपछि भारतको यस्तो प्रतिकृया आएको हो।
नेपाल सरकारले भारतको उक्त कदमप्रति औपचारिक प्रतिक्रिया अझै दिएको छैन। यद्यपि सत्तारुढ कांग्रेसले शुक्रबार विज्ञप्ति निकालेर लिपुलेक नेपालको भएको बताउँदै कालापानीबाट पनि भारतीय सेना हट्नुपर्ने अडान सार्वजनिक गरेको थियो।
Shares

प्रतिक्रिया