ad ad

राजनीति


सरकारका प्रवक्ता भन्छन्ः दुई प्रतिशत भूभाग भारतको कब्जामा

सरकारका प्रवक्ता भन्छन्ः दुई प्रतिशत भूभाग भारतको कब्जामा

नेपालखबर
कात्तिक २१, २०७६ बिहिबार १२:५९,

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भारतले नेपाली भूमि समेत समावेश गरेर सार्वजनिक गरेको नक्सालाई नेपाल सरकारले अस्विकार गरी दिएको स्पष्ट पारेका छन्।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले ती समस्या कूटनीतिक तथा राजनीतिक तहबाट समाधान गर्ने कामलाई सरकारले अघि बढाएको पनि बताए। बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एक पक्षीय रुपमा भारतले जारी गरेको पोलिटिकल नक्सालाई सरकारले अस्विकार गरिदिएको बताए। ‘एक पक्षीय रुपमा भारतले हालै जारी गरेको पोलिटिकल नक्सालाई हामीले अस्विकार गर्ने निर्णय गरेका छाैँ,’ मन्त्री बाँस्कोटाले भने, ‘कूटनीतिक, राजनीतिक तहबाट ती समस्या समाधान गरिनेछ।’

उनले नेपालको करिब २ प्रतिशत भूमि भारतले मिचेको तथ्यांक सरकारसँग रहेको उल्लेख गर्दै त्यसलाई ऐतिहासिक तथ्यको आधारमा समाधान गर्न पनि नेपाल सरकार दृढ रहेको बताए। नेपालको भूमि मिच्न नदिने सरकारको अडान यथावत रहेको पनि मन्त्री बाँस्कोटाको भनाई छ।

मन्त्री बाँस्कोटाले नेपालमा कुनै पनि प्रकारको आतंकवादी गतिविधि हुन नदिने प्रतिवद्धता पनि दोहोर्‍याए। नेपालमा आतंकवादी गतिविधिको सम्भावना बढेर गएको अमेरिकी सरकारको प्रतिवेदन सार्वजनिक भईरहेका बेला उनले त्यस्ता खालका बाह्य वा घरेलु गतिविधि हुन नदिन नेपाल सरकार सचेत रहेको बताए।

मन्त्री बाँस्कोटाले कानुन विपरितका कुनै पनि गतिविधि नेपालमा गर्ने छुट कसैलाई नरहेको पनि बताए।

यस्ता छन् मन्त्रिपरिषदका निर्णय

१. एशियाली पूर्वाधार लगानी बैंकबाट विद्युत वितरण प्रणाली स्तरोन्नती तथा विस्तार आयोजनाका लागि प्रस्तावित ११२.३ मिलियन अमेरिकी डलर बराबरको ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ।
२. नेपाल र जर्मनीबीच कुटनीतिक नियोगमा कार्यरत कुटनीतिक कर्मचारीको परिवारका आश्रित सदस्यलाई रोजगारका लागि अनुमति दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरिएको छ ।
३. नेपाल र रूसी महासंघबीच सम्पन्न सरकारी तथा कुटनीतिक राहदानी वाहकहरूलाई प्रवेशाज्ञा छुट दिने सम्बन्धी सम्झौतापत्रलाई नोट आदनप्रदानमार्फत संशोधन गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिइएको छ।
४. १३ औं दक्षिण एशियाली खेलकुद, २०१९ आयोजना तथा व्यवस्थापन सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०७६ स्वीकृत गरिएको छ।
५. लेखा प्रमुख सेनानी श्री गोपालप्रसाद सिग्देललाई लेखा महासेनानी दर्जामा पदोन्नती गरिएको छ।
६. नेपाल इन्जिनियरिङ सेवा, जियोलोजी समूह, जनरल जियोलोजी उपसमूहको राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरहका श्री सुधीर रजौरे र नेपाल इन्जिनियरिङ सेवा, जियोलोजी समूह, हाइड्रोजियोलोजी उपसमूहका राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरहका श्री चुर्णबहादुर ओलीलाई संघको समान श्रेणी र पदमा समायोजन गर्ने निर्णय गरिएको छ। त्यसैगरी नेपाल इन्जिनियरिङ सेवा, केमेष्ट्री समूहको राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरहका श्री कुमारी ज्योती श्रेष्ठ र श्री केशवकुमार न्यौपानेलाई संघको समान श्रेणी र पदमा समायोजन गर्ने निर्णय गरिएको छ ।
७. नेपाल मेडिकल काउन्सिलको रिक्त अध्यक्ष पदमा प्रा. डा. भगवान कोइराला, पाल्पालाई मनोनित गरिएको छ।
८. देहाय प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ–
प्रदेश नं १ः प्रा.डा. श्री गोविन्द बहादुर तुम्बाहाङ, धनकुटा
प्रदेश नं २ः श्री रत्नेश्वर लाल (कायस्थ), काठमाडौं
प्रदेश नं ३ः श्री अनुराधा कोइराला, काठमाडौं
गण्डकी प्रदेशः श्री बाबुराम कुँवर, अर्घाखाँची
प्रदेश नं ५ः श्री उमाकान्त झा, धनुषा
कर्णाली प्रदेशः श्री दुर्गा केशर खनाल, सुर्खेत
सुदुरपश्चिम प्रदेशः श्री मोहनराज मल्ल, कैलाली
९. युवा रोजगारी प्रवर्दन गर्ने उद्देश्यसहितको रूपान्तरण पहल परियोजनाका लागि विश्व बैंकबाट प्रस्ताव भएको करिब रू. १३ अर्व ६२ करोड (१२० मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरिएको छ।
१०. माननीय पराराष्ट्र मन्त्रीज्यूको रुसी महासंघको औपचारिक भ्रमणका अवसरमा रुसी महासंघसँग Culture Exchange Program सम्बन्धी समझदारीपत्रमा नेपालका तर्फबाट रुसी महासंघका लागि नेपालका राजदूतलाई हस्ताक्षर गर्न स्वीकृति दिइएको छ।
११. तीन हजार सिट क्षमताको सम्मेलन केन्द्र निर्माण गर्न गोदावरी नगरपालिकामा पर्ने नेपाल सरकारको स्वामित्वमा रहेको कित्ता नं. ३२ को कूल २८२ रोपनी ६ आना ३ पैसा जग्गामध्ये वनस्पति उद्यान एरियादेखि पश्चिमतर्फको र केशर दरबारको कम्पाउन्ड वालदेखि उत्तरतर्पmको २५ रोपनी जग्गा नेपाल सरकार, सहरी विकास मन्त्रालयको नाममा स्वामित्व हस्तान्तरण गर्ने निर्णय गरिएको छ ।
१२. आर्थिक ऐन, २०७६ को दफा १८ को उपदफा (१) बमोजिम करको दर घटाउने, बढाउने वा छुट दिने, कर सम्बन्धी विषयमा सैद्धान्तिक सहमति प्रदान गर्ने र अन्तःशुल्क नियमावली, २०५९ संशोधन गर्ने निर्णय गरिएको छ।
१३. प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्यको उप–निर्वाचनमा नेपाली सेना परिचालन गर्ने निर्णय गरिएको छ।
१४. नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच बाँडफाँट हुने प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटको आधार, सीमा, मार्गदर्शन, विधि र हिस्सा स्वीकृत गरिएको छ।
१५. देहायका व्यक्तिहरूलाई देहायका प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ–
प्रदेश नं. १ः श्री सोमनाथ अधिकारी ‘प्यासी’, कास्की
प्रदेश नं. २ः श्री तिलक परियार, बाँके
प्रदेश नं. ३ः श्री विष्णुप्रसाद प्रसाई, झापा
गण्डकी प्रदेशः श्री अमिक शेरचन, चितवन
प्रदेश नं. ५:  श्री धर्मनाथ यादव, सिरहा
कर्णाली प्रदेशः श्री गोविन्दप्रसाद कलौनी, बैतडी
सुदूरपश्चिम प्रदेशः श्री शर्मिलाकुमारी पन्त, चितवन
१६. राष्ट्रिय शिक्षा नीति, २०७६ स्वीकृत गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .