ad ad

राजनीति


गण्डकी अधिवेशनको तयारीमा माओवादी, सर्वसम्मत नेतृत्व चयन गर्ने दाबी

गण्डकी अधिवेशनको तयारीमा माओवादी, सर्वसम्मत नेतृत्व चयन गर्ने दाबी

वाशुदेव मिश्र
मंसिर २३, २०७८ बिहिबार १८:४८, काठमाडौँ

नेकपा माओवादी केन्द्र गण्डकी ‘प्रदेश अधिवेशन’को तयारीमा जुटेको छ। मंसिर २५ र २६ गते पोखरामा हुने अधिवेशनले अध्यक्ष, उपाध्यक्ष (३), सचिव, सहसचिव (३) र कोषाध्यक्षसहित २२९ सदस्यीय प्रदेश समिति गठन गरिने गण्डकी इञ्चार्ज हितराज पाण्डेले जानकारी दिए।

अधिवेशनले ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १९ प्रतिशत दलित तथा मुस्लिम र सीमान्तकृत सहभागिता सुनिश्चित गर्नेछ। 

वडा तहदेखि नै सर्वसम्मत नेतृत्व चयन गर्दै आएको माओवादी केन्द्रले गण्डकी कमिटी पनि सर्वसम्मत बनाउने प्रयत्न गरिने इञ्चार्ज पाण्डेले बताए।

अधिवेशनमा गण्डकीका विभिन्न नगर र गाउँपालिकाबाट ६ सय निर्वाचित प्रतिनिधि, ६० जना मनोनित, आयोजक समितिका ९६ जना, जेष्ठ कम्युनिष्ट मञ्चबाट ४३ जना र प्रदेश सल्लाहकारबाट ४७ जना गरी ८४६ जना प्रतिनिधिले सहभागिता जनाउने छन्। 

गण्डकीका एक महानगरपालिका, २६ वटा नगरपालिका र ५८ गाउँपालिकामध्ये अधिकांशमा अधिवेशन सम्पन्न भएको पनि उनले जिकिर गरे। मनाङ, मुस्ताङ र नवलपुरमा भने कमिटी बनाउन बाँकी रहेको उनको भनाई थियो। माओवादी केन्द्रले पालिकास्तरीय अधिवेशन सम्पन्न गरे पनि पोखरा महानगरलगायतका केही पालिकाहरुमा पदाधिकारी चयन गर्न सकेको छैन।

विधानमै पहिला संगठन कमिटी निर्माण र त्यसपछि पदाधिकारी चयन गर्ने भनिएकाले पदाधिकारी चयनमा ढिलाइ भएको इन्चार्ज पाण्डेले बताए। तर, पोखरा महानगरलगायतका पालिकाहरुमा अध्यक्ष र पदाधिकारीका आकांक्षी बढी भएकाले पदाधिकारी चयन गर्न माओवादी असमर्थ भएको हो। 

अधिवेशनबारे जानकारी दिन बिहीबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा गण्डकी सचिव देवेन्द्र पराजुलीले गण्डकीका ८५ वटा स्थानीय तहसम्म नै माओवादीको संगठन बलियो बनाउने र अब विचारप्रधान पार्टी बनाउने अभियान थालिएको जिकिर गरे। गण्डकी अधिवेशन सम्पन्न गर्न २० वटा उपसमिति बनाएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .