ad ad

राजनीति


सक्रिय राजनीतिमा गण्डकीका पत्रकारहरु!

सक्रिय राजनीतिमा गण्डकीका पत्रकारहरु!

वाशुदेव मिश्र
मंसिर २१, २०७८ मंगलबार १८:१०, काठमाडौँ

जमाना ‘भाइरल’ को छ।

एमालेको १० औं महाधिवेशनको क्रममा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको एउटा अन्तर्वार्ता ‘भाइरल’ बन्यो। कारण थियो–पत्रकारलाई पत्रकारिता सिकाउनु।

राष्ट्रिय राजनीतिमा चर्चामा आइरहने गोकुललाई अन्तर्वार्ताकार पत्रकारले ‘कुनै समय पत्रकारिता गरेको र सिकाएको सम्झाए। गोकुल पत्रकार पनि थिए भन्ने आममान्छेले थाहा पाए।

त्यसो त, एमालेको १० औँ महाधिवेशनमा थुप्रै पत्रकारहरू प्रतिनिधि र शुभेच्छुक भातृसंस्थाको सदस्यको रुपमा सहभागी भएकै थिए तर गोकुल मात्रै ‘भाइरल’ बने। 

पत्रकारिताका  ‘गुरु’हरुले नेपाली पत्रकारिता  ‘मिसन पत्रकारिता’ बाटै सुरु भएको इतिहास सुनाउँछन्। नेपालको पत्रकारिता प्रजातन्त्र स्थापना एवं बलियो बनाउनै लागि भएको सगर्व सुनाउँछन्। पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नेपाल पत्रकार महासंघका संस्थापक सभापति मानेकाले यो भनाइको प्रतिवाद गरिरहनु पर्दैन। भला, केहीले भने अझैसम्म ‘किसुनजी’लाई पत्रकार मान्दैनन्!

पत्रकारितालाई राजनीतिको भर्‍याङ बनाएकाहरुको कुरा छाडौँ। अहिले पनि हिजो सक्रिय पत्रकारिता गरेकाहरूको राजनीतिक दलमा प्रवेश भइरहेको छ। र, गण्डकीमा त्यसको पछिल्लो उदाहरण बनेका छन्– रमेश पौडेल।

पत्रकारितामा अहिले पनि क्रियाशील पौडेल नेपाली कांग्रेसको गण्डकी प्रदेश सदस्य विजयी बन्दै सक्रिय राजनीतिमा होमिएका छन्। पोखरामा बसेर सक्रिय पत्रकारिता गरिरहेका पौडेलले गृहजिल्ला पर्वतबाट सदस्य जितेका हुन्। खुल्लातर्फको उम्मेदवार बनेका उनले ५८४ मत प्राप्त गरे भने प्रतिस्पर्धी गिरिराज गौतमले ४६५।

संयोग कस्तो भने, गण्डकी सभापतिका प्रत्यासी बनेका अर्जुन जोशीको गृहजिल्ला पनि पर्वत नै थियो। प्यानलसहित चुनावमा होमिएको कांग्रेसको दुई गुटमध्ये रमेश सभापति जितेका शुक्रराज शर्माको प्यानलमा थिए। पर्वत अर्जुन जोशीको पकेट क्षेत्र।

कास्कीमा बसेर पत्रकारिता गर्ने पौडेलले फरक गुटमा रहेर पनि पर्वतबाट राम्रै मत पाए। ‘निष्ठा र आदर्शको राजनीति बचाऔँ’ भन्ने नारासहित मैदानमा होमिएका पौडेलले आफूलाई निष्‍ठाकै आधारमा मतदाताले न्याय गरेको बताए।

‘कांग्रेसको प्रत्यक्ष राजनीतिमा मेरो संलग्नता नदेखिए पनि निरन्तर शुभेच्छुक संस्थामा बसेर काम गरेकै थिएँ’,जीतपछि उनले भने, ‘पार्टी समितिमै बसेर काम गरौं भनेर परीक्षामा उत्रिएको साथीहरुले विश्वास गर्नुभयो।’ 

हो, पौडेल नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष हुन्। सरकारी संचार माध्यम गोरखापत्र र नेपाल टेलिभिजनमा कार्यरत उनी पोखराका गिनेचुनेका पत्रकारमध्ये एक हुन्। पत्रकारिताको क्रममा नेपालका धेरै सञ्चार माध्यमसँग जोडिएका रमेश कुनै बेला स्थायी शिक्षक थिए। हुँदा खाँदाको प्राथमिक तहको स्थायी जागिर छाडेर पत्रकारिता रोजेका उनले २६ वर्षपछि राजनीति रोजे। किन त? 

‘पत्रकारिताबाट परिवर्तनको सपना देखेको थिएँ, सकेसम्म त्यसैको लागि काम गरेँ’ उनले भने, ‘राजनीतिलाई नै निष्ठापूर्ण बनाउँदै समाज परिवर्तनको सपना देखेर यता होमिएँ।’ 

नेपाली कांग्रेसको आन्तरिक चुनावमा भड्किलो प्रचार भइरहँदा रमेश भने गुपचुप नै रहे। तर, पहिलो पटक कार्यान्वयनमा आएको कांग्रेस प्रदेश संरचनाभित्र छिरे। मास्टर भइरहेको भए पेन्सन आउँथ्यो। रमेशलाई पत्रकारिताले पेन्सन दिएन तर परिचय दियो। मुखले नभने पनि सामाजिक परिचयलाई उनले राजनीतिक मोर्चामा नगदमा बदलेका छन्। राजनीतिमा त्यागभन्दा पद महत्वपूर्ण हुन्छ। 

भनिन्छ, ‘पत्रकारितामा दिनदिनै परीक्षा दिनुपर्छ।’ अरुभन्दा अब्बल भइएन भने विस्थापनमा परिन्छ। तर, राजनीति त्योभन्दा फरक हुन्छ। राजनीतिको मोर्चामा रमेशको परीक्षा भर्खर सुरु भएको छ। राजनीतिमा त्यागभन्दा पद ठूलो हुन्छ। पदमा नपुगेसम्म आफ्नो योजना र विचार कार्यान्वयन गर्न सकिँदैन।

अहिलेको पदले कांग्रेसको आन्तरिक जीवनमा सुधार ल्याए भने, उनले भनेजस्तै निष्ठापूर्ण बनाउन सके भने र समाज परिवर्तन गर्न राजकीय नेतृत्व अर्थात् जन अनुमोदित भएर राजकीय पदमा जाने अवसर पाए भनेमात्रै उनको घोषणा पूरा हुनेछ। सजिलो छैन तर अवसरलाई सदुपयोग गर्ने हो भने असम्भव छैन। 

कांग्रेसमा एक्ला हैनन् रमेश!
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भएका वडा, जिल्ला र क्षेत्रीय चुनावमा धेरै पत्रकारहरू प्रतिष्पर्धामा ओर्लिए। तीमध्ये केही सफल भए भने केहीलाई पत्याइएन।

नेपाली कांग्रेस गण्डकीका महासचिव विष्णुप्रसाद लामिछाने नेपाल प्रेस युनियन नवलपुरका संस्थापक सभापति हुन् भने सक्रिय पत्रकारितामै रहेका किशोरजंग थापा गोरखा कांग्रेसको सचिव भएका छन्। कास्की कांग्रेसको सहसचिवमा विजयी नविन सिग्देल र कास्की क्षेत्र नम्बर ३ ‘क’ सचिव प्रकाशचन्द्र सापकोटा अब प्रत्यक्ष राजनीतिमा होमिएका छन्।

नेपाल पत्रकार महासंघका पूर्वमहासचिव पोषण केसी अहिले प्रदेश सभापति छन् भने प्रेम केसी लुम्बिनी कार्य समितिम पुगेका छन्।

चर्चित पत्रकार अजय सिवाकोटी महाधिवेशन प्रतिनिधिमा चुनिएका छन् र केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरिसकेका छन्। पोखराका अग्रज पत्रकार गंगाधर पराजुली पोखरा महानगरको सभापति बन्नबाट झिनो मतले पछि परेको धेरै भएको छैन।

कांग्रेसको राजनीतिमा होमिएका पर्वतका छवि तिवारी, नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता पंगेनीको माथिल्लो यात्रामा पनि ‘ब्रेक’ लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .