राजनीति


कमल थापाविरुद्ध अझै मरेन रेखा थापाको रिस, सामाजिक सञ्जालमा लेखेको लेख्यै

कमल थापाविरुद्ध अझै मरेन रेखा थापाको रिस, सामाजिक सञ्जालमा लेखेको लेख्यै

नेपालखबर
मंसिर १८, २०७८ शनिबार ५:१९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं आगामी कार्यकालका लागि उम्मेदवार कमल थापाले नयाँ नेतृत्वका लागि जारी पार्टीकाे एकता महाधिवेशनमा आफ्ना प्रतिस्पर्धी राजेन्द्र लिङ्देनका पक्षबाट महामन्त्री पदमा उम्मेदवारी दिएकी अभिनेत्रीसमेत रहेकी नेत्री रेखा थापाविरुद्ध उम्मेदवारी दर्ताकै दिन हिजो शुक्रबार एउटा भिडिओ क्लिप जारी गरे।

जसमा रेखा थापाले आफू गणतन्त्रवादी भएको बताएकी छन्। त्यसमा कमल थापाले क्याप्सन लेखेका छन्, ‘हाहाहा! नो कमेन्ट।’

त्यसको २ घण्टाजति पछि अभिनेत्री रेखा थापाले पनि कमल थापाले अन्तर्वार्ता दिइरहेको एउटा भिडिओ क्लिप आफ्नो ट्विटरमा राखिन्।

जसमा कमल थापाले एमसीसी पास हुनुपर्ने पक्षमा मत राखेका छन्। त्यसमा अभिनेत्री थापाले पनि यत्ति मात्र क्याप्सन लेखेकी छन्, ‘नो कमेन्ट।’

भिडिओ– एकअर्काका भिडिओ क्लिप सेयर गर्दै कमल थापा र रेखा थापाबीच यस्तो जुहारी

यसले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ। 

तर यत्तिले मात्र रेखा थापाको रिस मरेन। उनले कमल थापाविरुद्ध निरन्तर लेखिरहेकी छन्।

कमल थापाको एमसीसीवादी अन्तर्वार्ता सुरुमा ट्विटरमा राखेकी नायिका थापाले फेरि फेसबुकमा पनि अलि बढी स्टाटस लेखेर सेयर गरेकी हुन्। 

जसमा उनले कमल थापाले आफ्नाविरुद्ध गरेको कमेन्टको स्क्रिनसटसहित लेखेकी छन्, ‘नो कमेन्ट्स!!! राष्ट्रवादी नेता भन्न असजिलो हुन्न उहाँलाई?’​यत्तिले पनि नपुगेर रेखा थापाले कमल थापाविरुद्ध पुनः ट्विटरमा अर्काे टिप्पणी गरेकी छन्। 

लेखेकी छन्, ‘कमल थापा गणतान्त्रिक सरकारको उपप्रधानमन्त्री बन्नुभएको होइन? उहाँले मेराविरुद्ध सुरु गर्नुभएको गोयबल्स शैली गजब छ बा!’​

उसो त कमल थापाले पनि रेखा थापाले आफू गणतन्त्रवादी हुँ भनेर दिएको अन्तर्वार्ता आफ्नो फेसबुकमा मात्र नराखेर टि्वटरमा शशांक शमशेर थापाले रेखा थापाको त्यही अन्तर्वार्ताको भिडिओ क्लिप राखेर गरेको आलोचना रिट्विट पनि गरेका छन्। 

जसमा शशांकले लेखेका छन्, ‘...राजेन्द्र लिङ्देनज्यूको प्यानलबाट महामन्त्री उम्मेदवार रेखा थापाज्यूको सिद्धान्त पनि बुझियो। गजब छ बा!’​

यही शब्दको रिस फेर्न रेखा थापाले पनि ट्विटरमा कमल थापाविरुद्ध पुनः अर्काे कमेन्ट गरेको बुझ्न सकिन्छ। साथै अभिनेत्री थापाले कमल थापाविरुद्ध अन्यले गरेका आलोचना पनि व्यापक सेयर गरिरहेकी छन्।

काठमाडौंमा बुधबारदेखि जारी राप्रपा महाधिवशेनमा नयाँ नेतृत्वका लागि आज (शनिबार) मतदान हुँदै छ। जसमा आआफ्ना प्यानलसहित अध्यक्ष पदमा उम्मेदवारी दिएका कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुँदै छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .