प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नयाँ दिल्लीले भर्खरै मात्र नेपालका भूभाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत यसबारेमा तत्काल धारणा सार्वजनिक गरी गम्भीर पहलकदमी लिन सरकारसँग माग गरेका छन्। कालापानी र लिपुलेक नेपालका अभिन्न अंग भएको उल्लेख गर्दै उनले नेपाली माटोका बारे कहीँबाट पनि उब्जिने प्रश्न आपत्तिजनक र अस्वीकार्य भएको बताएका छन्।
यसैगरी कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले बुधबार एक विज्ञप्ति जारी गरी नेपालको माटो भारतले आफ्नो नक्सामा मिसाएको भन्ने विषय सार्वजनिक हुँदासमेत सरकार किन मौन भनी प्रश्न गरेको छ।
अध्यक्ष जितजंग बस्नेतद्वारा जारी विज्ञप्तिमा नेपाली जनताको चाहनाबमोजिम उक्त भूभागबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गर्दै नेपालको एक मुठी माटो पनि कसैले लगेमा तरुण दललाई मान्य नहुने उल्लेख छ। ‘कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन्। भारतले सार्वजनिक गरेको नयाँ नक्सा सच्याउनका लागि सरकारले कूटनीतिक पहल तत्काल शुरु गरोस्’, विज्ञप्तिमा उल्लेख छ। रासस
Shares

प्रतिक्रिया