ad ad

राजनीति


एमाले नेतृत्व चयनमा निर्वाचन हुन नदिने ओलीको संकेत

भने : पार्टीभित्र प्रतिस्पर्धा होइन, एकता चाहिन्छ
एमाले नेतृत्व चयनमा निर्वाचन हुन नदिने ओलीको संकेत

महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली। तस्बिर : विक्रम राई


सागर न्यौपाने
मंसिर ११, २०७८ शनिबार १८:१७, चितवन

पार्टीमा आफ्नै समूहका नेताहरूका कारण तथा उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले उम्मेदवारी घोषणा गरेपछि दबाबमा परेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व चयनमा कुनै हालतमा चुनाव नगर्ने संकेत गरेका छन्। 

बिहीबारदेखि नै सौराहास्थित सफारी रिसोर्टमा बसेका ओलीले शनिबार बन्द सत्रको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेताहरूलाई क्षमता र कामको मूल्यांकन गरेर जिम्मेवारी दिइने बताए। 

कुनै नेताको पनि नाम नलिएका ओलीले पार्टीभित्र प्रतिस्पर्धा राम्रो नहुने प्रष्ट पारेका छन्।

 वडा र पालिका अधिवेशन जस्तै पार्टी हाँक्ने नयाँ नेतृत्व पनि चयन गर्नुपर्ने तर्क ओलीले गरेका छन्। 

'समझदारी, सहमती र एकता हो। पार्टी भित्रको प्रतिस्पर्धा मूल्यांकनको आधारमा हुन्छ', ओलीले भने, 'पार्टीमा आन्तरिक एकता चाहिन्छ। पार्टीभित्र एकता मुख्य कुरा हो, यो कुरा हामीले थाहा पाउन पर्छ।'

सर्वसम्मत नेतृत्व चयन कठिन बन्दै गइरहेको समयमा महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले एमालेभित्र भावनात्मक एकतामा जोड दिए।

‘विधान महाधिवेशनले पारित गरेको नीति कार्यान्वयन गर्न र एकढिक्का भए पार्टीलाई बढाउन भावनात्मक एकता प्रस्तुत गर्दै साझा संकल्पसहित जुट्नुपर्छ,’उनले भने, 'प्रतिपक्षसँग लड्दा प्रतिस्पर्धा हुने हो। पार्टीभित्र सहमति र समझदारी मुख्य कुरा हो।’

ओलीले शनिबार बिहानदेखि आफूनिकट नेताहरू महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सुवास नेम्वाङ लगायतसँग छलफल गरेर सहमति गराउने प्रयास गरेका थिए।

तर नेम्वाङले पनि वरिष्ठ उपाध्यक्षमा उठ्ने अडान छोडेनन्। यस्तै विष्णु पौडेल र शंकर पोखरेल पनि महासचिवमै उठ्ने योजनाबाट पछि हट्न तयार भएनन्। 

आफू बसेको रिसोर्टमा बोलाएर ओलीले सचिव गोकर्ण विष्ट, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, अमृत बोहरा र रघुजी पन्तसँग पनि छलफल गरे। 

भीम रावलको उम्मेदवारीप्रति ओलीले अन्य नेतासँग चासो राखेका थिए। तर उनीहरुले कुनै सल्लाह नभएको जवाफ दिएको एक नेताले बताए।

उता उपाध्यक्ष रावलले सहमति कायम गर्नेबारेमा अहिलेसम्म ओलीसहित कसैले पनि छलफल नगरेकाले अध्यक्षमा उठ्ने अडान लिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .