नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन सर्वसम्मतिले गर्न केन्द्रिय कमिटीको बैठक तीन घण्टासम्म 'होल्ड' गरिएको छ।
सहमतिको आधार प्रस्तुत गर्न अध्यक्ष केपी शर्मा ओलीले 'होल्ड' गरेको बैठक शुक्रबार राति राति सुरु भएको छ। बैठकको निर्धारित समय राति ८ बजे थियो।
स्वकीय दिपेन्द्र दाहालका अध्यक्ष ओली राति पौने ११ बजे मात्रै पार्क सफारी रिसोर्टबाट नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक राखिएको जंगल सफारीमा पुगेका छन्।
महाधिवेशनको बन्दसत्र शनिबार सुरु हुँदैछ। बन्दसत्र सुरु हुनुअघि नै सहमतिको खाका प्रस्तुत गरि केन्द्रिय कमिटीको अन्तिम बैठकमा समझदारी बनाउने प्रयासमा ओली लागेका थिए।
उनले बैठक तीन घण्टासम्म 'होल्ड' गरेर आफूनिकट नेताहरूसँग पार्क सफारीमा छलफल गरेका थिए।
ओलीलाई नेताहरूले केन्द्रीय सदस्य र पदाधिकारी थप गर्न सुझाव दिएका छन्। 'सहमति हुन्छ भने सबै पद थप गरेर जान अध्यक्षलाई सुझाव दिएका छौँ', एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने।
त्यही आधारमा संख्या बढाएर सहमति गर्ने र सो प्रस्ताव बैठकमा छलफल गर्ने तयारी भएको हो।
शुक्रबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले नयाँ रुपमा महाधिवेशनबाट नेतृत्व चयन गरेर नमुना प्रस्तुत गर्ने बताएका थिए।
यसैबीच ओलीले ल्याउने सहमतिको आधारलाई उपाध्यक्ष भीम रावल र घनश्याम भुसालले स्वीकार्ने नस्वीकार्ने टुंगो भएको छैन।
उपाध्यक्ष रावलले शुक्रबारै राति पत्रकारहरुसँग कुरा गर्दै आफू अध्यक्षमा उठ्ने पक्का भइसकेकाले कुनै हालतमा पछि नहट्ने बताएका थिए।

Shares

प्रतिक्रिया