राजनीति


एमालेमा थपिने भए पदाधिकारी र केन्द्रीय कमिटी सदस्य, पोलिटब्युरो पनि ब्युँतिने!

एमालेमा थपिने भए पदाधिकारी र केन्द्रीय कमिटी सदस्य, पोलिटब्युरो पनि ब्युँतिने!

महाधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर : विक्रम राई/नेपालखबर


नेपालखबर
मंसिर १०, २०७८ शुक्रबार २३:६, चितवन

नेकपा एमालेमा सर्वसम्मतिमा नेतृत्व चयनका लागि पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप्ने तयारी भएको छ।

नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक जंगल सफारी रिसोर्टमा बस्नुअघि सहमतिको खाका तयार पार्न अहिले छलफल जारी छ।

साँझ ८ बजे बस्ने भनिएको केन्द्रीय कमिटी बैठक राति साढे १० बजेसम्म सुरु भएको थिएन।

सर्वसम्मतिमा नेतृत्व चयनका लागि अहिले एमाले अध्यक्ष केपी शर्मा ओली पार्क सफारी रिसोर्टमा आन्तरिक छलफलमा छन्। 

एकजना एमाले नेता महेश बस्नेतका अनुसार देशभरका कार्यकर्तालाई एकताको सन्देश दिन सहमतिको खाका तयार हुँदैछ।

एमालेले सर्वसम्मतिबाट नेतृत्व चयन गर्न पदाधिकारी संख्या बढाउने, केन्द्रीय समिति २२७ बाट बढाएर ३०१ बनाउने र असोज १५-१७ मा भएको विधान महाधिवेशनले खारेज गरेको पोलिटब्युरो ब्यूँताउने दिशामा नेताहरु अघि बढेका छन्।

एमालेमा पदाधिकारीतर्फ उपाध्यक्ष र उपमहासचिवसहितका पद थप्ने प्रस्ताव गरिएको छ। तर संख्या एकीन भइसकेको छैन।

एमाले अध्यक्ष ओली सर्वसम्मतिबाट नै नेतृत्व चयन गर्ने पक्षमा छन्। उनलाई उपाध्यक्ष भीम रावल र घनश्याम भुसालसहितले चुनौती दिएपछि निर्वाचन हुने सम्भावना छ।

यदि सर्वसम्मति भएको अवस्थामा उपाध्यक्ष रावल र उपमहासचिव भुसाल पनि व्याक हुनेछन्। 

पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीको संख्या अत्यधिक धेरै छ। अहिले बस्ने भनिएको केन्द्रीय कमिटी बैठकमा नेताहरुलाई समयमा पुग्न ट्राफिक जामले अड्काएको थियो।

ओलीले पार्क सफारीमा यी तीनवटा कुरामा सहमति जुटाएपछि मात्रै अन्तिम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन तयारी गरेका छन्। 

ओलीलाई पदाधिकारी बढाएर भए पनि सर्वसम्मतिमा जान नेताहरुले दबाब दिएका थिए। उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक विशाल भट्टराईसहितले एकताको सन्देश दिन पनि सर्वसम्मति रोज्न ओलीलाई आग्रह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad