नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारीमा रहेका प्रकाशमान सिंहले महामन्त्री डा। शशांक कोइरालाको पछिल्लो अभिव्यक्ति प्रति आपत्ति जनाएका छन्।
बबरमहलस्थित एक ब्याङ्क्वेटमा जारी विभिन्न सञ्चारमाध्यमहरूका सम्पादकसँगको जारी छलफलका क्रममा उनले महामन्त्री डा. कोइरालाले आफ्नोबारे दिएको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।
'मैले बाहिरका मानिसलाई भेट्याभेट्यै छु। काठमाडौंका मान्छेले भेट्न पाएका छैनन्,’ नेता सिंहले भने, ‘तर, मलाई नै आरोप लाउँछन्– बाहिरकाले चिन्दैनन्।’
यसअघि गत सोमबार सर्लाहीको हरिवनमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले काठमाडौं बाहिर टेक्ने बित्तिकै नेता सिंहलाई कसैले पनि नचिन्ने टिप्पणी गरेका थिए।
‘प्रकाशमान सिंहलाई भन्दा मलाई नराम्रो लाग्छ, तर सत्य हो, उहाँ काठमाडौंमै बस्नुभा’छ,’ उनले भनेका थिए, ‘बाहिर टेक्नेबित्तिकै प्रकाशमान सिंहलाई चिन्दैनन् मान्छेहरुले। हुन त उहाँ महामन्त्री हुनुभयो। तर, मान्छेहरूसँगको उहाँको आत्मियता म देख्दिनँ।’
गत सोमबारको अभिव्यक्ति सञ्चारमाध्यममा आएपछि नेता सिंहले बुधबार नै प्रतिवाद गरेका थिए। प्रदेश १ को राजधानी विराटनगरमा उनले महामन्त्री कोइरालालाई इंगित गर्दै पार्टीमा सभ्यताको बहस भए पनि आफूविरुद्ध टिप्पणी गर्नेहरु असभ्य भएको उल्लेख गरेका थिए।
नेता सिंहले पहिले–पहिले काठमाडौंले पनि नचिन्ने भन्दै आफूविरुद्ध प्रचार भए पनि पछिल्लो समय काठमाडौं बाहिर कसैले नचिन्ने भन्दै दुस्प्रचार नियतवश हुन थालेको भन्दै आक्रोश व्यक्त गरेका थिए।
उनले कोइरालालाई आफ्नो राजनीतिक इतिहास पल्टाएर हेर्नसमेत आग्रह गरेका थिए। आफू गणेशमान र मंगलादेवीको छोरा भए पनि पार्टी र देश संकटमा पर्दा ज्यानको बाजी राखेर आन्दोलनमा होमिएको उनको भनाइ थियो।
Shares

प्रतिक्रिया