राजनीति


‘कठिन परिस्थितिमा साथ दिने कास्कीका जनताले फेरि पनि दिन्छन्’

‘कठिन परिस्थितिमा साथ दिने कास्कीका जनताले फेरि पनि दिन्छन्’

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार १५:४८,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कास्की क्षेत्र २ की उम्मेदवार विद्या भट्टराई अधिकारीले आफूलाई कठिन समयमा कास्कीका जनताले साथ दिएको भन्दै अहिले पनि साथ आउने विश्वास व्यक्त गरेकी छिन्।

नेकपाको सचिवालयका बैठकको उम्मेदवार बनाउने निर्णय गरेको लगत्तै नेपालखबरसँग संक्षिप्त प्रतिक्रिया दिँदै भट्टराईले उपनिर्वाचनमा कस्केलीले आफूलाई साथ दिने विश्वास व्यक्त गरेकी छिन्।

‘कठिन समयमा पनि कास्कीका सबैको साथ पाएँ। अहिले पनि साथ पाउने छु। सबैको साथ र समर्थन हुन्छ भन्ने विश्वास छ,’ भट्टराईले नेपालखबरसँग भनिन्, ‘पार्टीको जिल्ला, प्रदेश र केन्द्रले विश्वास गरेर उम्मेद्वार बनाउने निर्णय गरेकोमा सबैप्रति कृतज्ञता छु।’

नेकपा कास्की जिल्ला कमिटीले सर्वसम्मत रुपमा प्रतिनिधिसभा चुनावका लागि भट्टराईको नाम सिफारिस गरेको थियो। त्यसमा प्रदेश कमिटीले भट्टराईलाई एक नम्बरमा राख्दै सोमनाथ प्यासी अधिकारी र राजकाजी गुरुङको नाम सिफारिस गरेको थियो। आइतबार साँझ बालुवाटारमा भएको सचिवालय बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

पार्टीमा विगतमा गरेको योगदानको आधारमा टिकट दिएको भन्दै भट्टराईले ‘यसै साताबाट आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियान शुरु गर्ने बताइन्। ‘जिल्लाका नेता तथा कार्यकर्ताहरुसँग भेटघाट र बैठकबाट चुनावी अभियान शुरु गर्नेछु’ उनले भनिन्।

गत फागुन १५ मा ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि कास्की क्षेत्र न. २ मा उपनिर्वाचन हुन लागेको हो। अधिकारीले सो क्षेत्रबाट तीन पटक चुनावमा जीत हासिल गरेका थिए। पति रवीन्द्रसँगै भट्टराई विद्यार्थी राजनीतिमा सहभागी भएकी थिइन्। तर पछि भट्टराई शैक्षिक क्षेत्रमा सक्रिय रहँदै आएकी छिन्।

भट्टराई त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रको सह प्राध्यापकको रुपमा क्रियाशील रहेकी छिन्।

याे पनि: कास्की २ मा विद्या भट्टराई नेकपा उम्मेदवार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad