राजनीति


शेखरसँगको सहमति तुहाएर संखुवासभा पुगे शशांक, भने : म आफैँ सभापतिमा उठ्छु

उनकै निवासमा दाजुभाइको पत्रकार सम्मेलन अचानक स्थगित
शेखरसँगको सहमति तुहाएर संखुवासभा पुगे शशांक, भने : म आफैँ सभापतिमा उठ्छु

संखुवासभाको तुम्लिङटारमा महामन्त्री शशांक र जिल्ला सभापति दीपक खड्का। तस्बिर सौजन्य : भविन कार्की


केशव सावद
मंसिर १, २०७८ बुधबार १७:९, काठमाडौँ

नेपाली कांग्रेसको संस्थापन इतर समूहबाट डा. शेखर कोइरालालाई सभापतिमा उठाउने संकेत गरेर काठमाडौं फर्किएका महामन्त्री डा. शशांक कोइराला पूर्वनिर्धारित कार्यक्रमबिना संखुवासभा गएका छन्। 

सर्लाहीको हरिवनमा सोमबार भएको कांग्रेस भेलामा डा. कोइरालाले इतर समूहबाट केन्द्रीय सदस्य डा. शेखर साझा उम्मेदवार हुन सक्ने संकेत गरेका थिए। 

‘शेखर दाइ पनि लागिरहनुभा’छ, भिडिरहनुभा’छ, गरिरहनुभा’छ। मैले भनिहाले उहाँ र मैले मिलेर जानुपर्छ भन्ने तपाईंहरुको भावना हो, त्यो म भावनालाई कदर गर्छु, त्यसलाई म सम्मान गर्छु,’ उनले इतर समूहका आकांक्षीबारे सर्लाहीमा कार्यकर्तालाई भनेका थिए, ‘र शेखर दाइसँग कुरा हुन सक्या छैन। म काठमाडौं जानेबित्तिकै कुरा उहाँसँग राख्छु। उहाँलाई सभापति हुन मन छ भने अरूलाई पनि कन्भिन्स गर्नुपर्यो । मलाई त गरिहाल्नुहुन्छ, उहाँले। नत्र मैले उहाँलाई कन्भिन्स गर्नुपर्छ।’ 

उनैले गरेको त्यही संकेत अनुसार उनी काठमाडौं फिरेपछि दुई कोइराला दाजुभाइबीच मंगलबार वार्ता भएको थियो। 

महाराजगञ्जस्थित निवासमा बुधबार बिहान साढे १० बजे पत्रकार सम्मेलन गरेर कोइराला परिवारबाट शेखरलाई सभापतिको उम्मेदवार घोषणा गर्ने कार्यक्रम ‘तुहाएर’ उनी एकाएक संखुवासभा गएका हुन्। 

सर्लाहीको हरिवनमा अगुवा कार्यकर्तामाझ सभापतिमा शेखरलाई सघाउने संकेत गरेर फर्किएका महामन्त्री कोइरालालाई संखुवासभा कांग्रेसका सभापति दीपक खड्काले लगेका हुन्। 

सभापति खड्काले महामन्त्री कोइराला बुधबार र बिहीबार गरी दुई दिन संखुवासभामा रहने सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका छन्। 

‘आदरणीय नेता नेका महामन्त्री डा. शशांक कोइराला आज मिति २०७८ मंसिर १–२ गते संखुवासभामा रहनुहुने जानकारी गराउन चाहन्छु,’ उनले लेखेका छन्। 

कुरा फेरे
कांग्रेसको पूर्वनिर्धारित कार्यक्रमबिना संखुवासभा पुगेका शशांकले आगामी निर्वाचनमा कुनै दलसँग गठबन्धन नहुने बताए। पाँच दलीय गठबन्धनका शीर्ष नेताले मिलेर जाने विज्ञप्ति निकालेको भोलिपल्ट उनले कांग्रेस एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने दाबी गरे।

तर संखुवासभाको तुम्लिङटार पुगेपछि कोइरालाले १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएका छन्। 

विमानस्थलमै पत्रकारसँग संक्षिप्त कुराकानी गर्दैै कोइरालाले सभापति पदका लागि लड्ने बताएका हुन्।

उनले पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको पनि बताए । गुट–उपगुट नभई पार्टीलाई एक ढिक्का बनाउन सभापति पदमा लड्ने उनको जिकिर थियो। 

आफूले सभापति पदको उम्मेदवारी औपचारिक चाँडै घोषणा गर्ने पनि बताए । सभापति शेरबहादुर देउवाले पार्टीलाई राम्रोसँग नचलाएकाले उम्मेदवारी दिन लागेको उनको भनाइ थियो। 

यसअघि महामन्त्री कोइरालाले मंगलबार बेलुकी सभापतिका आकांक्षी शेखरसँग बसुन्धरास्थित निवासमा महाधिवेशन केन्द्रित छलफल गरेका थिए। 

छलफलका क्रममा दुई नेताका बीचमा बुधबार बिहान महाराजगञ्जमा पत्रकार सम्मेलन गरेर शेखरलाई सभापतिका रुपमा अघि सार्ने सहमति भएको स्रोतको दाबी छ। 

‘दुवै डाक्टर सा’वहरुबीच मंगलबार बेलुकी वसुन्धरामा छलफल भएको थियो। छलफलमा बुधबार बिहान पत्रकार सम्मेलन गरेर कोइराला परिवारबाट शेखरलाई सभापतिका रुपमा अघि सार्ने

सहमति भएको थियो,’ महामन्त्री कोइरालानिकट स्रोतले भन्यो, ‘तर पत्रकार सम्मेलन नगरेर उहाँ एकाएक संखुवासभा जानुभयो। रातभरमै के–के ‘डेभलपमेन्ट’ भयो, थाहा भएन।’

शेखरको सचिवालयले दुई नेताबीच मंगलबार बेलुकी ५ बजेपछि सभापतिका विषयमा छलफल भएको पुष्टि गरेको छ। 

‘उहाँहरूबीच हिजो (मंगलबार) साँझ छलफल भएको थियो। आज (बुधबार) प्रेस मिट गरेर सहमति सार्वजनिक गर्ने समझदारी पनि बनेको थियो,’ उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले नेपालखबरसँग भने, ‘त्यसैअनुसार आज बिहान म महाराजगञ्ज जाँदा उहाँ  (शशांक) ले आज प्रेस मिट नगरौं। शेरबहादुरजीले बेलाउनुभएको छ, म बालुवाटार जान लागेको भन्नुभयो।’

स्रोतका अनुसार यसबीचमा शशांककै सचिवालयका एक सदस्यले वसुन्धरामा भएको कोइराला बन्धु सहमतिबारे प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई सुनाएका थिए। 

दुई कोइरालाबीच सहमति तोड्न सभापति देउवाले संखुवासभा कांग्रेस सभापति खड्कालाई समेत प्रयोग गरेको स्रोतको दाबी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .