ad ad

राजनीति


कैलालीमा एमाले महाधिवेशन प्रतिनिधि छनोटमा भीम रावल पक्षको ‘विद्रोह’, बोलाइयो छुट्टै भेला

कैलालीमा एमाले महाधिवेशन प्रतिनिधि छनोटमा भीम रावल पक्षको ‘विद्रोह’, बोलाइयो छुट्टै भेला

गोकुल जोशी
मंसिर १, २०७८ बुधबार ८:३४, काठमाडौँ

कैलाली क्षेत्र नम्बर २ मा एमाले महाधिवेशन प्रतिनिधि छनोटमा दुई पक्षबीच विवाद भएको छ। अध्यक्ष केपी शर्मा ओलीको पक्ष र भीम रावल पक्षबीच झगडा परेकाे हाे। 

निर्वाचन क्षेत्र नम्बर २ मा ‘अध्यक्ष केपी शर्मा ओली पक्षले एकलौटी रूपमा प्रतिनिधि छनोट’ गरेको भन्दै रावल पक्षले आफ्ना तर्फबाट छुट्टै महाधिवेशन प्रतिनिधि चयन गर्न लागेकाे हाे। त्यसका लागि उसले आज बुधबार १० बजे भेला हुन भन्दै सार्वजनिक सूचना जारी गरेकाे छ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईंले पार्टीका जिल्ला अध्यक्ष रतन थापाले प्रतिस्पर्धा नै नगराई एकलौटी रूपमा प्रतिनिधि चयन गरेको आरोप लगाए।

‘निर्वाचन कमिटी गठन गरिएको थियो। प्रतिनिधिका ४१ जना उम्मेदवारीहरूबीच सहमति जुट्न सकेन। त्यसपछि चुनावी प्रक्रियाबाट प्रतिनिधि छान्नुपार्ने हो’, उनले नेपालखबरसँग भने, ‘चुनावमा हार्ने डरले प्रतिस्पर्धा नै नगराएर अध्यक्षज्यूले धनगढी गएर प्रतिनिधि चयन गरेका छन्।’

निर्वाचन क्षेत्र नम्बर २ का संगठित सदस्यहरूले आफूहरूले प्रतिनिधि छनोट गर्ने भनेकाले त्यसको तयारी गरिएको उनले बताए। निर्वाचन क्षेत्र नम्बर २ बाट ६ पुरुष र ३ महिला गरेर ९ जना प्रतिनिधि चयन हुनेछन्।

महाधिवेशन प्रतिनिधि चयनका लागि एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बजगाईंले संगठित सदस्यहरूलाई आज बिहान १० बजे कैलालीको लम्कीस्थित टीकापुर रोडमा रहेको एक होटलमा भेला हुन आग्रह गर्दै  सार्वजनिक सूचना जारी गरेका छन्। 

उनले सूचनामा लेखेका छन्,  ‘मंसिर १०/१२ गतेसम्म चितवनमा हुन गइरहेको दसौं राष्ट्रिय महाधिवेशनमा कैलाली क्षेत्र नं २ बाट ६ पुरुष र ३ महिला गरी जम्मा ९ जना प्रतिनिधि छनोट गर्न देहायको मिति, समय र स्थानमा कैलाली क्षेत्र नं २ का सम्पूर्ण संगठित सदस्यको भेला आयोजना गरी छनोट गर्नुपर्ने भएकाले यस क्षेत्रमा रहेका हाम्रो पार्टीका सम्पूर्ण संगठित सदस्य कमरेडले यसै सूचनालाई आधार मानी उपस्थित भइदिनहुन हार्दिक अनुरोध गर्दछु।’​

यस्तो छ उनले सार्वजनिक गरेको सूचनाको पूर्ण पाठ
दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौं!
जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं!!

हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को मिति २०७८ साल मंसिर १०–१२ गतेसम्म चितवनमा हुन गइरहेको  दसौं राष्ट्रिय महाधिवेशनमा कैलाली क्षेत्र नं. २ बाट ६ पुरुष र ३ महिला री जम्मा ९ जना प्रतिनिधि छनोट गर्नका लागि देहायको मिति, समय र स्थानमा कैलाली क्षेत्र नं २ मा रहेका सम्पूर्ण संगठित सदस्यहरूको भेला आयोजना गरि छनोट गर्नुपर्ने भएकाले यस क्षेत्रमा रहेका हाम्रो पार्टीका सम्पूर्ण संगठित सदस्य कमरेडहरूलाई यसै सूचनालाई आधार मानी उपस्थिति भइदिनहुन हार्दिक अनुरोध गर्दछु।

तपसिल 
मिति २०७८ साल मंसिर १ गते
स्थान : लम्की टीकापुर रोड होटेल मनोहरा/मुनवुनभिल्ला
समय : बिहान ठीक १० बजे

महाधिवेशन प्रतिनिधि छनोट भइसकेको भन्ने भ्रम पार्टीका इमान्दार संगठित सदस्यहमाझ केही अराजक, वधिि पद्धति, नीति/नियम नमान्ने तत्त्वद्वारा फैलाइएको हुँदा उक्त भ्रममा नपर्नु हुन सम्पूर्णमाझ जानकारी गराउँदछु। पार्टी प्रतिनिधिका लागि सकेसम्म सर्वसम्मत तरिकाले नभए निर्वाचन माध्यमबाट हुने हाम्रो पार्टीको विधानमा रहेको छ।

पाँच निर्वाचन क्षेत्र रहेको एमालेले कैलालीमा महाधिवेशन प्रतिनिधि छनोट गरिसकेकाे छ। तर क्षेत्र  नम्बर २ र ५ मा विवाद उत्पन्न भएको छ।

यो पनि : ‘बदला लिन भीम रावलनिकट नेतालाई महाधिवेशन प्रतिनिधि बन्नबाट रोक्ने प्रयास’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .