राजनीति


‘सहमति’का लागि सारियो सुनसरी एमालेको महाधिवेशन प्रतिनिधि चुनाव

‘सहमति’का लागि सारियो सुनसरी एमालेको महाधिवेशन प्रतिनिधि चुनाव

फाइल फाेटाे


कृष्ण बहाब
कात्तिक २९, २०७८ सोमबार १९:२३, काठमाडौँ

नेकपा एमालेको १० औँ महाधिवेशनको प्रतिनिधि छनोटको लागि सुनसरीमा हुने भनिएको निर्वाचन सारिएको छ। मंगलबारको लागि तय मतदानको कार्यक्रम मंसिर ३ गतेको लागि सारिएको हो।

सोमबार एक विज्ञप्ति जारी गर्दै जिल्ला निर्वाचन सहयोग समितिका संयोजक शिवराज चौहानले मंसिर ३ गते निर्वाचन मिति सारेका हुन्। सुनसरीमा रहेका चार क्षेत्रको प्रतिनिधि हुन इच्छुकहरुले नै सहमति गर्ने संकेत देखाएपछि निर्वाचनको मिति सारिएको हो।

सोमबार दिउँसो ४ बजेसम्म नाम फिर्ता लिएर अन्तिम उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका थियो। तर, सर्वसम्मत प्रतिनिधि छनौट गर्नको लागि पहल गर्न मतदानको कार्यतालिका परिवर्तन गरिएको एमाले जिल्ला अधिवेशन आयोजक कमिटीका सदस्य रवि खनालले बताए। 

सुनसरीमा कूल ४२ सिटमा १८८ जनाको मनोनयन दर्ता भएको थियो। सर्वसम्मत बनाउने प्रयास भएपनि तोकिएको भन्दा ४ गुणा बढी मनोनयन भएपछि पुनः सर्वसम्मतको छलफल समेत सुरु भएको छ।

‘सुनसरी क्षेत्र नं २ मा सर्वसम्मत प्रतिनिधि चयन गर्ने भनेर उम्मेदवारी दिएका सबै ४१ जनाले नै नाम फिर्ता लिएका छन्,’युवा नेता खनालले भने,‘क्षेत्र नं ४ मा पनि सहमति गर्ने पहल हुँदैछ। क्षेत्र १ र ३ मा सहमतिको प्रयासमा नेताहरु कसरतमा छन्।’ 

सुनसरीमा ४ वटा प्रतिनिधी सभा निर्वाचन क्षेत्र रहेका छन्। जसमा २३ हजार १ सय १४ जना संगठित सदस्यहरु रहेका छन्।

निर्वाचन क्षेत्र नं १ मा खुल्लातर्फ ६ जना प्रतिनिधिमा ३१ जना र महिलातर्फ ३ जनाको कोटामा ७ जनाको उम्मेदवारी परेको छ।

यस्तै, निर्वाचन क्षेत्र २ मा खुलातर्फ ८ जनाको कोटामा ४२ जना र महिलातर्फ ३ जनाको कोटामा १४ जनाको उम्मेदवारी दर्ता भएको छ।

निर्वाचन क्षेत्र ३ मा खुलातर्फ ६ जनाको कोटामा ३२ जना र महिलातर्फ ३ जनाको कोटामा ९ जना उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै, क्षेत्र नं ४ मा खुलातर्फ ६ जनाको कोटामा ३१ जना र महिलातर्फ ३ जनाको कोटामा १२ जनाको उम्मेदवारी परेको छ। 

यसैगरि, दलित खुलातर्फ ३ जनाको कोटामा ४ जनाको उम्मेदवारी परेको छ भने दलित महिलातर्फ १ जनाको कोटामा ३ जनाको उम्मेदवारी परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .