आफ्नो १०औं महाधिवेशनका लागि नेकपा एमालेले आज देशभर एकसाथ प्रतिनिधि छनोट गर्दै छ।
संगठित सदस्यबीच निर्वाचन गरेर महाधिवेशन प्रतिनिधि छान्न लागिएको हो। अहिलेसम्म ८ लाख १० हजार संगठित सदस्य रहेको एमालेले जनाएको छ।
तीमध्येबाट आज एमालेले महाधिवेशन प्रतिनिधि छान्न लागेको हो। कतिपय जिल्लामा भने एमालेले यसअघि नै सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरिसकेको छ।
सकेसम्म सर्वसम्मत र हुन नसके चुनाव गरिने एमाले नेताहरूले बताएका छन्। धेरैजसो सर्वसम्मतबाटै प्रतिनिधि छानिने उनीहरूको दाबी छ।
यही कात्तिक १२ गते भएको केन्द्रीय कमिटी बैठकमा पार्टी सदस्य संख्या ७ लाख ३४ लाख पुगेको जानकारी दिएको एमालेले त्यसयता ७५ हजार थपिएको जनाएको छ।
यसरी छानिनेछ महाधिवेशन प्रतिनिधि
-प्रदेश र सोसरहका कमिटीका पदाधिकारी र सदस्यमध्येबाट कम्तीमा २ महिलासहित ५ जना।
-प्रतिनिधि सभा निर्वाचन क्षेत्रअन्तर्गतका १२ सयसम्म पार्टी सदस्यमध्येबाट कम्तीमा १ महिलासहित ३ जना।
-सो संख्यामा ८ सयसम्म सदस्य थप भएमा थप १ जना, १६ सयसम्म सदस्य भए थप २ जना, २४ सयसम्म सदस्य थप भएमा कम्तीमा १ महिला सहित ३ जना र सो भन्दा बढी भएमा सोही अनुपातमा
-३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा १ जना महिला अनिवार्य
-देशका जिल्ला र विशेष जिल्लाअन्तर्गतका ५ सयसम्म दलित पार्टी सदस्यमध्येबाट १ जना। सो संख्यामा ५ सयसम्म सदस्य थप भएमा थप १ जना, हजारसम्म सदस्य थप भएमा थप २ जना, १५ सयसम्म सदस्य थप भएमा कम्तीमा १ महिलासहित ३ जना।
-भूगोलका प्रदेशअन्तर्गतका मजदुर पार्टी सदस्यमध्येबाट कम्तीमा ३ महिलासहित ७ जना।
-केन्द्रीय सल्लाहकार परिषदका पदाधिकारी र सदस्यमध्येबाट १५ जना। सल्लाहकार परिषदका अन्य सदस्य पनि राष्ट्रिय महाधिवेशनमा सहभागी हुन पाउने तर मत हाल्न नपाउने।
एमालेको १०औं महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ।
याे पनि : एमाले महाधिवेशन : किन बनाइयो गैँडाले कम्युनिस्ट पार्टीको झण्डा बोकेको लोगो?
Shares

प्रतिक्रिया