ad ad

राजनीति


प्रधानमन्त्रीको डायलासिस भएन, बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

प्रधानमन्त्रीको डायलासिस भएन, बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार ७:१४,

 प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ।

आइतबार बिहानका लागि बोलाइएको मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण ढिलो गरी सुरु भएको हो। प्रधानमन्त्रीको स्वास्थ्यका कारण तिहारपछि पहिलोपटक मन्त्रिपरिषदको बैठक बसेको हो।

यसअघि प्रधानमन्त्रीको सचिवालयले आइतबार बिहान प्रधानमन्त्री ओलीको तेस्रो डाइलासिस गर्नुपर्ने भएका कारण मन्त्रिपरिषदको बैठक साँझ मात्रै बस्ने जानकारी दिएको थियो।

आइतबार निर्धारित समयमा प्रधानमन्त्री ओलीको डाइलासिस नभएपछि मन्त्रिपरिषदको बैठक बसेको हो। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले आज प्रधानमन्त्रीको तेस्रो डाइलासिसको सम्भावना कम रहेको जानकारी दिए।

‘कार्यक्रमको सेड्युल हेर्दा प्रधानमन्त्रीज्युको आज तेस्रो डायलासिस हुने सम्भावना कम छ’, अर्यालले नेपालखबरसँग कुरा गर्दै भने। डायलासिस अनिवार्यभन्दा पनि आवश्यकताको विषय भएको र चिकित्सकको सल्लाहमै यसको टुंगो हुने उनले जानकारी दिए।

उनले केही मिडियामा प्रधानमन्त्री डायलासिसका लागि अस्पताल गएको भन्ने समचार आएको भन्दै त्यसमा कुनै सत्यता नभएको बताए। ‘प्रधानमन्त्री कहीँ जानुभएको छैन, मन्त्रिपरिषदको बैठकको अध्यक्षता गरिरहनुभएको छ’, उनले भने, ‘तेस्रो डायलासिसका लागि अस्पताल गएको भन्ने समाचार सत्य होइन।’

शनिबार बसेको नेकपा सचिवालय बैठकमा उनले मिर्गौलाले राम्रोसँग काम नगरेको र फोक्सोमा पानी जमेकाले ग्रान्डी अस्पतालमा गएर दुईपटक डायलासिस गराएको बताएका थिए। 

ग्रान्डीमा गरिएका स्वास्थ्य जाँचका केही रिपोर्ट आउन बाँकी रहेको र ती आइसकेपछि डाक्टरले फाइनल गर्ने उनको भनाइ छ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो।

त्यसयता नियमित औषधि खाइरहेका उनी स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर गएका थिए। पुनः भदौ ५ गते सिंगापुर गएर त्यहाँको नेसनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत रगतमा भएको ‘एन्टीबडी’ निकालेर उनी भदौ २० मा स्वदेश फर्किएका थिए।

त्यसपछि अहिले उनको स्वास्थ्यमा फेरि समस्या सुरु भएको हो। यसै क्रममा प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि यही कात्तिक २ गते ग्रान्डी अस्पताल पुगेका थिए। मिर्गौला सुन्निएको पाइएपछि क्याथेटर राखिएको थियो।

बुधबार फेरि अस्पताल गएका उनकाे आकस्मिक डायलासिस गरियो। पुन: बिहीबार दोस्रोपटक डायलासिस गराएर सरकारी निवास फर्किएका प्रधानमन्त्रीकाे आज तेस्राेपटक डायलासिस गराउन लागिएकाे हाे।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .