राजनीति


फुट्यो कांग्रेसको पौडेल समूह, प्रकाशमान एक्लै अघि बढे

फुट्यो कांग्रेसको पौडेल समूह, प्रकाशमान एक्लै अघि बढे

फाइल तस्बिर


केशव सावद
कात्तिक २६, २०७८ शुक्रबार १२:३८, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गर्दै आएको समूह फुटेको छ।

पौडेल समूहका एक सदस्य पूर्व महामन्त्री प्रकाशमान सिंह आगामी महाधिवेशनमा सभापति उठ्ने गरी एक्लै अघि बढेका छन्। 

यससँगै पौडेल समूहले सभापति शेरबहादुर देउवाविरुद्ध आसन्न महाधिवेशनमा साझा उम्मेदवार तय गर्ने सम्भावना टरेको छ। 

पौडेल समूहबाट सभापतिका आकांक्षी सिंह अब एकल ढंगबाट अगाडि बढे महाधिवेशनमा प्रतिस्पर्धा गर्ने तयारीमा लागेका छन्।

वरिष्ठ नेता पौडेलले आसन्न महाधिवेशनको रणनीतिबारे छलफल गर्न शुक्रबार बोलाएको भेलामा नेता सिंह नजाने भएका छन्।

महाधिवेशनबारे छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि त्यसमा आफ्नो समूहले खेल्नुपर्ने भूमिकाबारे छलफल गर्न पौडेलले आफूपक्षीय पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन्। 

बैठक बसुन्धरास्थित दियालो फुडल्यान्डमा शुक्रबार दिउँसो २ बजे बस्नेछ। बैठकमा महाधिवेशनलक्षित रणनीतिबारे छलफल हुने पौडेलनिकट केन्द्रीय सदस्यले जानकारी दिएका छन्। 

तर, उक्त बैठकमा पूर्वमहामन्त्री सिंह उपस्थित नहुने उनको सचिवालयले जनाएको छ। 

‘त्यो मिटिङमा उहाँ जानुहुन्न। गएर पनि कुनै उपलब्धी हुँदैन, औचित्य पनि छैन,’ सचिवालय स्रोतले नेपालखबरसँग भन्यो, ‘देउवा र पौडेलबाट पार्टी चल्दैन भनिसकेपछि उहाँ (पौडेल) लाई नेता मानेर बैठकमा जान जरुरी नै छैन।’

पछिल्लो समय नेता सिंह १३ औँ महाधिवेशनमा आफूले सघाएका नेता पौडेलविरुद्ध आक्रामक ढंगले प्रस्तुत हुँदै आएका छन्।

मन्त्रिमण्डल विस्तारका क्रममा मन्त्रीका लागि गरिएको नाम सिफारिसमा आफूसँग छलफल नै नगरेको भन्दै उनी असन्तुष्ट छन्।

सिंहले काठमाडौं क्षेत्र नम्बर १० बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राजेन्द्रकुमार केसीलाई मन्त्री बनाउन चाहेका थिए।

तर, समूहबाट डा. मीनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडूलाई मन्त्री बनाएपछि उनी असन्तुष्ट बनेका थिए।

सिंहले पछिल्लो समय आफ्नो समूहमा रहेका अन्य आकांक्षीलाई इंगित गर्दै संसदीय निर्वाचन जित्न नसक्ने, अवसर पाएर पनि काम गर्न नसक्नेबाट पार्टी चल्न नसक्ने अभिव्यक्ति दिँदै आएका छन्।

उक्त समूहमा रहेका आकांक्षी मध्ये नेता पौडेल र डा. शेखर कोइराला २०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए भने अर्का आकांक्षी डा. शशांक कोइराला पार्टीको महामन्त्री छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .