ad ad

राजनीति


प्रधानमन्त्री तेस्रो डायलासिस गराउन अस्पतालमा, मन्त्रिपरिषद् बैठक सर्‍याे

प्रधानमन्त्री तेस्रो डायलासिस गराउन अस्पतालमा, मन्त्रिपरिषद् बैठक सर्‍याे

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार २:५२,

प्रधानमन्त्री केपी शर्मा ओली तेस्रोपटक डायलासिस गराउन अहिले (आइतबार बिहान) ग्रान्डी अस्पताल पुगेका छन्।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मिर्गौला डायलासिसका लागि अहिले बिहान प्रधानमन्त्री ओली ग्रान्डी अस्पताल पुगेका हुन्।

प्रधानमन्त्री अस्पताल गएपछि आज बिहान बालुवाटारमा बस्ने भनिएको मन्त्रिपरिषद् बैठक सरेको छ।

‘प्रधानमन्त्री अस्पताल जानु पर्नेभएपछि आज बिहान बस्ने भनिएको मन्त्रिपरिषद् बैठक सरेको छ’, प्रधानमन्त्रीको सचिवालयका एक जना सदस्यले भने।

तिहारपछि पहिलोपटक आज बिहान ११ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको थियो। 

बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिहरूलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिनाका साथै सरकारको कामलाई प्रभावकारी गराउनेलगायत विषयमा छलफल हुने तयारी थियो। 

डायलासिस गराउन ४ घण्टा लाग्ने भएकाले मन्त्रिपरिषद् बैठकपछि आजै दिउँसो बस्ने भनिएको नेकपा सचिवालय बैठक पनि बस्ने नबस्ने अनिश्चित भएको छ।

यसअघि प्रधानमन्त्री ओलीले ग्रान्डीमा दुई पटक डायलासिस गराइसकेका छन्। 

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफू सिकिस्त बिरामी नभएको तर मिर्गौलाले राम्रोसँग काम गर्न नगरेकाले अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको जानकारी दिएका छन्।

हिजो (शनिबार) बसेको नेकपा सचिवालय बैठकमा उनले मिर्गौलाले राम्रोसँग काम नगरेको र फोक्सोमा पानी जमेकाले ग्रान्डी अस्पतालमा गएर दुईपटक डायलासिस गराएको बताएका थिए। 

ग्रान्डीमा गरिएका स्वास्थ्य जाँचका केही रिपोर्ट आउन बाँकी रहेको र ती आइसकेपछि डाक्टरले फाइनल गर्ने उनको भनाइ छ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो।

त्यसयता नियमित औषधि खाइरहेका उनी स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर गएका थिए। पुनः भदौ ५ गते सिंगापुर गएर त्यहाँको नेसनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत रगतमा भएको ‘एन्टीबडी’ निकालेर उनी भदौ २० मा स्वदेश फर्किएका थिए।

त्यसपछि अहिले उनको स्वास्थ्यमा फेरि समस्या सुरु भएको हो। यसै क्रममा प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि यही कात्तिक २ गते ग्रान्डी अस्पताल पुगेका थिए। मिर्गौला सुन्निएको पाइएपछि क्याथेटर राखिएको थियो।

बुधबार फेरि अस्पताल गएका उनकाे आकस्मिक डायलासिस गरियो। पुन: बिहीबार दोस्रोपटक डायलासिस गराएर सरकारी निवास फर्किएका प्रधानमन्त्रीकाे आज तेस्राेपटक डायलासिस गराउन लागिएकाे हाे।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .