प्रधानसेनापति प्रभुराम शर्मा भोलि (मंगलबार) भारत भ्रमणमा जाँदै छन्।
भारतका सेनाध्यक्ष मनोज मुकुन्द (एमएम) नरवणेको औपचारिक निमन्त्रणामा प्रधानसेनापति शर्माले कात्तिक २३ देखि कात्तिक २६ गतेसम्म भारतको भ्रमण गर्ने नेपाली सेनाले जनाएको छ।
प्रधान सेनापति शर्मा इन्डोनेसियाद्वारा निर्मित आफ्नै कासा विमानमा भोलि मंगलबार बिहानै दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।

सेनापति शर्माको भारत भ्रमण टोलीमा बढीमा १५ सदस्य रहने बताइएको छ। तीमध्ये धेरैजसो सेनापतिको सचिवालयका सदस्य रहनेछन्।
प्रधान सेनापति शर्माले बुधबारतिर भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दर्जा ग्रहण गर्ने सम्भावना छ। दुई देशबीच एकले अर्काेलाई यस्तो सम्मान गर्ने परम्परा लामाे समयदेखि जारी छ।
भारतको औपचारिक भ्रमण सकेर प्रधान सेनापतिकाे टाेली कात्तिक २६ गते स्वदेश फर्किनेछ।
Shares

प्रतिक्रिया