राजनीति


देउवाले नेपालको राजनीतिमा चासो नदेऊ त भने, तर ३६ देशमा छन् कांग्रेसकै ३० हजार क्रियाशील सदस्य

देउवाले नेपालको राजनीतिमा चासो नदेऊ त भने, तर ३६ देशमा छन् कांग्रेसकै ३० हजार क्रियाशील सदस्य

जनसम्पर्क समितिका सदस्यसँग प्रधानमन्त्री देउवा


केशव सावद
कात्तिक १६, २०७८ मंगलबार १९:३४, काठमाडौँ

जलवायु परिवर्तनसम्बन्धी २६ औँ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन गएका प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतमा रहेका नेपाली कांग्रेसका कार्यकर्तासँगको भेटमा विदेशी राहदानी हुनेले नेपालको राजनीतिमा चासो नदिन आग्रह गरे। 

लन्डनस्थित नेपाली दूतावासमा गत शनिबार बिहान कांग्रेसको नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङको नेतृत्वमा पुगेका कार्यकर्तासँग देउवाले झण्डै २० मिनेट भेटघाट गरेका थिए।

‘जुन देशमा बस्नुभएको छ, त्यहीँको राजनीति गर्नुस्। बेकारमा नेपालको राजनीतिको पछि लागेर तनाव नलिनुस्,’ प्रधानमन्त्री देउवाले उनीहरुलाई सुझाव दिए। 

उनले विदेशमा रहेका नेपालीलाई विदेशी राहदानी बोकेर नेपाली राजनीति नगर्न सुझाव दिए पनि कांग्रेसले विभिन्न मुलुकका नेपाली समुदायमा पार्टीको क्रियाशील सदस्यता भने वितरण गरेको छ। कांग्रेसले आसन्न १४ औँ महाधिवेशनमा विभिन्न मुलुकहरुबाट महाधिवेशन प्रतिनिधि सहभागी गराउँदै छ। 

कांग्रेसले नेपाली जनसम्पर्क समितिहरुका तर्फबाट विभिन्न ३६ देशबाट प्रतिनिधिहरुलाई महाधिवेशनमा सहभागी गराउन लागेको हो। कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले ३६ मुलुकमा कांग्रेसले नेपाली जनसम्पर्क समिति गठन गरेको जानकारी दिए।

सचिव रिजालका अनुसार झण्डै ३० हजार क्रियाशील सदस्य विदेशमा छन्। 

यी हुन् कांग्रेसले जनसम्पर्क समिति गठन गरेका मुलुक
अस्ट्रेलिया, चीन, फ्रान्स, आयरल्यान्ड, कुवेत, पोल्यान्ड, स्पेन, यूएई, बहराइन, साइप्रस, जर्मनी, इजरायल, लक्जेमबर्ग, न्युजिल्यान्ड, पोर्चुगल, साउदी अरब, बेलायत, बेल्जियम, डेनमार्क, हङकङ, इटली, मकाउ, नर्वे, कतार, स्वीडेन, अमेरिका, क्यानडा, फिनल्यान्ड, भारत, जापान, मलेसिया, ओमान, दक्षिण कोरिया, स्विट्जरल्यान्ड र माल्टामा कांग्रेसका जनसम्पर्क समिति छन्।

कांग्रेसको वेबसाइटमा भने माल्टाबाहेकका ३५ मुलुकमा मात्र जनसम्पर्क समिति रहेको उल्लेख छ। तर, कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग सदस्य तथा एनसी विन संयोजक दीपेश विष्टले माल्टामा पनि जनसम्पर्क समिति गठन गरिएको जानकारी दिए। 

केन्द्रीय कार्यालयका सचिव रिजालले पनि ३६ मुलुकमा जनसम्पर्क समितिहरुलाई आबद्धता दिइएको पुष्टि गरे। 

‘३६ वटा देशमा जनसम्पर्क समितिहरु छन्। अस्ट्रिया आबद्धताको प्रक्रियामा छ,’ उनले नेपालखबरसँग भने। 

११ देशमा अधिवेशन सम्पन्न
विदेशस्थित कांग्रेसका जनसम्पर्क समितिहरुले अहिले अधिवेशन गरेर महाधिवेशन प्रतिनिधि छानिरहेका छन्। ३६ मध्ये अहिलेसम्म ११ जनसम्पर्क समितिहरुले अधिवेशन सम्पन्न गरिसकेका छन्। 

सूचना, सञ्चार तथा प्रचार विभाग सदस्य तथा कतार जनसम्पर्क समितिका पूर्वसभापति विमल सुवेदीले ३६ मध्ये अहिलेसम्म ११ देशमा अधिवेशन सम्पन्न भएको जानकारी दिए। 

उनका अनुसार कतार, दुबई, बहराइन, साउदी अरबा, ओमान, इजरायल, मकाउ, मलेसिया, हङकङ, साइप्रस र कुवेतस्थित समितिले अधिवेशन सम्पन्न गरेका हुन्। 

अधिवेशन सम्पन्न भएका जनसम्पर्क समितिमध्ये साइप्रस र कुवेतबाट एक–एक र बाँकी नौ समितिबाट ७–७ जनाका दरले महाधिवेशन प्रतिनिधिहरु छनोट भएको सुवेदीले जानकारी दिए। 

उनले बेलायत, जापान, बेल्जियम र स्पेनमा अधिवेशनको तयारी भइरहेको पनि नेपालखबरलाई बताए। 

कति आउँछन् महाधिवेशन प्रतिनिधि?
आगामी मंसिर २४–२६ मा काठाडौंमा हुन गइरहेको १४ औं महाधिवेशनमा विदेशस्थित जनसम्पर्क समितिबाट दुर्ई सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि आउने देखिन्छ। 

पार्टीले गठन गरेको जनसम्पर्क समिति समन्वय, वैदेशिक रोजगार तथा आप्रवासन विभाग प्रमुखसमेत रहेका केन्द्रीय सदस्य गोविन्द भट्टराईले दुई सयको हाराहारीमा प्रतिनिधि आउने बताए। 

१३ औँ महाधिवेशनमा एक सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरु विदेशस्थित जनसम्पर्क समितिबाट सहभागी भएका थिए। 

कतार जनसम्पर्क समितिका पूर्वसभापति सुवेदीले १३ औं महाधिवेशनमा १७ देशबाट महाधिवेशन प्रतिनिधिहरु सहभागी भएका जानकारी दिए। 

‘१३ औँ महाधिवेशनमा १७ देशबाट महाधिवेशन प्रतिनिधिहरु सहभागी थिए,’ उनले नेपालखबरसँग भने, ‘सबै देशबाट ७–७ जनाका दरले आउनुभएको थियो।’ 

कसरी छानिन्छन् महाधिवेशन प्रतिनिधि
कांग्रेसले विदेशस्थित जनसम्पर्क समितिबाट क्रियाशील सदस्य संख्याको आधारमा महाधिवेशन प्रतिनिधिहरु छनोट गर्दै आएको छ। 

जनसम्पर्क समिति समन्वय विभाग प्रमुख भट्टराईले पाँच सय वा त्योभन्दा बढी क्रियाशील सदस्य भएको जनसम्पर्क समितिले सात जना महाधिवेशन प्रतिनिधि छनोट गर्ने प्रावधान रहेको जानकारी दिए।

उनले दुई हजार क्रियाशील सदस्यता भएका जनसम्पर्क समितिले १४ महाधिवेशन प्रतिनिधि छनोट गरेर महाधिवेशनमा पठाउने व्यवस्था रहेको बताए। 

विदेशस्थित जनसम्पर्क समितिबाट छनोट हुने महाधिवेशन प्रतिनिधिमा सभापतिलाई अनिवार्य समावेश गर्नुपर्ने हुन्छ। 

भट्टराईका अनुसार एक सय क्रियाशील सदस्यता भएका जनसम्पर्क समितिहरुले एक जना महाधिवेशन प्रतिनिधि छनोट गर्ने प्रावधान छ। 

कांग्रेसले यसपालिदेखि सय क्रियाशील सदस्य हुने जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि आउन पाउने व्यवस्था गरेको हो। 

‘एक सय क्रियाशील सदस्य भएमा सभापतिले महाधिवेशन प्रतिनिधि पाउने नयाँ विधानमा व्यवस्था भएको हो,’ कतार जनसम्पर्क समितिका पूर्वसभापति सुवेदीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .