राजनीति


माओवादीसँग एकता भंग भएपछि कति थपिए एमालेका सदस्य?

माओवादीसँग एकता भंग भएपछि कति थपिए एमालेका सदस्य?

सागर न्यौपाने
कात्तिक १२, २०७८ शुक्रबार ६:२२, काठमाडौँ

दसौँ राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेले पार्टी सदस्यता संख्या नेकपा हुँदाकै अवस्थामा पुर्याउने  दाबी गरेको छ। 

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको कुल  सदस्य संख्या आठ लाख थियो। त्यो संख्या पुर्याउन एमालेले तीन लाख बढी सदस्य थप्नुपर्छ। भएका पाँच लाख सदस्यलाई पनि नवीकरण गर्नुपर्छ।

त्यसैका लागि देशभर सदस्यता वितरण र नवीकरण तीव्र पारेको केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए। सदस्यता संख्या ह्वात्तै बढाउन एमालेले वडा र पालिका सम्मेलन गरिसकेको छ।

नेकपा हुँदाकै सदस्य संख्या कायम राखेर आफ्नो शक्ति नघटेको र जनताको साथ आफैँलाई रहेको सन्देश दिने एमालेको योजना रहेको तामाङ बताउँछन्। 

‘हामी नेकपाकै अवस्थामा छौँ, त्यो कुरा हाम्रो देशव्यापी सदस्यताले देखाउँछ,’ तामाङले नेपालखबरसँग भने, ‘अहिले जिल्ला र प्रदेशबाट सदस्यता विवरण प्राप्त भइरहेको छ।’

उनका अनुसार २०४७ सालदेखिकै सदस्यता अद्यावधिक भइरहेको छ। एमालेको केन्द्रीय कार्यालयमा मंगलबारसम्म देशभर ६ लाख ३३ हजार सदस्यको विवरण इन्ट्री भइसकेको छ। 

तर, स्थायी कमिटी सदस्य तथा प्रवक्ता प्रदीप ज्ञवालीले भने कात्तिक १० सम्म ७ लाख २१ हजार सदस्य थप भएको र ८ लाख पुग्ने बताए। 

‘हामीले कात्तिक १० लाई फाइनल मानेका छौँ, त्यस मितिमा ७ लाख २१ हजारले सदस्यता फारम भरेका छन्,’ ज्ञवालीले नेपालखबरसँग भने, ‘करिब ८ लाख हाराहारीमा पुग्छ होला।’ 

सदस्य संख्याकै आधारमा आगामी चुनावमा एमाले अन्य पार्टीभन्दा बलियो बन्ने उनले बताए। 

‘एक महिनामा विधान महाधिवेशन र देशभर एकैसाथ वडा तथा पालिका सम्मेलन गरिएको र त्यसमा सर्वसम्मत रुपमा गतिशील नेतृत्व चयन भएकोले पार्टी बलियो बनिसकेको छ,’ ज्ञवालीले दाबी गरे, ‘गठबन्धनका दलले एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न नसकेर मिलेर चुनाव लड्न खोजिरहेका छन्।’

सदस्य संख्या बढेकाले एमालेको शक्ति र सामथ्र्य चुलिएको उनले बताए।  

नेपाली कांग्रेसले साढे ८ लाख सदस्य बनाइसकेको छ। १० लाख पार्टी सदस्य बनाएर देशकै ठूलो पार्टी बन्न चाहेको कांग्रेसलाई टक्कर दिन एमालेले पार्टी सदस्यता संख्यालाई बढाइरहेको हो। 

तर, भदौ १ गते एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरिसकेका छन्। लामो समय एमालेमा रहेका नेता नेपालले नयाँ पार्टी गठन गरेपछि एमालेलाई ठूलै झड्का लाग्ने देखिन्छ। 

तर, प्रवक्ता ज्ञवाली विभाजनले पनि अहिलेसम्म पार्टीलाई कुनै क्षति नपुगेको दाबी गर्छन्।

‘केही नेताहरु गए पनि पार्टीलाई ठूलो क्षति पुगेको छैन,’ उनले भने, ‘केन्द्रीय कमिटीमा २३ प्रतिशतको क्षति प्रदेश र स्थानीय तहमा आइपुग्दा ९ प्रतिशतमा झरेको छ। पार्टीको ग्रास लेभलमा पुग्दा त्यो संख्या नगन्य छ। उता गएका साथीहरु पनि फर्किन थाल्नुभएको छ।’

‘नेकपाकालीन अवस्थामै पार्टीलाई पु¥याउन सकिन्छ, हामी उत्साहित छौँ, वडा र पालिका तहको अधिवेशनले हामीलाई त्यही उत्साह थपेको छ।’

कार्यालय सचिव शेरबहादुर तामाङले २ प्रतिशत बढीले सदस्यता नवीकरण नगरेको स्वीकार गरे। 

‘केन्द्र, प्रदेश, स्थानीय तह र ग्राउन्ड लेभलमा केहीले एमाले सदस्यता नवीकरण गर्नु भएको छैन,’ तामाङले भने। 

नेकपा भंग भएपछि र पार्टीमा विभाजन भएको अवस्थाले क्षति नपुगोस् भनेर एमाले सदस्यता वितरणमा लचक भएको छ। 

संघीय र प्रदेश सभा निर्वाचन २०७४ मा गठबन्धन गरेर निर्वाचन जितेका नेकपा एमाले र माओवादी केन्द्रले २०७५ जेठ ३ गते पार्टी एकता गरे। 

एकतापछि बनेको नेकपामा सदस्य संख्या ८ लाख पुगेको प्रचार गरियो। 

त्यसमध्ये ५ लाख एमालेको र ३ लाख माओवादी केन्द्रको थियो।

एकतापछि हरेक कमिटी, विभागहरुमा दुई पार्टीले भागबण्डा गरे– एमालेको ६० र माओवादीको ४० प्रतिशत। 

केन्द्रीय कमिटी, स्थायी र पार्टी सञ्चालनको लागि बनाइएको सचिवालयमा पनि त्यही प्रतिशतलाई आधार बनाइयो। तर, एकता भएको डेढ वर्ष अर्थात् २०७६ कात्तिकसम्म पनि सबै कमिटीहरुको एकता प्रक्रिया टुंगो लागेन। 

नेकपा हुँदाका मुख्य कार्यालय सचिव ईश्वरी रिजाल भन्छन्, ‘दुई पार्टी एक त भयो तर माओवादी केन्द्रले सदस्य संख्या कहिले पनि उपलब्ध नै गराएन।’

‘उनीहरुले भनेकै ३ लाखको नाम कहिल्यै दिएनन्,’ रिजालले नेपालखबरसँग भने,  ‘त्यति अव्यवस्थित पार्टी चलेको मैले पहिलो पटक देखेँ।’

उनका अनुसार केन्द्रमा मात्र होइन त्यसबेला माओवादीले जिल्ला र स्थानीय तहको तथ्यांक समेत दिएन।

‘थुप्रै पटक आग्रह गर्दा पनि केन्द्रमा त सदस्यताको नाम दिएनन् नै, जिल्ला र स्थानीय तहको पनि उनीहरुसँग आफ्ना सदस्यको विवरण रहेनछ। भन्दाभन्दा थाकियो अनि माग्नै छोडियो,’ रिजालले भने, ‘त्यो ३ लाख संख्या छ भनेर पनि माओवादीका कार्यालय सचिव श्रीराम ढकालले मौखिक रुपमा भनेका हुन्।’

‘यस विषयमा मैले पार्टी नेतृत्व (अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड) सँग पनि राखे। सदस्य संख्यालाई अद्यावधिक गराउन र संख्यालाई एकीकृत संरचनामा राख्न निर्देशन पनि भयो,’ रिजालले थपे, ‘तर, माओवादी केन्द्रका सबैको नाम कहिले पनि पाइएन, त्यसबेलाको हाम्रो सदस्यता लिस्ट त्यही भएर प्रकाशित हुनै सकेन।’

माओवादीको यही भद्रगोल पार्टी सञ्चालन प्रक्रिया देखेर एमालेले व्यवस्थित पार्टी बनाउनुपर्ने भन्दै कार्यकर्ताको नामसहितको विवरण केन्द्रीय कार्यालयमा राख्न थालेको उनले बताए।

अहिले नवीकरण भएका सदस्य र नयाँ सदस्यताको विवरण केन्द्रीय कार्यालयबाट मात्र होइन सबै ठाउँबाट हेर्न सकिने बनाइएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad