ad ad

राजनीति


सुदूरपश्चिम सरकार हेरफेरको चर्चा, मुख्यमन्त्रीमा कांग्रेस र समाजवादीको दाबी

सुदूरपश्चिम सरकार हेरफेरको चर्चा, मुख्यमन्त्रीमा कांग्रेस र समाजवादीको दाबी

गोकुल जोशी
कात्तिक ५, २०७८ शुक्रबार १८:१३, काठमाडौँ

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने चर्चा सुरु भएको छ। प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले दाबी गरेको छ।

माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकार हेरफेरका लागि नेपाली कांग्रेसले गृहकार्य गरिरहेको छ। सत्तारुढ गठबन्धनको कांग्रेस सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र)ले आफूहरुसँग कुनै सरसल्लाह नगरी एकलौटी रुपमा सरकार चलाएको भन्दै असन्तुष्ट बनेको छ।

माओवादी केन्द्रले गठबन्धनको दललाई वेवास्ता गर्दै सरकार सञ्चालन गरिरहेको भन्दै कांग्रेसका नेताहरु सरकार परिवर्तनको कसरतमा जुटेका हुन्। मुख्यमन्त्री त्रिलोचन भट्टले जनअपेक्षा अनुसार काम नगरी एकलौटी सरकार चलाएकाले सरकार फेरिने कांग्रेस नेताहरुको दाबी छ। 

‘गठबन्धनको हिसाबले काम भएका छैनन्। सहयात्री दलहरूका बिचमा सल्लाह हुनुपर्थ्याे। तर त्यसो हुन सकेन’ कांग्रेसका एक नेताले भने, ‘जनताको अपेक्षा अनुसार सरकारले काम गर्न सकेको छैन। छोटो समयमा उपलब्धिमूलक कार्य गर्न हामी नेतृत्वमा आउन खोजेका हौँ। त्यो हुन्छ।’

सत्तारुढ गठबन्धनको भागबण्डामा सुदूरपश्चिम प्रदेशको नेतृत्व कांग्रेसले पाउनुपर्नेमा कांग्रेस नेताको जोड छ। 

‘१ नम्बर र बागमती प्रदेश समाजवादीको भागमा परेका छन्। फेरि यहाँ पनि मुख्यमन्त्री समाजवादीलाई नै दिनु न्याय संगत हुँदैन’ ती नेताले भने, ‘यसले गठबन्धनमा असन्तुष्टि मात्रै बढाउँछ। त्यसैले सुदूरपश्चिमको मुख्यमन्त्रीमा हाम्रो दाबी हो।’

सत्तारुढ गठबन्धनमा बागमती प्रदेशमा कांग्रेस र समाजवादीले आलोपालो र १ नम्बर प्रदेशमा समाजवादीले सरकार चलाउने सहमति बनेको छ। 

माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम सरकार फेरेर कांग्रेस सुदूरपश्चिम प्रदेश सभाका सांसद आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन गर्ने दाउमा छन्। कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलले आफ्नो नेतृत्वमा सरकार बनाउन केन्द्रसँग लबिङ गरिरहेका छन्।  

सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा सरकार बनाउन प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गरेर रावलले दबाब दिइरहेका छन्। 

शुक्रबार बाढीपहिरोग्रस्त क्षेत्रको अनुगमनमा आएका प्रधानमन्त्री देउवासँग भेट गर्दै नेताहरुले प्रदेश सरकारप्रति जनताको असन्तुष्टि बढ्दै गएकाले फेर्नु पार्ने माग राखेका थिए।

प्रदेश सरकारको काम सन्तोषजनक नभएको भनेर धेरै गुनासो आएकाले गठबन्धनमा छलफल, सल्लाह भइरहेको र सरकार फेरबदल हुने-नहुने तथा कसरी अगाडि बढ्ने विषयमा केही दिनमा निर्णय गर्ने प्रधानमन्त्री देउवाले प्रतिबद्धता जनाएको भेटघाटमा सहभागी संसदीय दलका नेता रणबहादुर रावलले सुनाए।

यस्तै, केही समय अगाडि रावल नेतृत्वको सुदूरपश्चिमका कांग्रेस सांसदको समूहले संघीय राजधानी काठमाडौँमा प्रधानमन्त्री देउवालाई भेटेर माओवादीले एकलौटी सरकार सञ्चालन गरेकाले परिवर्तन गर्न आग्रह गरेका थिए।

उता गठबन्धनको बलमा कांग्रेसले सत्ता हत्याउन खोजेको भन्दै नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमले कांग्रेसलाई नेतृत्वमा आउनबाट रोक्ने रणनीति बोकेको छ। 

कांग्रेसले मुख्यमन्त्रीमा दाबी गरेपछि एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्रीका लागि अगाडि सारिएको छ। प्रदेश सभामा समाजवादी ठूलो दल भएकाले आफ्नो नेतृत्वमा सरकार बनाउन सोडारीले केन्द्रसँग लबिङ गरिरहेका छन्। 

तत्काल सरकार फेरबदलको लागि कुनै छलफल नै नभएको तर त्यस्तो भएको खण्डमा समाजवादीले पनि मुख्यमन्त्री दाबी गर्ने एक सांसदले बताए। 

‘अब थोरै समय छ, हामी यही सरकारलाई मिलेर प्रभावकारी हिसाबले चलाउनु पर्छ भन्ने पक्षमा छौँ। यदी सरकार फेरबदल नै हुन्छ, भने त सबैभन्दा ठूलो दल हाम्रो नै छ,’ समाजवादीका ती सांसदले भने, ‘हामी पनि मुख्यमन्त्रीमा दाबी गर्छौँ। तर अहिले नै सरकार परिवर्तनको कुनै छलफल भएको छैन।’

प्रदेश सभाको पहिलो दल समाजवादी र तेस्रो दल कांग्रेस दुवै आ–आफ्नो नेतृत्वमा सरकार बनाउने कसरतमा छन्। 

एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी अहिले भौतिक पूर्वाधार विकासमन्त्री छन्। तत्कालीन नेकपा एमालेमा माधव समूहका डा. भीम रावलका विश्वासपात्र मानिने सोडारीले विभाजनमा उनको साथ छोडेका थिए। 

एमाले फुटाउने माधव कुमार नेपालको निर्णयमा रावलले उनलाई साथ दिएनन्। माधवको साथ छोडेका रावललाई विश्वास पात्र सोडारीले पनि छोडे। र, उनकै अग्रसरतामा एकीकृत समाजवादी प्रदेश सभामा सबैभन्दा ठूलो दल बनेको थियो। 

अहिले सुदूरपश्चिम प्रदेशमा समाजवादीको साझेदारीमा माओवादी केन्द्र नेतृत्वको सरकार छ। सत्तागठबन्धनको कांग्रेस सरकार बाहिर छ।

५२ प्रदेश सांसद रहेको सुदूरपश्चिममा एकीकृत समाजवादीका १४, माओवादीका १३ र कांग्रेसका १२ सांसद छन्। यस्तै, प्रतिपक्षी एमालेका सभामुख सहित ११ सांसद तथा जसपा र लोकतान्त्रिक समाजवादी (लोसपा) का एक-एक सांसद छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .