राजनीति


‘माधव आउँछन् कि भनेर १० बुँदे गरियाथ्यो, अब केको १० बुँदे’

‘माधव आउँछन् कि भनेर १० बुँदे गरियाथ्यो, अब केको १० बुँदे’

फाइल तस्बिर


नेपालखबर
कात्तिक ३, २०७८ बुधबार १६:०, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब दसबुँदे सहमतिको औचित्य नभएको बताएका छन्। 

बुधबार पार्टीको बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा उनले माधवकुमार नेपाल आउँछन् कि, पार्टी फुटाउँदैनन् कि भनेर १० बुँदे गरिएको अब त्यसको औचित्य नभएको बताएका हुन्। 

‘अब १०बुँदे १० बुँदे ट्यान्ड्याङ, ट्यान्ड्याङ गरिरहन आवश्यक छैन’, ओलीले भने, ‘माधव आउँछ कि पार्टी फुटाउँदैन कि भनेर १० बुँदे गरियाथ्यो अब केको १० बुँदे।’

तत्कालीन एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओलीबीच मतभेद चर्किंदा सहमतिका लागि दुवै समूहका नेता सम्मिलित कार्यदल बनाइएको थियो। र, त्यसले एकताका लागि १० बुँदे सहमति जुटाएको थियो। तर अन्ततः त्यसका सबै बुँदाप्रति आफ्नो सहमति नरहेको भन्दै माधव नेपालले एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका हुन्।   

यसर्थ अब एमालेमा त्यो दसबुँदे सहमतिको कुनै अर्थ नरहेको ओलीले बुधबार बताएका हुन्।

उनले सारंगी बजाएजस्तो हात बनाउँदै अब दसबुँदेको गीत गाइरहनु आवश्यक नभएको बताए। 

अन्तिम समयमा भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराईलगायत दोस्रो पुस्ताका १० नेता त्यही दसबुँदे कार्यान्वयनको अपेक्षामा माधव नेपालको साथ छाड्दै ओली पक्षमै समाहित भएका हुन्। 

अहिले पनि भीम रावलले बेलाबेला दसबुँदे कार्यान्वयनको कुरा उठाउने गरेका छन्। दसबुँदे सहमतिअनुसार एमालेलाई २०७५ जेठ २ कै संरचनामा फर्काउने भनिए पनि रामबहादुर थापा बादललगायत माओवादी केन्द्रबाट आएका नेताहरूलाई उही पदमा राख्नेलगायत पछिल्लो निर्णयलाई नै ओलीले कायम राखेका छन्। 

‘अब के दसबुँदे दसबुँदे, हाम्रो पार्टी हामीले बनाएको पार्टी। एक ठाउँ मिलेर एकताबद्ध भएर अगाडि बढ्ने सिद्धियो’, ओलीले बुधबार भने, ‘साथीहरुले अलि अलि बाटो बिराउनुभयो होला। फर्केर आउने काम गर्ने।’

उनले ‘बाटो बिराएर’ माधव नेपालसँग गएकाहरूलाई पनि फर्केर आए उचित जिम्मेवारी दिन आफू अझै तयार रहेकाे बताए।  ‘तर माधव नेपाललाई नो इन्ट्री’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad