ad ad

राजनीति


सुदूरपश्चिम प्रदेश सरकार फेर्ने कसरतमा कांग्रेस

माओवादीले एकलौटी गरेको देउवासँग गुनासो
सुदूरपश्चिम प्रदेश सरकार फेर्ने कसरतमा कांग्रेस

केशव सावद
असोज २३, २०७८ शनिबार १५:४२, काठमाडौँ

सत्ता गठबन्धनको दल नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारप्रति असन्तुष्ट देखिएको छ। 

माओवादी नेतृत्वको सरकार एकलौटी चल्न थालेपछि सत्ता साझेदार कांग्रेस सुदूरपश्चिम प्रदेशमा असन्तुष्ट देखिएको हो। 

सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनमा सल्लाह नगरेको भन्दै कांग्रेस नेताहरु सरकार परिवर्तन प्रयासमा लागेका छन्। 

उनीहरुले शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रदेश सरकारप्रति गुनासो गरेका छन्। 

कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलसहितका नेताहरूको टोलीले प्रधानमन्त्री देउवालाई सुदूरपश्चिम सरकारबाट कांग्रेसलाई सहयोग नभएको भन्दै मुख्यमन्त्री परिवर्तन गर्न आग्रह गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा रावल नेतृत्वको टोलीमा प्रमुख सचेतक गोविन्द बोहरा र सांसद भरत खड्का सहभागी थिए। 

दलका नेता डा. रावलले पार्टीको जारी अधिवेशन, गठबन्धनको सरकारका गतिविधि, विकास निर्माणका विषयमा प्रधानमन्त्रीसँग छलफल गरेको जानकारी दिए। 

‘गठबन्धन कस्तो भूमिका निर्वाह गर्दैछ। गठबन्धनमा रहेका दलहरूका बीचमा कस्तो प्रकारले सर–सल्लाह भइरहेको छ भन्ने बारेमा ब्रिफिङ गर्‍यौं,’ उनले नपालखबरसँग भने, ‘पार्टीको अधिवेशन र विकास निर्माणका बारेमा पनि हामीले कुराहरु राख्यौं।’

नेता रावलले सुदूरपश्चिम प्रदेश सरकारमा नेतृत्व गरिरहेको दल माओवादीले आफूहरुसँग सल्लाह नै नगरी कामहरु अघि बढाइरहेको भन्दै गुनासोसमेत गरे। 

‘गठबन्धनको हिसाबले कामहरु भएका छैनन्। कर्मचारी सरुवा–बढुवा गर्दा नीति, नियम पालना भएको छैन,’ उनले भने, ‘सहयात्री दलहरूका बीचमा सल्लाह हुनुपर्छ नि।’

उनले कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन गर्न खोजिरहेकोबारे स्पष्ट खुलाउन मानेनन्। प्रदेश सरकार परिवर्तन गर्न खोजिरहनुभएको हो? भन्ने प्रश्नमा डा. रावलले भने, ‘व्यक्ति परिवर्तन मुख्य कुरा होइन। पद्धतिअनुसार चल्नुपर्यो। नयाँ ढंगले चल्नुपर्यो। व्यक्तिवादी भन्दा पनि सामुहिक बल पुग्ने गरी काम गर्नुपर्‍यो। त्यो प्रदेश सरकारमा देखिएन।’

प्रदेशसभा संसदीय दलका नेता रावल, प्रमुख सचेतक बोहरा र सांसद खड्काको ‘ब्रिफिङ’ पछि प्रधानमन्त्री देउवाले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुसँग सुदूरपश्चिम सरकारका बारेमा छलफल गर्ने बताएका छन्। 

‘हाम्रो बिफ्रिङपछि उहाँले यो गम्भीर कुरो हो। गठबन्धनका साथीहरुसँग कुरो राख्छु। सल्लाह गर्छु भन्नुभयो,’ नेता रावलले भने, ‘अहिलेसम्म हामी संघीय सरकार गठनमा व्यस्त भयौं। अब प्रदेश सरकारतर्फ ध्यान दिन्छौं पनि भन्नुभएको छ।’

भेटमा सहभागी प्रमुख सचेतक बोहराले पनि सुदूरपश्चिम सरकार, जिल्लाहरुको विकास लगायतका विषयमा छलफल भएको जानकारी दिए। ‘प्रदेश सरकारले के कसरी काम गरिरहेको छ। जिल्लाको विकासका लागि के गर्नुपर्छ भन्नेबारे सरसल्लाह गर्न गएका हौं,’ उनले नेपालखबरसँग भने। 

बोहराले सुदूरपश्चिम प्रदेश सरकार परिवर्तनका बारेमा प्रधानमन्त्री देउवाले गठबन्धनमा सल्लाह गर्ने जवाफ दिएको पनि जानकारी दिए। ‘प्रदेश सरकारको विषयमा सल्लाह भइनसकेको अवस्था हो,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले सल्लाह गर्छु भन्नुभएको छ।’

सुदूरपश्चिम प्रदेश सरकारमा अहिले नेकपा (एकीकृत समाजवादी) र माओवादी मात्रै सरकारमा छन्। केन्द्रमा कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सहितको गठबन्धन हुँदा प्रदेशमा बेवास्ता गरिएको कांग्रेसका नेताहरुले प्रधानमन्त्री देउवासँग गुनासो गरेका थिए।

सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रबाट त्रिलोचन भट्ट मुख्यमन्त्री छन्। उनलाई एकीकृत समाजवादीको समर्थन छ । यसअघि विश्वासको मत लिँदा भट्टलाई कांग्रेस मतदान नगरी तटस्थ बसेको थियो। 

५२ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादीका १३ र कांग्रेसका १२ सांसद छन्। प्रतिपक्षी एमालेसँग १० सांसद छन्। जसपा र लोकतान्त्रिक समाजवादी (लोसपा) का एक-एक सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .