ad ad

राजनीति


यसरी बन्यो प्रकाशमान–गगन गठजोड : महाधिवेशनमा ‘चौका हान्ने’ दाउ

यसरी बन्यो प्रकाशमान–गगन गठजोड : महाधिवेशनमा ‘चौका हान्ने’ दाउ

केशव सावद
असोज २१, २०७८ बिहिबार ६:५८, काठमाडौँ

फरक–फरक नीति अबलम्बन गरेका दुई पार्टीबीच एकीकरण भएर जन्मेको नेपाली कांग्रेसमा स्थापनाकालबाटै गुटहरु सक्रिय छन्। २०७२ फागुनमा सम्पन्न १३ औँ महाधिवेशनबाट भने कांग्रेसमा स्पष्ट रुपमा तीन समूह देखिएका छन्– संस्थापन समूह, पौडेल समूह र सिटौला समूह। 

यी तीन गुटका नेतृत्व गरिरहेका छन्– प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले।

तर, १३ औँबाट १४ औँ महाधिवेशनसम्म आइपुग्दा केही नेताहरुले समूह परिवर्तन गरेका छन्। त्यसरी समूह बदल्ने चर्चित नेता हुन्, गगन थापा। 

अघिल्लो पटक सिटौला समूहबाट महामन्त्रीका उम्मेदवार थापा अहिले पौडेल समूहमा खुल्दै खुल्दै गएका छन्। बुधबार सिटौलाले राखेको उनको समूहको बैठकमा उपस्थित नभएर थापाले आफु पौडेल समूहतिर लागेको थप स्पष्ट गरेका छन्। 

थापाले काठमाडौँ जिल्लामा भएको पालिका अधिवेशनमा पौडेल समूहसँग गठजोड गरे। 

असोज १६ गते भएको पालिका अधिवेशनमा पौडेल समूहका प्रभावशाली नेता प्रकाशमान सिंहसँग भएको थापाको गठबन्धनले संस्थापन समूहलाई काठमाडौंमा ठूलो धक्का लागेको छ। सिंह–थापाबीचको सहकार्यले काठमाडौंका अधिवेशन सम्पन्न १० पालिकामध्ये संस्थापन समूह तीन पालिकामै सीमित बन्न पुगेको छ। सात पालिकामा सिंह र थापाले समर्थन गरेका उम्मेदवारहरू विजयी भएका छन्। 

काठमाडौंको दक्षिणकाली नगरपालिकामा भने विवादका कारण पालिका अधिवेशन हुन सकेको छैन। सिंह–थापा दक्षिणकालीमा पनि नेतृत्व हात पार्ने दाउमा छन्। 

‘दक्षिणकालीमा हामी सर्वसम्मत अधिवेशनको पक्षमा छौं,’ नेता सिंहनिकट एक नेताले नेपालखबरसँग भने, ‘चुनाव नै भयो भने पनि हामी जित्छौँ।’

अहिलेसम्म भएका वडादेखि पालिका र जिल्ला अधिवेशनसम्ममा कांग्रेसको प्रकाशमान–गगन यो गठजोड सबैभन्दा सफल सावित भएको छ, जसको प्रभाव अब जिल्ला र प्रदेश अधिवेशन हुँदै केन्द्रको नेतृत्व चयनसम्मा पर्ने प्रष्ट देखिएको छ।    

यसरी सम्भव भयो सिंह–थापा सहकार्य
कांग्रेसका लागि काठमाडौंको राजनीतिमा गणेशमान सिंहका छोरा पूर्वमहामन्त्री प्रकाशमान सिंह महत्वपूर्ण नेता हुन्। काठमाडौंमा उनको बलियो पकड छ।

थापा पनि काठमाडौंबाटै राजनीति गर्दै आएका छन्। १३ औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थापाले पराजय बेहोरेपछि नेता सिंहसँग सामीप्य बढाएको बताइन्छ।

काठमाडौँमा सिंहसँग मिलेर राजनीति अगाडि बढाए आगामी राजनीतिक यात्रा झनै मजबुत हुने आशामा थापा चाक्सीबारीसँग नजिकिँदै गएको कांग्रेस नेताहरुको बुझाइ छ। 

गत स्थानीय तहको निर्वाचनअगावै नेता थापा सिंहसँग नजिकिन सुरु गरेको सिंहनिकट नेताहरु बताउँछन्। 

‘१३ औं महाधिवेशनमा फरक–फरक समूहबाट चुनाव लडे पनि गगनजी स्थानीय निर्वाचनभन्दा अघिबाटै प्रकाशमान दाइको नजिक हुनुभएको हो,’ ती नेताले भने।

थापाले सिंहसँग सहकार्य गरेर स्थानीय तहको निर्वाचनमा आफूनिकटका नेताहरुलाई टिकट दिलाएका थिए। 

‘प्रकाशमान दाइसँग मिलेर आफूनजिकका मानिसहरुलाई स्थानीय तह, पार्टीका कमिटी लगायतका ठाउँमा एडजस्ट गरेर काम गर्न पाए राम्रो हुन्छ भन्ठान्नुभयो होला,’ ती नेताले भने, ‘प्रकाशमान दाइ पनि इच्छुक देखिनुभयो। मिलेर काम गर्ने भनेर गएको स्थानीय तह, प्रदेश सभामा सहमति गरेर टिकट बाँडफाँट गर्नुभएको थियो।’

काठमाडौँका कांग्रेसका मतदाताको इच्छा बुझेर उनीहरु मिलेको सिंहका स्वकीय सचिव यूपी लामिछानेले बताए।

‘शुभचिन्तकको अपेक्षा दुवै नेताहरु एक ठाउँमा उभिदिएको भए हुन्थ्यो भन्ने थियो,’ लामिछानेले भने, ‘मिलेर काम गरे दुवैलाई फाइदा हुन्छ भन्नेमा उहाँहरु पनि सकारात्मक देखिनुभयो। सहकार्य हुनुको कारण यही हो।’ 

नेता थापाका सल्लाहकार प्रताप पौडेल पनि दुई नेताका बीचमा सहकार्य हुनुको मुख्य श्रेय शुभचिन्तकलाई दिन्छन्।

‘स्थानीय तहको चुनावमा दुई जना एकै ठाउँमा गइदिए हुन्थ्यो भन्ने कार्यकर्ताको चाहना देखियो,’ उनले नेपालखबरसँग भने, ‘यो पनि सहकार्यको महत्वपूर्ण फ्याक्टर हो।’

दुई वर्ष पहिलेदेखिको तयारी 
नेता थापाले सिंहसँग जुगलबन्दीको प्रयास दुई वर्षदेखि भइरहेको बताएका छन्। 

‘यो सहकार्य अहिलेको होइन। दुई वर्ष नै भइसक्यो तयारी गरेको,’ नेता थापाले नेपालखबरसँग भने, ‘मैले साथीहरुलाई दुई वर्ष नै भयो भन्न थालेको। एक्कासि भन्दा अप्ठ्यारो होला कि भनेर।’

२०७४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनअघि नै आफू नेता सिंहसँग नजिकिन सुरु गरेको उनको भनाइ छ। 

‘एकैचोटी भएको होइन। गएको इलेक्सनभन्दा अलि अघि नै प्रकाश दाइसँग छलफल, उठबस सुरु गरिसकेको थिएँ,’ थापाले भने, ‘संसदीय दलको चुनावमा त मैले प्रकाश दाइलाई नै भोट हालेको हो।’

पौडेल र सिटौलालाई एक ठाउँमा ल्याउने प्रयास
थापा पौडेल समूह र सिटौला समूहलाई एक ठाउँमा ल्याउन प्रयासरत छन्। जो १२ औँ महाधिवेशनमा एकै ठाउँमा थिए।

‘१२ औँ महाधिवेशनमा एक ठाउँमा रहेर १३ औँ महाधिवेशनमा अलग–अलग रहने अवस्था बनेको रामचन्द्र पौडेलदेखि कृष्ण सिटौलासम्मको टिम एक ठाउँमा उभिएर शक्ति निर्माण गरौँ। एक जना सभापति बनाऔँ र एउटा समूह निर्माण गरौँ भन्ने मेरो प्रयास छ,’ थापाले केही साताअघि नेपालखबरसँगको अन्तर्वार्तामा भनेका छन्।

‘त्यो प्रयास अहिले पनि कायमै छ है भन्ने देखाउन पनि प्रकाशमान दाइसँग सहकार्य गर्न आवश्यक थियो,’ अर्का एक नेताले भने। 

आफ्नै जिल्लामा एक भएर नगए त्यस्तो प्रयास खेर जाने भन्दै सिंह र थापा एक ठाउँ उभिएका हुन्। 

पौडेल र सिटौला मिलेर जान सके महाधिवेशन जितिने उनीहरुको आकलन छ। 

लक्ष्य- स्थानीय तहको निर्वाचन
नेता थापाको सचिवालयले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर काठमाडौंमा सहकार्य भएको दाबी गरेको छ। 

‘लगत्तै स्थानीय तहको निर्वाचन आउँदै छ। स्थानीय तहमा काठमाडौंले के गर्छ भन्ने चासो हुन्छ नै,’ थापाको सचिवालय स्रोतले भन्यो, ‘चुनावका लागि ऊर्जा दिनु छ। त्यो ऊर्जा दिन प्रकाश दाइ र गगन दाइ एक ठाउँमा उभिनुभएको हो।’

‘प्रकाशमान दाइले जिल्ला सभापति, क्षेत्रीय सभापति सबैलाई मिलाएर जानु भन्नुभएको थियो। त्यसको आशय भनेको स्थानीय तहको चुनाव नै थियो,’ चाक्सीबारी स्रोतले भन्यो, ‘तर, सहमति जुटेन।’

थापाले पनि आगामी दिनमा हुने स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर काठमाडौंमा नयाँ सुरुवात गरिएको प्रतिक्रिया दिएका छन्। 

‘काठमाडौंमा फरक खालको च्यालेन्ज छ। बाहिरी जिल्लाहरुका कांग्रेसले कम्युनिस्टसँगमात्रै प्रतिस्पर्धा गर्नुपर्छ,’ उनले नेपालखबरसँग भने, ‘यता कम्युनिस्टसँगै नयाँ पार्टीहरु पनि प्रतिस्पर्धीका रुपमा देखिए। यसले पनि सोच्नु परेको हो।’

महाधिवेशनमा के फरक पार्छ?
नेता थापाले काठमाडौँमा आफूहरुका बीचमा भएको सहकार्यले महाधिवेशनमा पनि प्रभाव पार्ने बताए। काठमाडौंमा १० प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका कारण पनि तर्क बलियो देखिन्छ।

एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि सहभागी हुन पाउँछन्। त्यो हिसावले दुई सय ५० महाधिवेशन प्रतिनिधि यहीँबाट आउँछन्। 

‘संख्या ठूलो भएकाले महाधिवेशनमा प्रभाव पारिहाल्छ,’ उनले भने, ‘महाधिवेशन भनेको संख्या हो। संख्यालाई प्रभावित गर्छ।’

नेता थापाले काठमाडौंबाट महाधिवेशनमा सहभागी हुने प्रतिनिधिमध्ये आठ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका प्रतिनिधिको संख्या आफूहरुसँग रहने समेत दाबी गरे। 

‘१० निर्वाचन क्षेत्र छ। तीमध्ये आठ निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधिको संख्या हामीसँग रहन्छ।’ 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .