ad ad

राजनीति


माओवादीका तीन नेताको टिप्पणीः सहकर्मीबाटै साथ नपाएपछि प्रचण्ड निराश सुनिन थाले

माओवादीका तीन नेताको टिप्पणीः सहकर्मीबाटै साथ नपाएपछि प्रचण्ड निराश सुनिन थाले

सागर न्यौपाने
असोज १९, २०७८ मंगलबार २२:२२, काठमाडौँ

‘मैले या त यत्ति नै रहेछ भनेर सुसाइड गर्नुपर्ने या त लड्नुपर्ने ठाउँमा आफूलाई पाएँ,’ भारतीय क्रान्तिकारी चन्द्रशेखर आजादको प्रसंग उप्काउँदै असोज १४ मा प्रचण्डले भने, ‘लड्ने कि मर्ने? फेरि पनि मृत्यु या मुक्तिको ठाउँमा पुगेको मैले देखेँ।’

अनेरास्ववियु (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन उद्घाटनमा केही दिनअघि प्रचण्डले दिएको अभिव्यक्तिले निकै चर्चा पायो, माओवादीभित्र र अन्य पार्टीहरूबीच पनि।

त्यसअघि असोज ४ मा पार्टी कार्यालय पेरिसडाँडाको एक कार्यक्रममा उनले भनेका थिए, ‘यही स्थिति रह्यो भने त यो पार्टी नरहे पनि के हुन्छ र? जनतालाई जाल, झेल, ठगठाग गरेर पार्टी बनाउनु भन्दा त विघटन गर्दिए हुन्छ।’

पछिल्लो एक महिनायता प्रचण्डका अभिव्यक्तिहरु स्वाभाविक सुनिँदैनन्। उनका सबैजसो भाषणमा आवेग, निराशा अभिव्यक्त भएको पाइन्छ।

एक दशक जनयुद्धमा र त्यसयता संसदीय राजनीतिमा डेढ दशक बिताएका प्रचण्डका यी अभिव्यक्ति सामान्य खालको नभएको माओवादीकै नेताहरु बताउँछन्। 

संसद् विघटन उल्ट्याएर नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनिसकेपछि प्रचण्डका विचारहरु उर्जाशील हुनुपर्नेमा त्यसो नभएको उनीहरुको भनाइ छ।

कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासँग ‘चुनावसम्मै गठबन्धन’ बनाएका प्रचण्डले यस्ता अभिव्यक्ति किन दिइरहेका छन् त? 

प्रचण्डनिकट स्थायी समिति सदस्य शक्ति बस्नेतले प्रचण्डका अभिव्यक्तिको अन्तर्य खासगरी तीन वटा रहेको बताए– ‘युवा सहभागिताको खोजी, वर्तमान अवस्थाको इमानदार विश्लेषण र सहकर्मीबाट सहयोग नभएको संकेत।’

बस्नेतको विश्लेषणमा प्रचण्डले पछिल्ला दिन जनयुद्धमा जस्तै उर्जावान् युवाको साथ चाहेका छन्। 

‘कमान्डरले आदेश दिनेबित्तिकै जनमुक्ति सेना वा अन्य नेता–कार्यकर्ताबाट जसरी प्रभावकारी काम हुन्थ्यो, अहिले प्रचण्डले त्यस्तै खोज्नुभएको छ,’ बस्नेतले नेपालखबरसँग भने, ‘त्यही भएर वाईसीएल र विद्यार्थीको भेलामा प्रचण्डको त्यस्ता अभिव्यक्ति आयो।’ 

यही कारणले अध्यक्षमा दाबी गरिरहेका ६ विद्यार्थी नेतालाई पार्टीको केन्द्रीय सदस्य बनाउने निर्णय प्रचण्डले लिएको बस्नेतको भनाइ छ। 

बस्नेतले एक महिना यताका प्रचण्डका अभिव्यक्तिलाई निराशाको कोणबाट मात्र हेर्न नहुने बताए।

‘उहाँले परिस्थितिको बोध गराउने काम गर्नुभएको छ, तत्कालका आवश्यकता, सीमितताबारे ब्रिफिङ गर्नुभएको छ,’ बस्नेतले भने।

प्रचण्डले आफ्ना सहकर्मीबाट पनि राम्रो साथ नपाएको महसुस गरेको लामो समय उनीसँगै बिताएका बस्नेत बताउँछन्।

‘सहकर्मीबाट सपोर्ट नपाएको उहाँलाई फिल भएको छ,’ बस्नेतले भने, ‘आफ्नो रफ्तार साथीहरुले नपक्रिएको, स्थायी समितिले अपेक्षा गरेजस्तो रणनीति तयार गर्न नसेकेकोमा अध्यक्ष चिन्तित हुनुहुन्छ।’

तर, युवा नेता लेखनाथ न्यौपाने गुटबन्दीबाट वाक्क भएर प्रचण्डले यस्ता अभिव्यक्ति दिएको बताउँछन्। 

‘प्रचण्डकै छाता ओडेर गुट बनाई शक्तिशाली बन्ने केही नेताहरुका कारण अध्यक्ष प्रचण्ड निराश बन्नुभएको हुनसक्छ,’ न्यौपानेले भने, ‘जनवर्गीय संगठनको हालत त्यस्तै छ।’

सबैले पद मात्र माग्ने र बार्गेनिङ गर्ने तर काम नगर्ने हुँदा पार्टीको आकार खुम्चिँदै गएकाले प्रचण्ड असन्तुष्ट देखिएको उनको भनाइ छ।

‘सबै नेता पद माग्न प्रचण्डको दैलो धाउँछन्,’ न्यौपाने भन्छन्, ‘तर, नेतालाई दिएको पदअनुसार परिणाम देखिएको छैन। त्यसबाट अध्यक्ष सन्तुष्ट हुनुहुन्न।’

प्रचण्डको सचिवालयबाट पनि पर्याप्त सहयोग नभएको न्यौपानेको बुझाइ छ। उनको सचिवालयका विषयमा केन्द्रीय समितिको बैठकमै कुरा उठेको थियो।

‘अध्यक्षले आफ्नो सचिवालयमा स्थान दिएका साथीहरुले अवसर चाहिँ लिनुभयो तर त्यसअनुसार काम नै गर्नु भएको छैन।सचिवालयको टिमबाट अपेक्षा गरिएको काम नहुँदा कमजोर भएको महसुस गर्नुभएको हुनसक्छ,’ उनले भने।

सचिवालयले प्रचण्डलाई ठीक ढंगले हिँडाउन नसकेको, सूचना संयन्त्रलाई व्यवस्थित प्रवाह गर्न नसकेको न्यौपानेको भनाइ छ।

एमालेसँग एकतापछि प्राप्त भएको दुई तिहाइ मत नजोगिएको, आगामी चुनावमा मतदातासमक्ष लिएर जाने स्पष्ट एजेन्डाको अभाव, खर्चिलो चुनाव प्रणालीलगायतका विषयले पनि उनको तनाव बढाएको छ। त्यस्तै, बिरामी पत्नीलाई समय दिन नपाएकाले पनि प्रचण्ड चिन्तित छन्। 

केन्द्रीय सदस्य राम कार्कीले प्रचण्डका अभिव्यक्तिलाई सैद्धान्तिक र व्यवहारिक पक्षबाट हेर्नुपर्ने बताए।

‘१५ वर्षदेखि पार्टीले लिएको लाइन र सामना गरिरहेको समस्याबारे नेताहरुले सही विश्लेषण नगरेको प्रचण्डको ठम्याइ होला,’ कार्कीले नेपालखबरसँग भने, ‘उहाँले विश्वास गरेर जसलाई नेतृत्वमा लग्नुभयो, उनीहरुले पार्टीको बारेमा सोचेनन्, गुट बलियो बनाउन लागे।’

पुष्पलाल र मोहनविक्रम सिंहजस्तै एक्लै परिने हो कि भन्ने पिर प्रचण्डलाई पर्न थालेको उनको भनाइ छ।

‘जनयुद्धकै कारण देशमा गणतन्त्र, संघीयता र समावेशी एजेन्डा स्थापित भएको छ, समाजवादउन्मुख व्यवस्था हुने भनेर संविधानमा लिपिबद्ध गरिएको छ। तर, यही कुरालाई आफूले हुर्काएका नेताले लागू नगर्दा एक्लै परिने अध्यक्षलाई परेको हुनसक्छ,’ कार्कीले भने।

उनको बुझाइमा प्रचण्डको अभिव्यक्तिको सार माओवादी केन्द्रमा चरम गुट रहेको र स्थायी समितिका सबै व्यक्तिगत गुट बलियो बनाउन केन्द्रित हुँदा पार्टी ध्वस्त भयो भन्ने नै हो।

‘प्रचण्डले विश्वास गरेर नेतृत्वमा लगेका नेताहरु पार्टीको बारेमा चिन्ता गर्दैनन्, नयाँ विचार ल्याउँदैनन्। फगत आफ्नो बारेमा चिन्ता गर्छन्, वैचारिक रुपमा पार्टी समस्यामा पर्न थालेपछि अध्यक्षलाई आघात परेको हो,’ उनले सुनाए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .