राजनीति


मेरा कुरा प्रचण्डलाई मन पर्यो, प्रचण्डका मलाईः ईश्वर पोखरेल

मेरा कुरा प्रचण्डलाई मन पर्यो, प्रचण्डका मलाईः ईश्वर पोखरेल

मणि दाहाल र सागर न्यौपाने
कात्तिक ९, २०७६ शनिबार १५:५०,

नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग हालै भएको भेटवार्तामा पार्टी एकता प्रक्रियादेखि कार्यविभाजनसम्म लामो छलफल भएको बताएका छन्।

कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले भेटको क्रममा आफुलाई अध्यक्ष प्रचण्डको विश्लेषण मन परेको र आफ्ना कतिपय कुरा प्रचण्डलाई मन परेको शनिबार नेपालखबरसँग अन्तर्वार्ताका क्रममा खुलाए।

एमाले र माओवादी केन्द्रबीच एकता भएको करिब दुई वर्षपछि संभवतः पहिलो पटक अध्यक्ष प्रचण्ड पोखरेललाई भेटन उनकै निवास पुगेका हुन्। यसअघि पार्टी सचिवालय सदस्य पोखरेल अध्यक्ष प्रचण्डका कतिपय कार्यशैली र राजनीकि अडानको विपक्षमा उभिँदै आएका थिए।

‘एकादशीका दिन अध्यक्ष प्रचण्ड मेरो निवासमा आउनु भयो, स्वाभाविक रुपमा पार्टीका नेताहरूबीच भेट हुँदा भैंसी र धानखेतको कुरा हुँदैन, राजनीतिक कुरा नै हुन्छ’, पोखरेलले पुरानै घुमाउरो शैलीमा भने, ‘अहिले हामी जुन ऐतिहासिक स्थानमा आएका छौं त्यसबारे अध्यक्ष कमरेडको विश्लेषण मलाई मन प¥यो। मैले थाहा पाएका कुरा गरें, उहाँलाई मन प¥यो।’ 

पोखरेलले भेटमा पार्टी एकता प्रक्रिया र अधिकार बाँडफाँटबारे भएका सबै कुरा खुलाएनन्। तर पार्टी एकता हुँदा र करिब एक महिनाअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर जानुअघि भएको भनिएका सहमतीबारे फेरि पनि फरक धारणा राखे।

‘पार्टीले कुनै पनि विषयलाई विधिवत रुपमा चिन्नुप¥यो अनि त्यसमा संस्थागत ढंगले निर्णय हुन्छ’, ओली र प्रचण्डबीच भएको भनिएको सहमतीबारे पोखरेलले भने, ‘दुई नेताहरूबीच समझदारी हुन्छ तर त्यसको समय, विधि, प्रक्रिया, सीमा र मर्यादा हुन्छ। त्यो डुक्रिँदै हिंड्नु पर्ने विषय होइन।’

पार्टी एउटा संस्था भएकाले दुई नेताबीच कुनै प्रकारको सहमति भएको भए त्यसलाई पार्टीले चिन्नु पर्ने उनले बताए।

‘दुई नेताबीच भद्र समझदारी हुन्छ, तर त्यसको समय, मर्यादा र सीमा हुन्छ’, पोखरेलले भने, ‘सार्वजनिक खपत वा दबाब सिर्जना गर्नका लागि भन्दै हिंड्ने विषय होइन त्यो।’

नेकपाले ‘जनताको जनवाद’ सिद्धान्त अंगिकार गरेपनि केही महिनाअघि ‘बहुदलीय जनवादको सिद्धान्तबाट यताउता हुन नसकिने’ अभिव्यक्ति दिएर उनी चर्चामा आएका थिए। पोखरेलले दुई पार्टीबीच एकता भएपनि ‘वैचारिक, सैद्धान्तिक र संगठनात्मक मिलाप हुन बाँकी रहेको’ बताए। तर फेरि छुट्टाछुट्टै पार्टीको प्रशंग अब झिक्न नहुने संकेत दिए।

‘मुग्लिङबाट अलि पर कालीगण्डकी र सेतीगण्डकी मिसिएर नारायणी नदी बनेको छ तर, अलि परसम्म नै फरक धार देखिन्छ’, पोखरेलले भने, ‘परसम्म कालो पानी र सेतो पानी देखियो भन्दैमा त्यसलाई कालीगण्डकी र सेतीगण्डकी भनिँदैन, नारायणी नदी नै भनिन्छ। अहिले नेकपा त्यस्तै हो।’

कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलसँग शनिबार नेपालखबरले गरेको विस्तृत वार्ता केही घण्टापछि प्रकाशित हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .