राजनीति


माधव, वामदेव र ईश्वरसँग भेटेपछि फेरियो प्रचण्ड रणनीति

माधव, वामदेव र ईश्वरसँग भेटेपछि फेरियो प्रचण्ड रणनीति

सागर न्यौपाने
कात्तिक ८, २०७६ शुक्रबार १२:४६,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा सबै नेताहरुलाई मिलाएर लैजाने गरी भेटघाट र छलफल तीव्र पार्ने भएका छन्।

पार्टी एकताका क्रममा भएको सहमति कार्यान्वयनमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आनाकानी गरेपछि नयाँ समीकरण बनाउन थालेको चर्चा चलेको दुई दिनमै त्यसबाट पछाडि हट्दै प्रचण्डले सचिवालयका सबैसँग मिलेरै अघि बढ्ने रणनीति लिएका हुन्।

‘नयाँ समीकरण बनाएर समस्या हल हुँदैन, विभाजन र फुट रोक्न समीकरण बनाउन हुँदैन’, प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले उनको भनाइ उद्धृत गर्दै नेपालखबरसँग भने, ‘तत्काल सबैसँग मिलेर जाने, सबैको कुरा सुन्ने तर, यही हो भनेर कदम नचाल्ने रणनीति अख्तियार गर्नुपर्छ।’

प्रधानमन्त्रीसँग बिहीबार वालुवाटारमा झण्डै दुईघण्टा भेट गरेपछि पनि अघिल्ला सहमति कार्यान्वयनको संकेत नपाएपछि अध्यक्ष प्रचण्डले यसअघिका रणनीति बदल्दै सबैसँग सम्बन्ध बिस्तार गर्ने भएका हुन्।

उक्त कुराको पुष्टि उनले शुक्रबार विराटनगरमा गएर गरे। पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले ‘पार्टी एकतामा दरार सृजना गर्ने वा कुनै न कुनै रुपले चलखेल भयो भने त्यसले समस्या ल्याउने’ बताए।

दशैँ लगत्तै नेकपाका सचिवालय सदस्य माधवकुमार नेपाल, वामदेव गौतम र ईश्वर पोखरेलसँग भेट गरेका प्रचण्डले त्यसपछि आफ्ना नजिकका केही नेताहरुसँग छलफल गरिरहेका छन्। असोज २८ मा पनि आफूनिकट केही नेताहरुसँग छलफल गरेका उनी अहिले निरन्तर छलफलमै छन्।

‘सबैसँगको भेटको निष्कर्ष भनेको पार्टी एकता गर्दा भएको सहमति कार्यान्वयमा जोड दिने नै हो, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले पेलेरै जान खोजे स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीमै छलफलका लागि पहल गर्नुपर्छ भन्ने सुझाव उहाँलाई दिएका छौं’, प्रचण्ड निकट स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले नेपालखबरसँग भने ।

पार्टीका सबै तह र तप्काका नेताहरुसँग सौहार्दपूर्ण सम्बन्ध राख्नुपर्ने आवश्यकतालाई ध्यान दिन दोस्रो तहका नेताहरुले सुझाव दिएपछि प्रचण्डले मिलेरै यसअघिका सहमति कार्यान्वयन गराउन दबाब दिने योजना बनाएका हुन् ।

पार्टी एकताका क्रममा २०७५ जेठ २ गते आलोपालो सरकार र पार्टीको नेतृत्व गर्ने लगायतको सहमति भएको थियो।

‘पूर्वसहमति पालना गर्ने समय आउँदैछ, अहिले नै सबैकुरा दिएन भन्नु ठिक हुँदैन। त्यही भएर अध्यक्ष प्रचण्डले सचिवालयका सबै नेताहरुसँग परामर्श गर्नुभएको छ’, नेता गजुरेलले भने।

शुक्रबार विराटनगरमा नेता–कार्यकर्तासँग जस्तोसुकै अवस्थामा पनि पार्टी एकता सुदृढ गराउने प्रचण्डको भनाइ थियो।

दुई अध्यक्षबीच पछिल्लो समय देखिएको विवाद र पार्टी एकता गर्दा भएको भनिएको सहमतिको विषयमा ‘तटस्थ बस्ने’ रणनीति माधव नेपालले बनाएपछि प्रचण्डले ‘सबैलाई मिलाएर’ जाने बताउन थालेका हुन्।

नेता गजुरेल यसअघि भएका सहमति कार्यान्वयन हुनुपर्ने अडानबाट प्रचण्ड ‘ब्याक’ नभएको बताउँछन्। तर, ती सहमति विवाद गरेर होइन, मिलेर जाँदा मात्रै कार्यान्वयन हुने निष्कर्षमा प्रचण्ड पुगेको गजुरेलको भनाइ छ।

कात्तिकको पहिलो साता केही दैनिक पत्रिकालाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले प्रचण्डको गतिविधिप्रति तीव्र रोष प्रकट गरेका थिए। त्यसपछि प्रधानमन्त्री ओलीबाट यसअघि बनेका पूर्वसहमति कार्यान्वयन हुने सम्भावना कम देखेपछि प्रचण्डले नेपाल, गौतम र पोखरेलसँग पालैपालो परामर्श गरेर नयाँ सन्देश दिन खोजे।

असोज २२ गते सचिवालय सदस्य पोखरेललाई उनकै निवास धापासी पुगेर भेट गरेका प्रचण्डले कात्तिक ४ गते साँझ नेता नेपाललाई खुमलटार बोलाएर छलफल गरे।

‘अध्यक्ष भएपछि अन्य नेतासँग भेट गर्नैपर्छ। तर, त्यो भेट नयाँ समीकरण बनाउन लक्षित होइन’, गजुरेलको दाबी छ, ‘कसैलाई एक्ल्याउने योजना बनाउँदा पार्टी दुर्घटनातिर जाने खतरा हुन्छ, त्यसलाई अध्यक्षले बुझनु भएको छ।’

प्रधानमन्त्री ओलीकै कारण एकताको वातावरण बिग्रँदै गएको भए पनि त्यसलाई मिलाउन प्रचण्ड सक्रिय रहेको अर्का स्थायी कमिटी सदस्यले दाबी गरे। उनले पार्टी एकताको सन्देश सबैतिर पुर्याउन र सबै कमिटीमा हुनसक्ने भ्रम चिर्न प्रचण्ड प्रयासरत रहेको दाबी गरे।

नेकपामा लामो समयदेखि स्थायी कमिटी बैठक बसेको छैन, जसकारण अध्यक्षद्वयबीचमा देखिएका विवाद बारेमा छलफल हुन पाएको छैन। प्रचण्डको अबको ध्यान भनेको कार्यशैलीका विषयमा देखिएका समस्यालाई बृहत छलफलबाट टुंग्याउनु रहेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad