राजनीति


कांग्रेस अधिवेशन : प्रदेश १ का दुई उपमहानगरमा पौडेल पक्षको बर्चस्व

कांग्रेस अधिवेशन : प्रदेश १ का दुई उपमहानगरमा पौडेल पक्षको बर्चस्व

कृष्ण बहाब
असोज १०, २०७८ आइतबार १२:४, सुनसरी

इटहरी : नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि प्रदेश १ का दुई उपमहानगरपालिकामा शनिबार सम्पन्न अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष हावी भएको छ।

प्रदेश १ का धरान उपमहानगर र इटहरीको नगर अधिवेशनमा देउवा पक्ष हराउँदै पौडेल पक्षले जित निकालेको हो।

इटहरीमा पौडेल पक्षका नेता हेमकर्ण पौडेल नगर सभापतिमा विजयी भएका छन्। उता धरान उपमहानगरमा पनि पौडेल पक्षकै श्याम पोखरेल निर्वाचित भएका छन्। 

पौडेल र पोखरेल दुवै संस्थापन इतर समूहबाट निर्वाचित भएका हुन्। इटहरीबाट निर्वाचित पौडेलको यो तेस्रो कार्यकाल हो। 

१३ औँ महाधिवेशनमा देउवा पक्षका विकास केसीलाई हराएका पौडेलको यो पटक पनि उनैलाई पराजित गर्न सफल भए।

आइतबार बिहान सम्पन्न मत गणनाअनुसार नगर सभापतिमा पौडेलले केसीलाई ४२ मतले पराजित गरेका हुन्। निर्वाचनमा ४८२ मत खसेको थियो। जसमा पौडेलले २५३ मत प्राप्त गरे। 

त्यसैगरि पौडेल समूहबाटै उपसभापतिमा कोविद कार्की र सचिवमा विक्रम घिमिरे निर्वाचित भएका छन्। इटहरी नगर समितिमा ३१ पदका लागि ६७ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए।

देउवा पक्ष कमजोर मानिने इटहरीमा ७ पदाधिकारीमध्ये तीनजना भने संस्थापनकै निर्वाचित भएका छन्। देउवा पक्षबाट उपसभापतिमा बालकृष्ण विष्ट , सचिवमा मन्दीप भट्टराई र सह-सचिवमा मेनुका गिरिले  विजय हासिल गरेका छन्। 

धरानमा पौडेल पक्षको प्यानल!

प्रदेश १ कै अर्को उपमहानगर धरानमा पौडेल पक्षको प्यानल नै जितेको छ। पौडेल पक्षका श्याम पोखरेलले सभापति शेरबहादुर देउवानिकट किशोर राईलाई पराजित गरेका हुन। देउवा लाइनबाट सभापतिका उम्मेदवार राई एन्फाका वरिष्ठ केन्द्रीय उपाध्यक्षसमेत हुन्। 

धरान नगरको निर्वाचनमा राई र पोखरेलले प्यानल नै खडा गरेर मैदानमा उत्रिएका थिए। अन्तिम मत परिणाममा पौडेल समूहका पोखरेलले ३९ मतले राईलाई पराजित गरेका छन्। पोखरेलले २६२ र राईले २२३ मत प्राप्त गरेका छन्। 

उपसभापतिमा नरेन्द्र कुमार राई (प्रवीण) ले २९० र सन्तोष लिम्बूले २२३ मत ल्याएर विजयी भएका छन्। राई प्यानलका महेन्द्र तामाङले १८३ र राजकुमार थोप्राले २१८ मत प्राप्त गरे। 

नगर सचिवमा पोखरेल प्यानलकै उम्मेदवार जितेन्द्र राईले २५९ र हिमाल श्रेष्ठले २९६ मत ल्याएका छन्। राई प्यानलकी रुक्मणि गौतम (कोपिला) ले १९५ र सुमन श्रेष्ठले १७१ मत प्राप्त गरे।

सहसचिवमा युनेश रानाले ३०२ र शिला बज्राचार्यले २७१ मत प्राप्त गर्दा पराजित राई प्यानलकी कमला रुचालले १७४ र गोपाल कार्कीले १८१ मत प्राप्त गरेका छन्।

२० वटा वडा रहेको धरानमा पोखरेल र राई वडा नम्बर १२ बाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका थिए। उनीहरुबीच वडामै एक अर्कालाई रोक्ने गरी प्यानलमै प्रतिष्पर्धा भइसकेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .