राजनीति


वडाध्यक्षलाई मन्त्रीले कुटेको भन्दै विरोधमा पौडेल समूह, सानेपामा धर्ना

वडाध्यक्षलाई मन्त्रीले कुटेको भन्दै विरोधमा पौडेल समूह, सानेपामा धर्ना

नेपालखबर
असोज ७, २०७८ बिहिबार १३:३३, काठमाडौँ


महाधिवेशन नजिक आउँदै गर्दा सत्तारुढ नेपाली कांग्रेस एकपछि अर्को विवादमा फस्दै गएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेकालाई मन्त्रीले कुटपिट गरेको भन्दै संस्थापनइतर समूह विरोधमा उत्रिएको हो। 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले नेता डा. अमरेशकुमार सिंहको नेतृत्वमा बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ। उक्त धर्ना कार्यक्रममा अहिलेसम्म नेताहरु प्रकाशमान सिंह र डा. शेखर कोइराला पुगेका छन्।

धर्ना कार्यक्रमलाई नेता सिंहले सम्बोधन गरेका छन्। अर्का नेता प्रकाशमान सिंह धर्ना कार्यक्रममा केही बेर समर्थन जनाएर फर्किएका छन्। उक्त धर्ना कार्यक्रममा वरिष्ठ नेता पौडेल पनि पुग्ने कार्यक्रम छ। 

प्रदेश २ का युवा तथा खेलकुद एवम् महिला बालबालिका मन्त्री वीरेन्द्र प्रसाद सिंहले सर्लाहीको बरहथवा नगरपालिका-४ का वडाध्यक्ष लाखिन्द्र महतोलाई सानेपामै कुटपिट गरेको आरोप लागेको छ। यी दुईजनाबीच क्रियाशील सदस्यताबारे विवाद बढेको थियो।

उक्त कुटपिटको भिडियो पनि भाइरल भएपछि कांग्रेसका संस्थापन इतर नेता आक्रोशित छन्। सुरुमा भनाभन भएको केही बेरमै दुई पक्षबीच सानेपामै धकेलाधकेल र कुटाकुट भएको बताइएको छ। 

नेता अमरेश सिंहको गृहजिल्ला सर्लाही क्षेत्र नम्बर–४ को क्रियाशील सदस्यता विवाद अझै मिलेको छैन। क्षेत्रीय सभापति रामआश्रेय साहले मन्त्री सिंहको निर्देशन मानेर अर्को पक्षलाई छुटाएपछि विवाद बढेको हो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .