राजनीति


माधव कमरेडले सपनामा पनि एमाले नै देख्नुहुन्छ, फर्किनु हुन्छ : योगेश भट्टराई

माधव कमरेडले सपनामा पनि एमाले नै देख्नुहुन्छ, फर्किनु हुन्छ : योगेश भट्टराई

नेपालखबर
असोज १, २०७८ शुक्रबार ११:१७, काठमाडौँ

नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी विभाजन गर्नेहरु एमालेमै फर्किने दावी गरेका छन्।

पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले अहिले पनि विभाजनमा लागेकाहरूको मनमा एमाले नै रहेकोले मुल पार्टीमा फर्किने दाबी गरे। 

‘जो विभाजन लाग्नुभयो, उहाँहरुमा टिप्पणी छैन। धेरै नेता कार्यकर्ताको मनमा एमाले नै छ। अब माधव कमरेडले सपना देख्दा पनि एमाले नै देख्नुहुन्छ। उहाँलाई होम सिक जस्तै एमाले सिक हुन्छ। उहाँ यतै आउनुहुन्छ,’ भट्टराई भन्छन्, ‘उहाँ एमालेमा फर्किनुको विकल्प छैन। असफल प्रयत्नतिर नजाऔँ। त्यसले कुनै शक्ति आर्जन गर्न सक्दैन, कम्युनिस्ट आन्दोलनलाई विभाजन गर्ने बाहेक कुनै काम छैन।’

पार्टी पंक्ति र नेताहरुको सुझबुझका कारण विभाजनको असर खासै नपरेको उनले सुनाए। ‘जे कोसिस गर्‍यौँ। यसले विभाजनको असर निकै कम भयो। जति तल गयो, विभाजनको असर उति कम भयो,’ उनले भने, ‘पार्टी विभाजन गर्नु हुन्न भन्ने एकताको पक्षधर साथीहरु एकजुट हुनुभयो। अझै अत्यन्त मेहनत गर्छौं। जहाँ घाटा लागेको छ, त्यसको पूर्ति गर्नुपर्छ।’

कांग्रेस र माओवादीका कार्यकर्ता तानेर एमालेको क्षति पूर्ण गर्ने उनको भनाइ छ। ‘माओवादीका तल्लो तह निराश छन्। हामीले उनीहरुलाई एमालेमा आउन अपिल गरौं,’ उनले भने, ‘कांग्रेसका साथीहरुलाई पनि भनौँ। हिजो भोट नहालेकाहरुलाई पनि एमालेमा आकर्षित गरौँ।’

भट्टराईले कांग्रेसले देशलाई विकल्प दिन नसक्ने भन्दै एमालेले बहुमत ल्याउने दावी गरे। ‘आगामी चुनावमा पनि कांग्रेसले बहुमत ल्याउन सक्दैन। किनकी उसले कुनै विकल्प दिन सक्दैन,’ उनी भन्छन्, ‘बहुमत ल्याउन सक्ने तागत एमालेसँग छ। राजनीतिक स्थायित्व र विकासका लागि एमालेको बहुमत अनिवार्य छ।’ विभाजनमा लागेका नेता कार्यकर्ताहरूलाई मुल घरमै फर्किन उनको आग्रह छ।

उनले एमालेकै नेतृत्वमा आगामी निर्वाचन हुने दावी गरेका छन्। अहिलेको सरकार असफल भएको भन्दै उनले एमालेको नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने बताए।

उनले एमसीसीको बारेमा सत्तारुढ दलको धारणा स्पष्ट गर्न आग्रह गरे। ‘एमसीसीको बारेमा सत्तारुढ दलको धारणा के हो? कांग्रेस, माओवादी र एकीकृत समाजवादीको धारणा के हो ? उहाँहरुको संसदीय दलले पास गरेको कहाँ छ?,’ भट्टराईले भने, ‘धारणा स्पष्ट गर्नुस्। एमसीसी के गर्ने हो?’

सरकारका कारण बजेट होल्ड भएको र यसले आर्थिक तथा वित्तीय अनुशासन ध्वस्त भएको उनको तर्क छ। २ महिना बितिसक्दा पनि सरकारलाई पूर्णता दिन नसक्नु अहिलेको गठबन्धनको असक्षम कदम भएको भट्टराईको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad