राजनीति


एमालेद्वारा बहिष्कार सभामुखको सर्वदलीय बैठकमा कसले के भने?

ओलीसँग वार्ता गर्न खोज्दा सम्पर्क हुनै सकेन : सभामुख
एमालेद्वारा बहिष्कार सभामुखको सर्वदलीय बैठकमा कसले के भने?

नेपालखबर
भदौ २८, २०७८ सोमबार २२:४, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकार वार्ता, छलफल र सहमतिका लागि तयार रहेको बताएका छन् । 

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार डाकेको सर्वदलीय बैठकमा देउवाले यस्तो बताएका हुन्। 

देउवाले सदनमा विपक्षीको सम्मान जरुरी रहेको बताउँदै द्वन्द्वको विकल्पमा जानुपर्ने भएकाले वार्ता, छलफल र सहमतिका लागि गठबन्धन तयार रहेको बताएका हुन्। 

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवादबाट समाधान खोज्नुपर्ने बताए।

उनले पनि प्रमुख प्रतिपक्षी दल एमालेलाई छलफल र संवादमा आउन अनुरोध गरेका छन्। 

दाहालले एमालेले दायर गरेको रिटमा अदालतको फैसला नआएको पनि स्मरण गराए।

 निर्वाचन आयोगबाट निर्णय आएको सन्दर्भमा आआफ्नो दृष्टिकोण हुने भन्दै छलफल र सहमतिमा सभालाई संचालन गर्नुको विकल्प नभएको उनले बताए। 

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्ष जिम्मेवार नभएको औँल्याए।

उनले प्रतिनिधिसभाप्रति पूर्वाग्रह नराख्न र लोकतान्त्रिक संस्कार प्रदर्शन गर्न एमालेलाई अनुरोध गरेका छन्।

अध्यक्ष नेपालले  संविधानको धारा ७६ (५) अन्तर्गत अदालतको फैसलाअनुसार पनि दल त्याग आकर्षित नहुने जिकिर गरे। 

विधि पुर्‍याएर आफ्नो पार्टी दर्ता भएको अवस्थामा अदालत र निर्वाचन आयोगको विरोध गर्नुको कुनै अर्थ नभएको जिकिर नेपालले गरेका छन्। 

मानवीय आवेग विस्तारै कम हुँदै जाने भन्दै असहमतिबीच सहमति खोजेर अघि बढ्न र संवाद जारी राख्न उनले सुझाव दिएका छन्। 

बैठकमा सभामुख सापकोटाले आफूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्पर्क गर्न प्रयत्न गरेको बताए।

तर धेरै प्रयास गर्दा पनि सम्पर्क सम्भव नभएको जानकारी गराए। उनले ओलीको हटलाइन नम्बरमा सम्पर्क गर्दा पनि ओलीसँग संवाद हुन नसकेको दाबी गरे।

आफू वार्ता र छलफलबाट समस्या समाधान हुने कुरामा विश्वस्त रहेको पनि सापकोटाले बताए। 

सोमबारको बैठकबाट थप ऊर्जा र प्रेरणा मिलेको पनि उनले बताए। सभामुख सापकोटाले आगामी दिनमा संवाद र सहमतिका लागि प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे। 

उनले देश र जनताको अधिकतम हित, संविधानको रक्षा र संसदको गरिमालाई उँचो राख्न आफूले निष्ठाका साथ लाग्ने बताए।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रमुख प्रतिपक्षले संसद्को पक्षमा आफू रहेको कुरा पुष्टि गर्न पनि समझदारीमा आउनुपर्ने बताए। 

उनले हिजो संसद विघटन गर्ने आज संसद अवरोध गर्ने एउटै दल भएकाले प्रतिपक्षी दललाई यो संसदको पक्षमा नभएको देखिएको बताए  

लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष महन्थ ठाकुरले विगतमा पनि ५९ दिन सदन अवरुद्ध भएको बताउँदै छलफलबाट संचालन भएको स्मरण गराए।

प्रमुख प्रतिपक्ष दललाई विश्वासमा लिएर अघि बढ्न पनि उनले सरकार र सभामुखलाई सुझाव दिए।

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको असहमतिका कारण उत्पन्न गतिरोध अन्त्य गरी सदन संचालन गर्न र विधायकी कार्य अघि बढाउने उद्देश्यले सभामुखले सर्वदलीय बैठक राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .