ad ad

राजनीति


एकीकृत समाजवादी प्रदेश २ सरकारमा दुई मन्त्रालयसहित सहभागी हुने

एकीकृत समाजवादी प्रदेश २ सरकारमा दुई मन्त्रालयसहित सहभागी हुने

शैलेन्द्र महतो
भदौ २५, २०७८ शुक्रबार २०:६, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) पार्टी दुई मन्त्रालयसहित प्रदेश २ सरकारमा सहभागी हुने भएको छ। 

माधवकुमार नेपाल नेतृत्वको नवगठित एकीकृत समाजवादी दुई मन्त्रालयसहित सरकारमा सहभागी हुने तयारी गरेको सो पार्टीका सांसद शत्रुधन महतोले जानकारी दिए। तर राजनीतिक दल सम्बन्धी अध्यादेश संशोधन पश्चात् मात्र सरकारमा सहभागी हुने उनले बताए। 

मन्त्रालयको विषयमा सरकारसँग टुंगो भने नलागेको उनले बताए।  एकीकृत समाजवादी अर्थसहित दुई मन्त्रालय दिनुपर्ने अडानमा छ। 

तर मुख्यमन्त्री लालबाबु राउत कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा ल्याउन केही मन्त्रालय फुटाएर बनाएको १० मन्त्रालय मध्येका बाँकी राखेको दुई मन्त्रालय दिएर नेकपा (एस)लाई ल्याउने कसरतमा छन्। मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार अब मुख्यमन्त्री राउतसँग कानुन न्याय तथा प्रदेश मामिला र वाणिज्य आपुर्ति तथा विज्ञान प्रविधि मन्त्रालय बाँकी छ।

यी दुई मन्त्रालय त्यति महत्त्वपूर्ण नभएकाले हाल जसपाकै भागमा रहेको चार महत्त्वपूर्ण मध्येबाट एउटा मन्त्रालय दिन एकीकृत समाजवादीले ‘वार्गेनिङ’ गरिरहेको छ।

‘पार्टी सरकारमा सहभागी हुन्छ भने कमसेकम एउटा महत्त्वपूर्ण मन्त्रालयसहित दुई मन्त्रालय दिनुपर्ने हाम्रो माग छ’ सांसद महतोले नेपालखबरसँग भने ‘राजनीतिक दल सम्बन्धी अध्यादेश संशोधन भए लगतै हामी सरकारमा जान्छौं। तबसम्म मन्त्रालयको टुंगो समेत लागिसक्छ। हाम्रो पार्टी भित्र सरकारमा सहभागी हुने विषयमा गृहकार्य हुँदैछ।’

नेकपा एमालेबाट विभाजित भएर एकीकृत समाजवादी गठन भएपछि एमालेका २१ मध्ये १३ सांसद नेपालतिर लागेका हुन्। प्रदेश सांसदहरू गोविन्द बहादुर न्यौपाने, प्रमोद यादव, अशोक यादव, मदन जैन श्रीवास्तव, शत्रुधन महतो, मञ्जु यादव, बेची लुंगेली, डिल्लीप्रसाद उप्रेती, रवीन्द्र बैठा, खुसिमा खातुन, नागेन्द्र यादव, सुन्दर विश्वकर्मा र सीता गुरुङ एकीकृत समाजवादीमा छन्।

प्रदेश सांसद शत्रुधन महतोको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी भएको एकीकृत समाजवादी स्रोतले जनाएको छ।

 प्रदेश २ मा जनता समाजवादी नेतृत्वको सरकार रहेको छ। पछिल्लो राजनीतिक घटनाक्रममा तत्कालीन जसपाकै अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री  ओलीसित संघीय सरकारमा गएपछि प्रदेशमा उनको पक्षका मन्त्री र राज्यमन्त्रीलाई मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका थिए। 

केन्द्रमा बनेको पाँच दलीय गठबन्धनको हिसाबले प्रदेश २ सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी र तत्कालीन नेकपा (एमाले) माधव पक्षलाई समावेश गराउन लालबाबु राउतले ६ मन्त्रालय फोडेर १० मन्त्रालय बनाएका थिए। त्यतिबेला दलभित्रको विवादले माधव पक्ष सरकारमा सहभागी हुन सकेको थिएन। कांग्रेस तीन मन्त्रालयसहित जेठ २६ गते र माओवादी केन्द्र एक मन्त्रालयसहित साउन २ गते सरकारमा सहभागी भएका थिए।

माधव नेपाल पक्ष भने पार्टी विवादका कारण सरकारमा सहभागी भएको थिएन। यद्यपी नेपाल पक्षका नेताहरूले पार्टी विवाद समाधान हुनेबित्तिकै सरकारमा सहभागी हुने बताउँदै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .