ad ad

राजनीति


को बन्ला सुदूरपश्चिममा एकीकृत समाजवादीको इन्चार्ज?

को बन्ला सुदूरपश्चिममा एकीकृत समाजवादीको इन्चार्ज?

गोकुल जोशी
भदौ २१, २०७८ सोमबार १८:२, काठमाडौँ

सुदूरपश्चिम प्रदेशमा माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी नेतृत्वविहीन अवस्थामा रहेको छ।

एमालेबाट अलग भएर नेपालले भदौ ९ गते निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेका थिए। तत्काल पार्टी संगठनको काम अघि बढाउन सुदूरपश्चिम बाहेक अन्य प्रदेशमा इन्चार्ज तोकिएका छन्।

यद्यपी एकीकृत समाजवादीले पार्टी दर्ता गरेको दुई साता बितिसक्दा पनि अझै सुदूरपश्चिम प्रदेशको नेतृत्व चयन गर्न बाँकी छ।

नेकपा एकीकृत समाजवादीले जारी गरेको अन्तर पार्टी निर्देशन अनुसार प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ प्रसाद शाह, वागमती प्रदेशमा केदार न्यौपाने, गण्डकी प्रदेशमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वाला इन्चार्ज तोकिएका छन्।

प्रदेश पार्टीको कामलाई संयोजन गर्न अन्य प्रदेशमा इन्चार्ज तोकिए पनि सुदूरपश्चिम प्रदेशका लागि भने समाजवादीले इन्चार्ज तोक्न सकेको छैन। अध्यक्ष माधव कुमार नेपालद्वारा जारी अन्तर पार्टी निर्देशनमा सुदूरपश्चिमको इन्चार्ज पछि तोकिने उल्लेख गरिएको छ। 

प्रदेशको इन्चार्जमा धेरैले आकांक्षा देखाएकोले अहिले नै इन्चार्ज तोक्दा असन्तुष्टि बढेर जनप्रतिनिधिहरु भड्किने डरमा तत्काल इन्चार्ज नतोकिएको हुनसक्ने सुदूरपश्चिमका एकीकृत समाजवादीका नेताहरु बताउँछन्।

‘जनप्रतिनिधिहरुले सनाखत गरिसकेका छैनन्। इन्चार्जका लागि धेरै साथीहरुले इच्छा देखाएका छन्’ समाजवादीका एक नेताले नेपालखबरसँग भने, ‘सनाखतपूर्व इन्चार्ज तोक्दा असन्तुष्ट हुने र यसले उनी निकट जनप्रतिनिधिहरूमा प्रभाव पार्ने देखिन्छ। त्यसै कारणले अहिले इन्चार्ज नतोकिएको हुनसक्छ।’

एकीकृत समाजवादीमा सनाखत गर्ने समयसीमा सकिएपछि प्रदेश इन्चार्ज तोकिने ती नेताको दाबी छ। निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्म दल रोज्ने समय दिएको छ।

नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको इन्चार्जमा आधा दर्जन बढी नेताले आकांक्षा देखाएका छन्।

प्रदेश इन्चार्जको लागि गरिमा शाह, विक्रम शाही, रामकुमार ज्ञवाली, उर्वादत्त पन्त, प्रेम आले, दीर्घ सोडारी, तारालामा तामाङ लगायतले लबिङ गरिरहेका छन्।

प्रदेश इन्चार्जको लागि चर्चामा रहेकी गरिमा शाह कैलालीकी हुन्। उनी एमालेमा छँदा केन्द्रीय सदस्य थिइन्। 

विक्रम शाहीलाई पनि सम्भावित एकीकृत समाजवादी सुदूरपश्चिम इन्चार्जका रुपमा हेरिएको छ।  शाही एमालेका केन्द्रीय सदस्य थिए। एमाले विभाजनमा उनले एकीकृत समाजवादी  रोजेका छन्। उनले एमाले कञ्चनपुरको इन्चार्जको जिम्मेवारीसमेत सम्हालेका थिए। 

यस्तै राम कुमार ज्ञवाली पनि एमालेका केन्द्रीय सदस्य थिए। उनी पनि प्रदेश इन्चार्जको आकांक्षी हुन्।

यसैगरी प्रदेश इन्चार्जका अर्का आकांक्षी कञ्चनपुरका नेता उर्वादत्त पन्त एमाले महाकाली इन्चार्जको जिम्मेवारीसमेत सम्हालिसकेका नेता हुन्। 

संघीय सांसद  तथा पूर्ववनमन्त्री प्रेम आलेलाई पनि प्रदेश इन्चार्जको आकांक्षीका रुपमा हेरिएको छ।

दीर्घ सोडारी सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पनि हुन्। उनी एमालेका प्रदेश सांसदलाई एकीकृत समाजवादीमा तान्न नेतृत्वदायी भूमिमा खेलिरहेका छन्।

सुदूरपश्चिम प्रदेश सांसद समेत रहेका तारा लामा तामाङ एमाले कञ्चनपुरका अध्यक्ष थिए। आइतवार एकीकृत समाजवादीमा उनले सनाखत गरेका छन्। एमाले सुदूरपश्चिमको प्रमुख सचेतकको जिम्मेवारी सम्हालिसकेका तामाङलाई पनि प्रदेश इन्चार्जको आकांक्षीका रुपमा हेरिएको छ।

यीमध्ये एक जनाले सुदूरपश्चिममा एकीकृत समाजवादी पार्टीको नेतृत्व सम्हाल्ने छन्। एमाले सुदूरपश्चिमका इन्चार्ज डा. भीम रावलले विभाजनमा माधव समूहको साथ छाडेर संस्थापनमै रहेपछि एकीकृत समाजवादीले सुदूरपश्चिममा नयाँ अनुहारलाई नेतृत्वमा ल्याउनु परेको हो।

प्रदेश इन्चार्जको लागि पार्टीमा छलफल भइरहेकाले अहिले नै को इन्चार्ज हुने भनेर स्पष्ट नभइसकेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी बताउँछिन्।

‘प्रदेश इन्चार्जका लागि पार्टी केन्द्रमा छलफल भइरहेको छ। प्रदेश सांसद जसरी नै अन्य नेता साथीहरु पनि हामीसँग आउने क्रम जारी रहेको  छ’ उनले नेपालखबरसँग भनिन्, ‘त्यसैले अहिले नै इन्चार्ज नतोकिएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .