नवगठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूलाई केपी शर्मा ओलीका मान्छेले क्रिश्चियन भनेर प्रचार गरिदिएको गुनासो गरेका छन्।
पेशागत महासंघ नेपाल, बागमती प्रदेशद्वारा शनिबार आयोजित ललितपुर जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका क्रममा नेपालले यस्तो बताएका हुन्।
उनले आफूले पशुपति क्षेत्र विकास कोषमा कुनै पनि क्रिश्चियन संस्थाको मानिसलाई लैजान खोजेको कुरा पनि अफवाह मात्रै भएको बताएका छन्।
'माधव नेपालले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा क्रिश्चियन लान खोज्दैछ भनेर हल्ला गराएछन्', उनले भने, 'अस्ति एउटा मित्र आएका थिए, जो धर्म गुरु पनि हुन्। उनले समेत म क्रिश्चियन भइसकेको भनेर सोधीखोजी गरे।'
आफूले रक्षा बन्धन बाँधेको देखेर उनले क्रिश्चियनले पनि यो लाउँछन् भनेर सोधेको नेपालले गुनासो गरे। 'मेरो हातमा रक्षा बन्धन देखेर तपाईं त क्रिश्चियन भनेको त होइन रहेछ', भेटमा ती धर्म गुरुसँगको कुराबारे उनले भने, 'अनि उनले यज्ञोपवित पनि होला भनेर जिज्ञासा राखे। मैले पनि पण्डित आएका थिए जनै र रक्षा बन्धन पनि लगाइदिए भनेँ। केपी ओलीका मान्छेले नै मलाई क्रिश्चियन भनेर प्रचार गरिदिएछन्।'
उनले ओलीका मान्छेले गोयबल्स शैलीमा प्रचार गरेको पनि उनले बताए। 'तिनीहरुको काम नै यस्तै छ, गोयबल्स शैलीमा प्रचार गर्छन्। यस्ता प्रवृत्ति बोक्नेहरू क्रान्तिकारी हुन सक्दैनन्', उनले भने, 'केपी ओली सुध्रिएर राम्रो बाटोमा आउने लक्षण नै छैन।'
उनले आफूहरु नयाँ पार्टी निर्माण अभियानमा होमिएको पनि बताए। 'हामी नयाँ पार्टी अभियानमा छौँ। नयाँ बनाउँदै जाने होइन, तलबाट बनि नै सकेको छ', उनले भने, 'यो जगमा हामीले भवन बनाइरहेका छौँ। यो भवनले तपाईं हामी सबैको सुन्दर भविष्य कोर्नेछ।'
Shares
प्रतिक्रिया