नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकको गृहजिल्ला कञ्चनपुरको एक नगरपालिकाका नगर कार्यसमिति सचिवको क्रियाशील सदस्यता नवीकरण छुटेको छ।
कृष्णपुर नगरपालिका स्तरीय कांग्रेसको नगरकार्यसमितिका सचिव कैलाशबहादुर बलायरको क्रियाशील सदस्यता नवीकरण नभएको हो।
केन्द्रीय निर्वाचन समितिले पार्टीको वेवसाइटमा प्रकाशित गरेको क्रियाशील सदस्यताको सूचीमा आफ्नो नाम समावेश नगरिएको उनले जानकारी दिए।
बलायरकाअनुसार उनको वडा का ११ जना अन्य क्रियाशील सदस्यहरुको पनि सदस्यता नवीकरण गरिएको छैन।
नगर सचिव बलायरसहित १२ जनाको क्रियाशील सदस्यता नवीकरण नगरिएको भन्दै वडा नम्बर ९ को वडा कार्यसमितिले भदौ १८ गते हुन गइरहेको वडा अधिवेशन नगर्ने निर्णय गरेको छ।
शनिबार बसेको वडा कार्यसमितिको बैठकले छुटेका क्रियाशील सदस्यहरुको सदस्यता नवीकरण नभएसम्म वडा अधिवेशन नगर्ने निर्णय गरेको कांग्रेस कञ्चनपुरका सहसचिव लेखराज जोशीले जानकारी दिए।
कांग्रेसले अहिलेसम्म १४ औं महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका कञ्चनपुरसहितका ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली पार्टीको वेवसाइटमा प्रकाशित गरेको छ।
Shares

प्रतिक्रिया