राजनीति


वामदेवलाई कुर्दै माधव नेपाल

वामदेवलाई कुर्दै माधव नेपाल

सागर न्यौपाने
भदौ ११, २०७८ शुक्रबार २०:१३, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एमाले उपाध्यक्ष वामदेव गौतमको पखाईमा छन्।

सरकारमा जाने निर्णय र पार्टी पदाधिकारी चयनका लागि अध्यक्ष नेपाल गौतमको पर्खाइमा बसेका हुन्। 

हालसम्म एमाले र समाजवादी पार्टी दुवैतर्फ नखुलेर हालसम्म अनिर्णित गौतमलाई भित्र्याएर शक्ति बढाउने योजनामा नेपाल रहेको उनीनिकट एक नेताले बताए।

यदि नेपालले चाहेअनुसार समाजवादीमा आएमा गौतम तेस्रो वरीयताका नेता हुनेछन्।

समाजवादी पार्टीमा अध्यक्ष नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्यहरु मुकुन्द न्यौपाने, बेदुराम भुसाल र प्रमेश हमाल रहेको ५ सदस्यीय हाइकमाण्ड बनेको छ।

नेता गौतमसँग अहिले २ जना प्रतिनिधि सभाका सांसद छन्। उनी आफैँ राष्ट्रियसभा सदस्य हुन्। त्यसबाहेक केही केन्द्रीय सदस्यको साथ पनि उनलाई छ। 

एमालेमै रहने बताएर पनि गौतम पछिल्ला स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा गएका छैनन्। उनले ओलीसँग सहकार्य र अन्तरसंघर्ष नसकिने पनि बताइरहेका छन्। 

ओलीसँगको मतभेदकै कारण उनी एकीकृत समाजवादी पार्टीमा खुल्ने चर्चा छ।

‘वामदेव कमरेडले अहिलेसम्म एमालेमा रहेर अध्यक्ष ओलीसँग अन्तरसंघर्ष गर्न नसक्ने बताउनुभएको छ, उहाँको मुड परिवर्तन भएको छैन,’ उनीनिकट एक नेताले भने, ‘अन्य परिस्थिति बदलिएन भने नयाँ पार्टीलाई साथ दिएर जाने निश्चितजस्तै छ।’

उता गौतमसँग आउने नेताहरुको संख्या हेरेर मात्र पदाधिकारीको टुंगो लगाउने योजनामा रहेका अध्यक्ष नेपालले सरकारमा पठाउने नेताहरुको निर्णय पनि त्यही आधारमा गर्न चाहेका छन्।

अहिले अध्यक्ष नेपालसहितको ५ सदस्यीय हाइकमाण्ड बनाइएको छ। सरकारमा जानेदेखि पार्टी अघि बढाउने काम त्यही कमाण्डले तय गर्छ। 

भदौ ९ गते निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएको नेपाल नेतृत्वको समाजवादी पार्टीमा राष्ट्रिय सभा सदस्य समेत गरेर ३० सांसद छन्। संसदको सिट संख्याका आधारमा यो पार्टी चौथो ठूलो दल हो। 

सरकारमा सहभागिता लगायत विषयमा छलफल गर्न यस पार्टीले आइतबार संसदीय दलको बैठक बोलाएको छ। 

‘पर्सि आइतबार नयाँ दलको संसदीय दलको बैठक बोलाइएको छ, सरकारमा सहभागिता, दलको नेता चयन, प्रमुख सचेतक र सचेतक त्यही बैठकले तोक्छौं,’ एक नेताले भने।

सरकारमा सहभागी हुने मन्त्रीहरुलाई आचारसंहिता लगाउने निर्माण गरेर त्यही दिन नामसमेत टुंग्याउन सक्ने ती नेताले बताए। 

गौतमको आशा

अझै पनि अध्यक्ष नेपाल पनि गौतम आफ्नै पार्टीमा आउने विश्वासमा छन्। 

यदि त्यस्तो भएमा उनलाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेर पठाउन सकिनेबारे छलफलमा छन्। तर, उनी समाजवादी पार्टीमा खुल्ने/नखुल्ने निश्चित छैन।

‘अहिले वामदेव गौतम कमरेडको मुभ हेरिरहेका छौं,’ समाजवादी पार्टीका एक उच्च तहका नेताले नेपालखबरसँग भने, ‘हाम्रो पार्टीमा खुल्नुभएमा उहाँकै नेतृत्वमा सरकारमा जानेबारे निर्णय हुन्छ।’

गौतम आफूनिकट नेताहरुसँग छलफलमै छन्। शुक्रबार पनि उनी केही नेतासँग पछिल्लो राजनीतिक अवस्थाबारे छलफलमै थिए।

विकल्पमा विरोध

गौतम समाजवादी पार्टीमा नखुले एकीकृत समाजवादी पार्टी सांसद विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने सम्भावना बलियो छ। 

त्यसो त समाजवादी पार्टीले देउवा सरकारमा लिने मन्त्रालयको टुंगो लागेको छैन। ६ मन्त्री र एक राज्यमन्त्री उनीहरुले मागेका छन्। 

तुल्सा यसो भन्छिन्

गौतमकी पत्नी तुल्सा थापा भने समाजवादी पार्टीमा आवद्ध भइसकेकी छन्। 

तर, निर्वाचन आयोगमा ढिला गएकाले उनको हस्ताक्षर सनाखत हुन पाएन। 

शुक्रबार दिउँसो नेपालखबरले थापालाई सम्पर्क गर्दा उनले वामदेव गौतम जता लाग्छन्, आफू त्यतै लाग्ने बताइन्।

‘म एक्लै कतै जाने कुरै भएन, वामेदेव गौतमजीले पनि म नयाँ पार्टीमा जाने भए राजीनामा दिएर मात्र जान्छु भन्नुभएको छ,’ थापाले भनिन, ‘अहिलेसम्म राजीनामा दिनुभएको पनि छैन र कतै खुल्नु पनि भएको छैन।’

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेदेखि साउन ३ गते विश्वासको मत समेत दिएको नेपाल पक्षले नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेको हो।

नेपाल पक्षलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री देउवाले डेढ महिना बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्।

मन्त्रीका आकांक्षी

गौतमको नेतृत्वमा सरकारमा सहभागी भए समाजवादी पार्टीले एक उपप्रधानमन्त्री पाउनेछ। देउवाले अहिलेसम्म उपप्रधानमन्त्री बनाएका छैनन्। 

त्यसो त समाजवादी पार्टीका नेता बेदुराम भुसाल पनि मन्त्री बन्ने चर्चा छ।  

रामकुमारी झाँक्री र मेटमणि चौधरी पनि मन्त्री बन्ने भएपछि लुम्बिनी प्रदेशबाट धेरै मन्त्री बनाउँदा अन्य प्रदेश समेट्न अप्ठेरो भएपछि भुसाललाई पार्टी र संगठन हाँक्ने जिम्मा दिने योजनामा अध्यक्ष नेपाल छन्। 

भुसालले भने अहिले सरकारमा जाने विषयमा छलफल नै नभएको बताए।

हाम्रो पार्टीले भरखर नयाँ दलको मान्यता पाएको छ,’ भुसालले भने, अब हामी दलको बैठक राख्दैछौं। दलको बैठक राखेपछि स्वभाविक रुपमा सरकारमा पठाउने नेताहरुबारे छलफल गर्छौं’, उनले भने।   

उनका अनुसार सरकारमा सहभागिताभन्दा अगाडि मन्त्रालयको टुंगो लाग्नुपर्ने बताए।

‘कतिवटा मन्त्रालय लिने टुंगो लागेको छैन,’ भुसालले थपे, ‘मन्त्रालय अनुसार नेताहरु पठाउने निर्णय हुन्छ, सोमबार अघिसम्म निर्णय हुने संभावना कम छ।’

समाजवादी पार्टीबाट खतिवडा, झाँक्री, चौधरीबाहेक प्रेम आलेको नाम पनि चर्चामा छ। 

आले एमाले अध्यक्ष ओलीसँग विद्रोह गरेर नेपालको नयाँ पार्टीमा खुलेका हुन्। आलेजस्तै तनहुँका सांसद कृष्णकुमार श्रेष्ठ (किसान) पनि मन्त्री बन्ने चर्चा छ।

नेता नेपालले यो पटक मन्त्री बनाउन नसकेकालाई अन्य राजनीतिक नियुक्ति दिने तयारी गरेका छन्।

संसदीय समितिहरुमा नेपाल पक्षकै सांसदलाई सभापति बनाउने तयारी पनि छ। 

अध्यक्ष नेपाल प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलमै छन्।

समाजवादी पार्टीका अन्य सांसदहरुलाई चुनावताका मन्त्री बनाउने गरी सबैको पालो पुर्‍याउने योजनामा नेपाल छन्।

नेपाली कांग्रेसहित माओवादी केन्द्र, समाजवादी पार्टी, जनता मिाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थनमा गठबन्धन सरकार बनेको हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .