नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोश पोखेका छन्। माधवकुमार नेपालसहित १४ जना सांसदमाथि गरिएको कारबाहीको सूचना ९ दिन बितिसक्दा पनि नटाँसेपछि ओलीले सापकोटामाथि आक्रोश पोखेका हुन्।
'सभामुखलाई दाँत टाल्ने फुर्सद छ, एमालेले गरेको कारबाही नौ दिनसम्म रोकेर बसेका छन्', उनले भने, 'आठौं दिन त दाँत टाल्न हिँडेछन् तर सात दिनसम्म के गरेर बसेछन् सभामुख?'
ओलीले अब टालेको दाँतले एमालेको कारबाही सदर गर्न भन्दै सापकोटामाथि व्यंग्य गरे। 'सभामुख त हिजो त दाँत टाल्न गएका रहेछन्। उनलाई दाँत टाल्ने फुर्सद छ तर एमालेको कारबाही किन सदर गर्न सक्दैनन्?', उनले भने।
दलले गरेको कारबाही रोक्ने अधिकार सभामुखसँग नरहेको उनले बताए। 'सभामुखसँग त्यो अधिकार कहाँ छ? पार्टीले कारबाही गर्ने नगर्ने कुरा संविधानले दिएको छ', उनले भने, 'सभामुख एमाले फुटाउने षड्यन्त्रमा लागेका छन्। सभामुखले पक्षधरता छाड्न नसक्ने कानुनको पालना गर्न नसक्ने आफैंले पार्टीको लबिङ गर्दै हिँडेका छन्।'
सभामुखको बाटो लोकतन्त्र विरोधी र भष्मासुरको भएको उनले बताए। 'लोकतन्त्र विरोधी भष्मासुरको बाटो हो त्यो', उनले भने, 'सभामुखले त्यसलाई सच्याएर जान सक्नुपर्छ।'
Shares

प्रतिक्रिया