ad ad

राजनीति


एकता प्रयासमा लागेका नेता ओलीबाट निराश, नेपाल पक्षमा खुल्ने तयारीमा

एकता प्रयासमा लागेका नेता ओलीबाट निराश, नेपाल पक्षमा खुल्ने तयारीमा

सागर न्यौपाने
भदौ ६, २०७८ आइतबार २२:२, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले माधवकुमार नेपालसहित पार्टी एकताको सम्भावना सकिएको बताएपछि एकताका लागि प्रयास गरिरहेका नेताहरु निराश भएका छन्। अब पार्टीलाई फुटबाट जोगाउन नसकिने भन्दै उनीहरुले आफूहरु एमालेमा रहने सम्भावना सकिएको बताएका छन्।

पहिले नेपाल पक्षमा रहेका नौ जना स्थायी समिति सदस्यसहितका नेताहरु पार्टीलाई फुटबाट जोगाउने भन्दै नेपाललाई छाडेर एमालेमै बसेका थिए। उनीहरुले एकताका लागि ओलीले दस बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने र नेपालसहित १४ सांसदमाथि कारबाही फिर्ता हुनुपर्ने सर्त राखेका थिए। नेपाल एमालेमा रहँदा मात्रै एकता सम्भव हुने उनीहरुको भनाइ थियो।

तर, एमाले सचिव प्रदीप ज्ञवालीले माधव नेपालसहितको एमालेको सम्भावना समाप्त भइसकेको बताए।

‘माधव नेपालसहितको एकताको च्याप्टर क्लोज भयो,’ ज्ञवालीले नेपालखरबसँग भने, ‘एमाले विभाजन गर्ने, आफ्नै नेतृत्वको सरकार ढालेर कांग्रेसलाई सरकार बनाउन सहयोग गर्नेसँग मिल्न कसरी सम्भव छ र?’

एकताका लागि प्रयासरत नेताहरुबीच आइतबार बानेश्वरस्थित अर्याल होटलमा छलफलमा भएको थियो। उनीहरुले ओलीले नै पार्टी टुक्र्याउन चाहेकाले आफूहरुको प्रयास खेर गएको निष्कर्ष निकालेका छन्। 

‘माधव नेपालसहित १४ नेतामाथिको कारबाही र एकता सँगै हुँदैन,’ छलफलमा सहभागी एक स्थायी समिति सदस्यले नेपालखबरसँग भने, ‘ओलीजीले माधव नेपालबाहेकको एकता चाहेको बुझियो। त्यो भनेको पार्टी टुक्रियोस् भन्ने हो, १४ नेताको कारबाही फिर्ता नभए एमाले एक रहँदैन।’

सांसद झपट रावलले अध्यक्ष केपी ओलीले सम्झौता गर्ने र कार्यान्वयन नगर्ने गरेकाले समस्या भड्किएको बताए।

‘अध्यक्ष केपी ओलीले सहमति कार्यान्वयनमा चासो देखाउनुभएको छैन,’ रावलले भने, ‘उहाँ प्रतिशोधपूर्ण रुपमा लाग्नुभयो। त्यसले समस्या समाधान गर्ने भन्दा भड्कायो।’ 

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले इमान्दारी साथ १० बुँदे कार्यान्वयन नहुने हो भने एकता हुनै नसक्ने बताए। 

अध्यक्ष ओलीले आफूहरुलाई इंगित गरेर ‘पिलोको खिल’ भनेकोमा पनि उनले चित्त दुखाए।

‘उहाँले पिलो निचोरिए पनि खिल बाँकी रहेको भनेर केही नेतासँग भन्नुभएको हामीले सुन्यौँ,’ उनले भने, ‘त्यसको अर्थ खोज्दैछौँ, यदि उहाँलाई हामी खिल नै हो भन्ने परेको भए, त्यो खिल राख्नु भएन, ठण्डा दिमागले सोच्दैछौँ।’

‘यथार्थमा केपी कमरेड माधव नेपालबाट हामीलाई फुटाउने योजनामै हुनुहुन्छ,’ उनले भने।

माधव नेपालले भने नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नामक नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन्। आयोगले निवेदनको सनाखत गर्न उनीहरुलाई बुधबार बोलाएको छ। आयोग स्रोतका अनुसार त्यही दिन दल दर्ताको प्रमाणपत्र दिने सम्भावना छ। 

त्यही भएर ओली र नेपाल दुवै पक्षमा नखुलेका नेताहरुले विभाजन रोक्ने अन्तिम प्रयास भन्दै एकताका लागि बल गरेका थिए। 

तर, अब आफूहरु नेपाल पक्षमा खुल्ने वातावरण बन्दै गएको उनीहरु बताउँछन्। 

‘विभाजन नहोस् भनेर अन्तिम प्रयास भइरहेको छ,’ अर्का एक स्थायी कमिटी सदस्यले नेपालखबरसँग भने, ‘अध्यक्ष ओलीकै कारण एकताको सम्भावना सकिँदै गएको देखिन्छ। एकता सफल भएन भने एउटा बाटो समात्नै पर्छ। त्यो बाटो भनेको माधव नेपाललाई नै साथ दिने हो।’

चाँडै नै आफूहरु माधव नेपाल पक्षमा खुल्ने उनले बताए। 

‘अब धेरै दिन लाग्दैन। ढिलो गर्नु हुँदैन र लामो समय यत्तिकै बस्नु ठिक हुँदैन। पार्टी दर्ता भएपछि विस्तारै खुल्ने क्रम सुरु हुन्छ। सायद घोषणा पनि हुन्छ,’ ती स्थायी कमिटी सदस्यले भने, ‘नयाँ पार्टीमा हाम्रो व्यवस्थापनको चिन्ता छैन।’

ती नेताका अनुसार यस विषयमा एकता जोगाउन लागेका ५७ जना नै सबै प्रष्ट छन्। 

शुक्रबार महाराजगञ्जमा एकता जोगाउन लागेका नेताहरुको बैठक बसेको थियो। ५७ जनाको समर्थन पाएको सो बैठकमा ३३ जना उपस्थित थिए।

एकता प्रयास चलिरहेका बेला ओलीले माधव नेपालसहितका १४ जना सांसदलाई गरेको कारबाहीले झन् परिस्थिति बिगारेको उनीहरुको ठहर छ। अध्यक्ष ओलीले मंगलबार नै नेपालसहितका १४ जनालाई पदमुक्त गर्न संसद सचिवालयमा निवेदन दिएका थिए। 

तर, एमाले प्रवक्ता प्रदीप ज्ञवालीले १४ नेताको कारबाही फिर्ता हुनुपर्ने सर्त राख्नु नै गलत भएको बताए।

‘उहाँहरुलाई किन कारबाही गरियो भन्ने प्रष्टै छ, त्यो पुनर्विचार हुने कुरै भएन, उहाँहरुकै आग्रहमा देशको सबैभन्दा ठूलो पार्टी विभाजन गर्न अध्यादेश ल्याइयो,’ ज्ञवालीले थपे। 

दस बुँदे कार्यान्वयनमा गइसकेको उनी जिकिर गर्छन्। 

‘दस बुँदे कार्यान्वयनमा गइसकेको छ। पार्टीका विभिन्न कमिटीले कार्यदलले तयार पारेको सहमतिको १० बुँदे प्रस्तावलाई अनुमोदन गरेर कार्यान्वयनमा लगिसकेको छ,’ ज्ञवालीले भने।

उपाध्यक्ष युवराज ज्ञवालीले भने त्यसको ठाडै खण्डन गरे।

‘त्यो दस बुँदेभित्र गर्नुपर्ने काम थुप्रै छन्,’ युवराज ज्ञवालीले भने, ‘एमाले जेठ २ को अवस्थामा फर्किएकै छैन। त्यसबाहेक एकलौटी बैठक राखेर केपी ओलीले गर्नुभएका निर्णयलाई कसरी मान्न सकिन्छ?’

यसबारेमा अध्यक्ष ओलीसँग कुरै हुन नसकेको उनले बताए।  

‘ओलीजीसँग कुरै भएको छैन। तर, कार्यदलमा रहेका उहाँ निकट नेताहरुसँग कुरा भइरहेको छ,’ उनले थपे, ‘उहाँहरु दस बुँदे कार्यान्वयन भइसकेको छ बैठकमा आउनुस् भन्नुहुन्छ, हामी पहिला कार्यान्वयन गर्नुस् भनिरहेका छौँ। यहीँ कुरा मिल्न सकेको छैन।’

प्रवक्ता ज्ञवालीले दस बुँदेले सरकार र पार्टी दुवैलाई जोगाउन नसकेको टिप्पणी गरे। 

‘दस बुँदे सहमति कार्यान्वयन गरेपछि एमाले नेतृत्वको सरकार पनि जोगिएन,’ उनले भने, ‘एमाले विभाजन समेत रोक्न सकेन। दस बुँदे सहमति कार्यान्वयनमा दबाब दिनुभएको साथीहरुले खै त एमाले विभाजन रोक्नुभएको?’

माधव​ नेपालको पार्टी मालेजस्तै हुन्छः प्रदीप, एमालेको हालत लज्जास्पद हुन्छः युवराज
माधव नेपाल नेतृत्वमा बन्ने नयाँ पार्टी २०५४ सालमा एमाले विभाजन गरेर बनेको मालेजस्तै हुने प्रवक्ता प्रदीप ज्ञवालीले बताए। 

‘फुटेर गएको कुनै पार्टीले केही गर्न सक्तैन। २०५४ सालमा एमालेबाट कति उर्जावान् साथी गएका थिए, तर ४ वर्षमै फर्किनुपर्यो,’ उनले भने, ‘त्यो बेला एमाले फुटाउँदा एजेन्डा थियो। अहिले माधवजीसँग त्यो एजेन्डा पनि छैन।’

‘माधव नेपालको सम्मान भएन भनेर फुटेको पार्टीले के गर्ला?’ उनले व्यंग्य गरे। 

विभाजनले गरेको क्षति पूर्ति गर्न आफूहरु प्रयासरत रहेको उनले बताए।

‘यति ठूलो एमाले पार्टीबाट केही साथीहरु जानुभएको छ, यो क्षति मेकअप गर्न लागि रहेका छौँ,’ उनले भने।

तर, अहिलेको विभाजनलाई मालेसँग तुलना गरे ओलीले ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी उपाध्यक्ष युवराज ज्ञवालीले दिए।

‘यो माले/एमाले विभाजन होइन। यसमा दुई वटा पार्टीबीचमा प्रतिस्पर्धा हुँदैन। एकातिर एमाले हुन्छ, अर्काेतिर कम्युनिस्टसहितको वाम मोर्चा र कांग्रेस हुन्छ। त्यसबेला एमालेलाई निकै महंगो पर्नेछ।’ 

‘एमालेको हालत लज्जास्पद हुने देखेर हामी एकता जोगाउन लागि परेका छौँ। तर, ओलीजीले खासै चासो दिनुभएन,’ उनले थपे।  

अब मेचीदेखि महाकालीसम्मका एमाले नेता तथा कार्यकर्ताले ओलीको साथ छाड्ने क्रम सुरु हुने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .