राजनीति


शाही र वलीलाई पदमुक्त गर्न मिल्दैनः संसद सचिवालय, सभामुखले राजीनामा नदिए संसद चल्दैनः एमाले

शाही र वलीलाई पदमुक्त गर्न मिल्दैनः संसद सचिवालय, सभामुखले राजीनामा नदिए संसद चल्दैनः एमाले

सुदीप भण्डारी
भदौ ६, २०७८ आइतबार १६:३१, बुटवल

लुम्बिनी प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्य अजय शाही र विमला कुमारी खत्री वलीलाई पदमुक्त गर्न नमिल्ने बताएको छ।

एमाले संसदीय दलले प्रदेश सभाको नवौं अधिवेशन सुरु भएको दिन भदौ १ गते सभामुख पूर्णबहादुर घर्तीलाई भेटेर सूर्य चिन्हबाट चुनाव जितेका २ जना सांसदलाई कारवाही गरेको पत्र बुझाएको थियो।

प्रदेश सभामा कारवाहीको सूचना दिनुपर्ने माग गर्दै २ दिन बैठक अवरुद्ध गरेको थियो। एमालेले संसद चल्न नदिएपछि ३ गते सुचना टाँस गरेर भदौ ७ गतेसम्मको लागि प्रदेश सभा बैठक स्थगित भएको थियो।  

एमालेले बुझाएको पत्रको जवाफ दिँदै प्रदेश सभा सचिवालयले राजनीतिक दल सम्बन्धी ऐन बमोजिम कारवाहीको जानकारी सदनमा दिन नसकिने बताएको हो। 

‘माननीय श्री अजय शाहीले प्रदेश सभा सचिवालयमा पेश गर्नुभएको विवरण र कागजात हेर्दा नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम सूचना दिन पाउने नपाउने प्रश्न उठेकाले उक्त सूचना सोही ऐनको दफा ३५ बमोजिम जानकारी दिन नसकिने’ प्रदेश सभा सचिवालयले एमाले संसदीय दलको कार्यालयलाई लेखेको पत्रमा उल्लेख छ। 

विमला कुमारी खत्री वलीको सम्बन्धमा प्रदेश सभा नियमावली बमोजिम २०७४ को नियम १८७ सँग सम्बन्धित अनुसूची ६ बमोजिम उनी आफैँले पेश गरेको विवरण र माओवादी केन्द्र संसदीय दलले दिएको विवरण हेर्दा माओवादी केन्द्रको सांसद ठहरिने सचिवालयले बताएको छ।  

अजय शाही नवलपरासी पश्चिम क्षेत्र नम्बर १ ‘ख’ बाट सूर्य चिन्हबाट चुनाव जितेका हुन्। हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूह र एमालेबीच सहमती भए अनुसार उनले सूर्य चुनाव चिन्ह लिएका थिए। 

एमाले र माओवादी केन्द्र एक भइ नेकपा कायम भएको अवस्थामा विमला कुमारी खत्री वली दाङ क्षेत्र नम्बर ३ ख बाट उपचुनाव जितेकी थिइन्। पार्टी विभाजनपछि उनले गत वैशाखमा माओवादी केन्द्र रोजेकी हुन्। उनलाई एमालेले आफ्नो पक्षमा पार्न पटक पटक प्रयास गरेको थियो। आफू मुख्यमन्त्री कार्यालयमा बन्धक समेत बनेको पत्रकार सम्मेलनमा बताएकी थिइन्। 

यसैबीच नेकपा एमालेले लुम्बिनी प्रदेश सभाका सभामुखले पदअनुकुल आचरण नगरेको आरोप लगाएको छ। आज बुटवलमा पत्रकार सम्मेलन गरी एमालेले सभामुख पूर्णबहादुर घर्तीले कार्यकर्ता जस्तो एकपक्षीय व्यवहार गरेको उल्लेख गरेको छ। सभामुखले आफैँ न्यायाधीश बनी प्रचलित कानून विपरितको आचरण स्वेच्छाचारिता देखाएको एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले बताए। 

‘सभामुखले कार्यक्षेत्र नाघेर निर्णय गर्नु कुनै संसदीय व्यवस्था अवलम्बन गरेका मुलुकले हालसम्म नअपनाएको निरंकुशताबादी चरित्र हो’ पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ। एमालेले सभामुख पदमा बसिरहन नमिल्ने समेत बताएको छ। 

पत्रकार सम्मेलनमा पूर्वमन्त्री एवं सांसद बैजनाथ चौधरीले सभामुख न्यायाधीश बन्न खोजेको आरोप लगाउँदै उनको राजीनामा नआएसम्म एमालेले प्रदेशसभा चल्न नदिने चेतावनी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad