असार २९ मा गठबन्धन सरकारको प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले ३५ दिन बित्न लाग्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्।
देउवाले अहिले आफूसहित ६ सदस्यीय मन्त्रिपरिषद्को नेतृत्व गरिरहेका छन्। माओवादी, जनता समाजवादी पार्टी र एमालेको माधवकुमार नेपालको पनि साथमा सरकार बनाएका देउवाले मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा आलोचित भइरहेका छन्।
यस्तोमा सत्तारुढ गठबन्धनको सदस्य घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार हुन अझै समय लाग्ने बताएका छन्।
समाजवादी केन्द्रले बिहीबार काठमाडौंमा गरेको एक कार्यक्रमा सहभागीहरुले मन्त्रिपरिषद् विस्तारबारे प्रश्न उठाइएपछि प्रचण्डले अझै समय लाग्ने बताएका हुन्।
'यसबारेमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल चलिरहेको छ', दाहालले भने, 'आजै पनि यसबारेमा हामीबीच छलफल भएको छ। यसमा माधवकुमार नेपालजीसँग पनि कुरा भएको छ', उनले भने, 'माधवजीहरुको पार्टी निर्वाचन आयोगमा दर्ता हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुनेछ।'
प्रचण्डको यो भनाइले अझै दुई साता मन्त्रिपरिषद् विस्तार हुने सम्भावना न्यून भएको छ। नेता नेपालले नयाँ पार्टी दर्ताका लागि दिएको निवेदनमा आयोगले छलफल गरिरहेको छ। नेपालको पार्टी अबको कम्तीमा १५ दिनमा दर्ता हुन सक्नेछ।
Shares

प्रतिक्रिया