भदौमा हुने भनिएको १४ औँ महाधिवेशन मंसिरसम्मलाई धकेलिएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन्।
उनले महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका नेताहरुलाई छलफलका लागि बोहोराटार बोलाएका हुन्।
छलफलका लागि ४-५ नेताहरुलाई बोलाइएको बोहोराटार स्रोतले जनाएको छ।
‘हिजो महाधिवेशनको नयाँ कार्यतालिका आयो। यही विषयमा अब कसरी अगाडि जाने भन्ने बारेमा छलफल गर्न ४–५ जना नेताहरुलाई बोलाउनुभएको छ,’ बोहोराटार स्रोतले भन्यो।
अहिलेसम्म महामन्त्री डा. कोइराला, पूर्वमहामन्त्री सिंह, नेता दिलेन्द्रप्रसाद बडू बोहोराटार पुगिसकेका छन्। अन्य केही नेताहरु पुगेपछि छलफल सुरु हुने बताइएको छ।
प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी मंसिर ९–१३ मा पार्टीको १४ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो।
कांग्रेसले यसअघि पाँच पटक महाधिवेशनको कार्यतालिका परिमार्जन गरिसकेको छ। आन्तरिक विवादका कारण कांग्रेस पटक–पटक महाधिवेशनको कार्यतालिका परिमार्जन गर्दै आएको थियो।
Shares

प्रतिक्रिया