ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारले तत्कालीन तथा दीर्घकालीन योजना बनाएर मनाङका बाढीपीडित जनताको बास सुरक्षित बनाउने बताएकी छन्।
आफ्नो पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको नेतृत्वमा शनिबार मन्त्री भुसाललगायत जनप्रतिनिधिको टोलीले मनाङका पिसाङ, चामेका विभिन्न स्थान, नासोको दानाक्युलगायत बाढीले क्षति गरेका क्षेत्रको स्थलगत अवलोकन गरेको थियो।

त्यस क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले आफूहरूको सरकारले बाढीपीडित जनतालाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
यसै क्रममा ऊर्जामन्त्री भुसालले पनि सामाजिक सञ्जालमार्फत सरकार नागरिकको सुरक्षित बासका लागि प्रतिबद्ध रहेको आश्वासन दिएकी हुन्।

‘हिमालपारी मनाङको पिसाङ, चामेका विभिन्न स्थान, नासोको दानाक्युलगायत बाढी एवं भूक्षय प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरियो,’ मन्त्री भुसालले लेखेकी छन्, ‘प्राविधिकसहितको यस टोलीको अध्ययनका आधारमा तत्कालीन, दीर्घकालिन योजना बनाएर नदी कटान एवं भूक्षय नियन्त्रणका योजना बनाएर जनताको बसोबास सुरक्षित गर्नेछौं।’
Shares

प्रतिक्रिया