ad ad

राजनीति


नेपाल समूहमा दोस्रो पुस्ता भर्सेस् तेस्रो पुस्ता

नेपाल समूहमा दोस्रो पुस्ता भर्सेस् तेस्रो पुस्ता

मणि दाहाल
साउन ११, २०७८ सोमबार ६:३,

गत आइतबार शेरबहादुर देउवाले संसदबाट विश्वासको मत लिएको एकदिनपछि माधवकुमार नेपालले आफूनिकट सांसदहरुको भेला नयाँ बानेश्वरस्थित होटल अर्यालमा राखे।

सोमबारको सो भेलामा देउवालाई मत नदिएका नेपाल पक्षका सांसदहरु सहभागी भएनन्। ओली समूहबाट नेपाल समूहमा आएका सांसदहरु सहभागी भएका थिए।

नेपालनिकट १० जना सांसदहरु मतदान प्रक्रिया सुरु हुनेबित्तिकै बाहिरिएका थिए भने पछिल्लो समयमा अध्यक्ष केपी शर्मा ओलीसँग रहेका ८ जना सांसदले देउवाको पक्षमा मतदान गरेका थिए।

'त्यसले एमालेमा नेपाल समूहभित्र आन्तरिक समीकरणमा आएको फेरबदल आएको छ,' एमालेका एक नेताले भने, 'अहिले नेपाल समूहभित्र दोस्रो पुस्ता भर्सेस तेस्रो चलिरहेको जस्तो देखिन्छ।'

अहिले भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, भीम आचार्य गोकर्ण विष्ट, योगेश भट्टराई, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य एकातिर र विजय पौडेल, प्रकाश ज्वाला, रामकुमार झाँक्री, राजेन्द्र राई, विरोध खतिवडा, मेटमणि चौधरीसहित अनेरास्ववियु तथा युवा संघको नेतृत्व अर्कोतर्फ रहेको छ।

बेदुराम भुसाल र मुकुन्द न्यौपाने भने ओली पक्षसँग भइरहेको सहमतिप्रति खासै सकारात्मक छैनन्। रघुजी पन्त र सोमप्रसाद पाण्डे मझधारमा छन्।

'माधव कमरेडसँग पहिलेजस्तो अहिले धेरै छलफलहरु हुँदैनन्,' एमाले विवाद मिलाउन गठित कार्यदलका सदस्य रहेका एक नेताले भने, 'हामी सम्मानजनक एकता हुनुपर्छ भन्ने पक्षमा छौं। तर कसरी भन्ने विषयमा अझै स्पष्ट भइसकेको छैन।'

नेपालनिकट नेताहरु ओलीले एकताका लागि भनेर गरिरहेको छलफल गठबन्धन तोड्ने  प्रयास मात्रै भएको बताउँछन्। तर, कार्यदलका सदस्यहरु एकता हुने बताउँछन्। दुवै पक्षमा रहेको फरक बुझाइको कारण सामूहिकता घट्दै गएको एक सांसदले बताए। 

'पहिले भन्दा अहिले सामूहिकता घट्दै गएको छ,' विश्वासको मतको मतदानमा सहभागी नभएका एक सांसदले भने, 'संसद् जोगाउनु पर्ने थियो। त्यो सुनिश्चत भएपछि हामी बाहिर निस्केका हौँ। तर त्यसपछि हामीलाई बैठकमै बोलाउन छाडियो। साँच्चैको सामूहिकता खोजेको हो भने एक्लाएक्लै र सामूहिक रुपमा बोलाएर छलफल गर्नुपर्ने थियो।'

मतदान प्रक्रियामा सहभागी नभएका सांसदहरुले ओली पक्षका सांसदहरुसँग मिलेर पार्टी एकताका लागि अभियान पनि सुरु गरेका छन्। उनीहरुले आइतबार मात्रै विघटित कार्यदलका सदस्यहरुसँग सिंहदरबारमा अन्तर्क्रिया गरेका थिए। त्यसमा २७ जना सांसदहरु उपस्थित थिए।  

आइतबार मतदानअघि आफ्नो समूह अन्तर्गतको स्थायी कमिटीको बैठक नबोलाएको भन्दै कार्यदलमा सदस्य रहेका नेताहरुको असन्तुष्ट रहे।

'बैठक राखेको भए कुरा अर्को हुन्थ्यो,' एक केन्द्रीय सदस्यले भने, 'बैठक नराखेको भनेर समूहमा असन्तुष्टि छ।'

निरन्तर रुपमा बैठक राख्ने नेपालले मतदान भएपछिको एक सातापछि मात्रै स्थायी कमिटीको बैठक बोलाएका थिए।

तर स्थायी कमिटीको आइतबारको बैठक पनि स्थायी कमिटीका सदस्यहरुले आग्रह गरेपछि मात्रै राखिएको स्रोतले जनाएको छ।

देउवाले एक्कासि संसदबाट विश्वासको मत  प्रस्ताव ल्याएका थिए। त्यसअघि शनिबार अबेर नेता माधवकुमार नेपालसहितका गठबन्धनका नेताहरु बसेरै सोसम्बन्धी निर्णय गरेका थिए। जसलाई नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरुले उचित मानेका छैनन्।

विश्वासको मत लिनुअघि कार्यदलमा सदस्यहरुले नेता नेपालसँग भेट गरेका थिए। आइतबार नै संसदमा विश्वासको मतको प्रस्ताव दर्ता गराएका देउवाले दिउँसो मतदान गराएका थिए।

नेपालले आफूले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने आफू राजनीतिक तथा नैतिक रुपमा पनि आवश्यक रहेको बताएका थिए।

सो छलफलमा नेपाल पक्षबाट कार्यदलको संयोजक रहेका भीम रावलले विपक्षमा मतदान गर्नुपर्ने प्रस्ताव गरेका थिए। जसलाई नेता नेपालले अस्वीकार गरे। त्यसपछि उपाध्यक्ष भीम रावलले राजीनामा दिएका थिए। यद्यपि आइतबार राजीनामा दिएका उपाध्यक्ष रावलले शुक्रबार फिर्ता लिएका थिए।

त्यसैगरी देउवा प्रधानमन्त्री हुनेबित्तिकै विपक्षी गठबन्धनबाट बाहिरिने र पार्टी एकताका लागि लाग्ने निर्णय सुनाएका नेता नेपालले त्यसपछिको बैठकमा भने पोलिटब्युरो सदस्य विजय पौडेललाई पठाएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .