ad ad

राजनीति


अन्योलमा कांग्रेस महाधिवेशन, चुनावी प्रक्रिया छोट्याउने तयारी

संस्थापन पक्ष नै अलमलमा छ, पौडेल पक्ष दबाब बढाउँदै
अन्योलमा कांग्रेस महाधिवेशन, चुनावी प्रक्रिया छोट्याउने तयारी

क्रियाशील सदस्यता विवादमा सानेपामा कांग्रेस कार्यकर्ताको धर्ना। तस्बिर : नेपालखबर


केशव सावद
साउन १०, २०७८ आइतबार २२:११,

क्रियाशील सदस्यता विवाद नसुल्झिएका कारण कांग्रेसको साउन १२ मा हुने भनिएको गाउँ/नगर वडा अधिवेशन स्थगित भएको छ। यससँगै भदौमा तय भएको १४ औँ महाधिवेशन समेत अन्योलमा परेको छ।

अहिले कांग्रेसमा निर्धारित मितिमै महाधिवेशन गर्न प्रक्रिया छोट्याउने अथवा महाधिवेशनलाई पछाडि धकेल्ने विकल्पहरूमाथि छलफल भइरहेको छ। कांग्रेस आगामी भदौ १९ सम्म महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यतामा छ।

प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले तोकिएकै मितिमा महाधिवेशन हुने बताउँदै आएका छन्। तर, क्रियाशील सदस्यतामा देखिएको विवादका कारण गाउँ÷नगर वडा अधिवेशन स्थगित भएपछि संस्थापन पक्षीय नेताहरु पनि आगामी भदौ १६ मा केन्द्रीय महाधिवेशन हुनेमा ढुक्क देखिँदैनन्। 

‘अधिवेशन हुने सम्भावना न्यून जस्तो देखिन्छ। यो घिस्रिँदै घिस्रिँदै २०६४ को चुनाव जस्तै हुन्न हुन्न भन्दाभन्दै फ्याट्ट हुन पनि सक्छ,’ सभापति देउवाका विश्वासपात्रमध्येका एक नेताले नेपालखबरसँग भने, ‘हुन्छ हुन्छ भन्दाभन्दै नहुन पनि सक्छ।’

कोरोना, वर्षात् र राजनीतिक परिस्थितिको मूल्यांकनमा संस्थापन र इतर समूहबीच समझदारी भए महाधिवेशन सर्ने ती नेताको भनाइ छ। तर उनको बुझाइमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच समझदारी कायम हुने सम्भावना भने न्यून छ।

‘रामचन्द्र दाइ अपोजिसन नेता हुनुहुन्छ। परिस्थिति कस्तो छ भने रामचन्द्र दाइले अधिवेशन सार्न पर्छ भन्यो भने कमजोर भएका कारण पछाडि सार्यो भन्ने जान्छ। शेरबहादुर दाइले सारौँ भन्दा यो सभापतिमा रहिरहने चाहनाले सार्यो भन्ने पर्छ,’ उनले भने, ‘रामचन्द्र दाइ कमजोर नहुने, शेरबहादुर दाइ लोभी नहुने भन्नाले रामचन्द्र दाइलाई बलियो छु भन्ने देखाउनुपर्ने र शेरबहादुर दाइलाई पदको लोभी होइन भन्ने देखाउनुपर्ने स्थिति छ। यस्तोमा सहमति होला जस्तो लाग्दैन।’

शनिबार सभापति देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले साउन १२ गते हुने भनिएको गाउँ÷नगर वडा अधिवेशन स्थगित गरेको थियो। 

बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता छानबिन समितिले  सभापति देउवालाई प्रतिवेदन बुझाइसकेपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय महाधिवेशनको मिति यथावत राखेर नयाँ कार्यतालिका निर्धारण गर्ने बताएका थिए। 

पदाधिकारी र पूर्वपदाधिकारी बैठकले गाउँ-नगर वडा अधिवेशन स्थगित गरेपछि आइतबार संस्थापन इतर समूहको बैठक महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको थियो। बैठकमा तोकिएकै मितिमा महाधिवेशन आयोजना गर्नेगरी विभिन्न विकल्पहरूमा छलफल भएको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए। अधिवेशनको ‘मोडालिटी’ कस्तो बनाउने भन्नेबारेमा विभिन्न उपायको खोजी भइरहेको उनको भनाइ छ।

‘संविधानतः निर्धारित मितिभित्र अधिवेशन हुनैपर्छ। अधिवेशन हुनैपर्छ भनेर हामीले निरन्तर रुपमा भन्दै आएका छौं। अहिले पनि अधिवेशनको मोडालिटी कस्तो बनाउने भन्ने सन्दर्भमा सहमतिमा बाटो निकाल्न सकिन्छ,’ केसीले भने, ‘त्यसलाई अलिकति समयसिमालाई घटाउने अथवा कुन–कुन तहको मात्रै अधिवेशन गर्ने, बाँकी रहेका तहहरूको अधिवेशनपछि गर्ने, आदि विभिन्न विकल्पहरु आएका छन्।’

स्रोतका अनुसार संस्थापन पक्षीय नेताहरु कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन)लाई शून्य अवधि मानेर महाधिवेशनको मिति पछाडि धकेल्नेबारे पनि छलफल चलाइरहेका छन्। 

तर, इतर समूह भने पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै केन्द्रीय महाधिवेशन आयोजना गरिनुपर्ने अडानमा देखिएको छ। ‘शून्य समयको पनि कुरा आएको छ,’ केसीले भने, ‘शून्य समय अदालतले खाली कर तिर्नेहरूलाई मात्रै दिएको हो। राजनीतिलाई दिएको छैन। अधिवेशनका लागि मन, वचन, कर्मले लागौं।’

उनले सम्भावित विकल्पहरूका बारेमा छलफल गरेर पार्टीको वैधानिकता संरक्षण गर्नुपर्नेमा जोड दिए। ‘पार्टीको वैधानिकतालाई संरक्षण गर्न केकस्ता खालका विकल्पहरु छन्, त्यसमा हामी छलफल गर्छौं,’ नेता केसीले भने, ‘पार्टी सबैको हो, साझा हो। यसको वैधानिकतालाई संरक्षण गर्नुपर्छ।’    

सभापति पदका एक आकांक्षीले पार्टीमा चुनावी प्रक्रिया घटाएर महाधिवेशन आयोजना गर्ने सम्भावना पनि रहेको बताए। उनका अनुसार पार्टीको तल्लो तहका केही कार्यसमितिहरूको अधिवेशन थाती राखेर आसन्न महाधिवेशन आयोजना गर्ने सम्भावना देखिएको हो। उनले वडा, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको अधिवेशन गरेर केन्द्रीय महाधिवेशन आयोजना गर्नेबारेमा तयारी पनि बताए। 

कांग्रेसको गत असार ४ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो। उक्त कार्यतालिकाअनुसार गाउँ-नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते गर्नुपर्ने थियो। 

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको थियो।

कांग्रेसका संरचना टोलस्तरदेखि केन्द्रसम्म आठ तहको हुने गरी विधानमा व्यवस्था गरिएको छ। विधानअनुसार सबैभन्दा तल टोल कार्यसमिति, त्यसपछि क्रमशः वडा कार्यसमिति, नगर÷गाउँ कार्यसमिति, प्रदेश निर्वाचन क्षेत्र कार्यसमिति, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमिति, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिमा पार्टीका संरचनाहरु हुने विधानमा व्यवस्था छ। 

संविधानअनुसार हरेक साढे ५ वर्षभित्र सबै राजनीतिक दलले केन्द्रीय अधिवेशन गर्नुपर्छ। कांग्रेसको विधानले चार वर्षको कार्यकाल तोकेको छ। चार वर्षभित्र हुन नसके एक वर्ष थप्न सकिने प्रावधान छ। संविधानले पाँच वर्षभित्र गर्न नसके कारण खुलाएर थप ६ महिना बढाउन सकिने व्यवस्था गरेको छ। भदौ १९ बाट संविधानले दिएको थप ६ महिनाको समय सकिँदै छ। 

कांग्रेस प्रवक्ता शर्माले क्रियाशील सदस्यताको सूची प्राप्त भएपछि वडा अधिवेशनको अर्को तालिका आउने बताए। केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा रहेको क्रियाशील सदस्यता छानबिन समितिले आगामी मंगलबार क्रियाशील सदस्यताको सूची सभापति देउवालाई बुझाउने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .