ad ad

राजनीति


दोबाटेलाई रोकेपछि देउवालाई शेखरको प्रश्न : भोलि कुन मुखले दलितकहाँ भोट माग्न जानु?

दोबाटेलाई रोकेपछि देउवालाई शेखरको प्रश्न : भोलि कुन मुखले दलितकहाँ भोट माग्न जानु?

नेपालखबर
साउन १०, २०७८ आइतबार १३:३२,

गण्डकी प्रदेशसभा सदस्य दोबाटे विश्वकर्मालाई अन्तिम समयमा रोकेर जग्गा व्यापारी एवम् अर्का प्रदेशसभा सदस्य विन्दुकुमार थापालाई मन्त्री बनाएको विषयलाई लिएर कांग्रेस नेता शेखर कोइरालाले कडा टिप्पणी गरेका छन्। 

केही दिनअघि गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाललीले प्रदेश सरकार विस्तारका क्रममा तनहुँका सांसद दोबाटेलाई सपथका लागि बोलाइएको थियो। तर कांग्रेस सभापति एवम् प्रधानमन्त्रीले दोबाटेलाई वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट भन्दै पाखा लगाएका थिए। 

सपथका लागि तयार भइसकेका दोबाटेलाई अन्तिम समयमा रोकेर देउवाले भिटो नै प्रयोग गरेर आफ्नै समूहका जग्गा व्यापारी एवम् कास्कीका प्रदेशसभा सदस्य विन्दुकुमार थापालाई  मन्त्री बनाएका थिए। देउवाको यो कदमलाई लिएर नेता शेखरले नेतृत्वले समाजवाद र समावेशीताको अभ्यासलाई लत्याउने काम पनि गरेको बताएका छन्। 

'लोकतान्त्रिक समाजवाद र समावेशीताबाट नेपाली कांग्रेस कहिल्यै पर जान सक्दैन र जानु पनि हुन्न । तर गण्डकी प्रदेशको सरकारले पूर्णता पाउने क्रममा समावेशीता र अझ दलित समुदायको प्रतिनिधित्वलाई जसरी लत्याइयो, यो दुर्भाग्यपूर्ण हो', उनले भनेका छन्, 'पार्टीले गरेको त्यो अक्षम्य भूल हो। दलित समुदायप्रतिको अपमान हो।'

सामाजिक कुरीतिविरुद्ध लडेको कांग्रेसलाई गण्डकी प्रदेश सरकारको गठन प्रक्रियाले दुखी बनाएको पनि उनले बताएका छन्। 'सामाजिक कुरीतिविरुद्ध व्यवहारिक रुपमा लडेको नेपाली कांग्रेसलाई गण्डकी प्रदेशको सरकार गठन प्रक्रियाले दु:खी बनाएको छ', उनले भनेका छन्, 'त्यति मात्रै नभई सिंगो दलित समुदाय जसले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेले उनीहरुको शिर निहुरिएको छ।'

कोइरालाले गण्डकीको बदमासीले भोट माग्न दलित समुदायसम्म पुग्ने अफ्ठेरो अवस्था आएको बताएका छन्। 'भोलि कुन मुखले उनीहरुको अगाडि जाने? यो हेक्का राख्नु पर्दैन? कि एकपटक सरकारमा गएपछि सधैँलाई पुग्यो?', शेखरले देउवालाई लक्षित गर्दै भनेका छन्, 'सामाजिक न्यायका कुरा केबल इतिहासको बखान र शब्द रटान मात्रै होइन, व्यवहार र लोकतान्त्रिक आचरण पनि हो।'

उनले यो निर्णय कुनै हालतमा सच्याउनै पर्ने भन्दै नेतृत्वलाई दबाब दिएका छन्। 'बिपी स्मृति दिवस मनाउँदै र बिपीको तस्वीरमा चढाएको फूल नओइलिँदै गर्दा भएको यो निर्णयको जवाफ हामीले समाजलाई दिनैपर्छ', उनले भनेका छन्, 'यसलाई तुरुन्त सच्याउनु जरुरी छ। भोलिका दिन यस्ता निर्णयहरु पार्टीको निम्ति निकै महँगो पर्न सक्छ। सबैले हेक्का राखौं।' 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .