ad ad

राजनीति


झलनाथको उपचारमा ओलीले गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने विश्वास छः गगन थापा

झलनाथको उपचारमा ओलीले गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने विश्वास छः गगन थापा

नेपालखबर
साउन ६, २०७८ बुधबार १२:४४,

नेपाली कांग्रेसका युवा नेता गगन थापाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने निर्णयप्रति फेरि असन्तुष्टि जनाएका छन्। 

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार खनालसँगको टेलिफोन संवादका क्रममा उपचार खर्च सरकारले व्यहोर्ने बताएको समाचार सार्वजनिक भएपछि उनले असन्तुष्टि जनाएका हुन्।

नेता थापाले कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैरकानुनी भएको स्मरण गर्दै अघिल्लो सरकारले कानुनविपरीत गरेको निर्णयको भारी कांग्रेस नेतृत्वको सरकारले नबोक्ने विश्वास व्यक्त गरेका छन्।

‘सम्माननीय प्रधानमन्त्रीज्यू, कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैरकानुनी हो र अघिल्लो सरकारले कानुनविपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्नेछैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईंको भनाइ उद्धृत गर्दै आएका समाचार गलत हुन् भन्ने विश्वास छ’, उनले ट्विट गरेका छन्। 

मिर्गौलामा गम्भीर समस्या भएपछि भारतको नयाँ दिल्लीमा उपचाररत खनालसँग प्रधानमन्त्री देउवाले मंगलबार खुमलटार पुगेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मोबाइलबाट संवाद गरेका थिए। 

‘तपाईं ढुक्कसाथ उपचारमा लाग्नुस्। तपाईंको उपचार खर्च सबै सरकारले व्यहोर्छ’, प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले भनेका थिए, ‘तपाईं निको भएर फर्किनुहोला, उपचारका लागि कुनै कमी हुन नदिने वचन दिन्छु।’

खनालको मिर्गौलामा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। तर त्यहाँ अवस्था झन् जटिल भएपछि उनलाई असारको सुरुवातमा उपचारका लागि दिल्ली लगिएको थियो। 

दिल्लीमा उपचाररत खनालको सबै उपचार खर्च तत्कालीन केपी ओली नेतृत्वको सरकारले गर्ने घोषणा गरेको थियो। तर त्यसबेला कांग्रेसका नेता थापासहितले सरकारको निर्णयको चर्को विरोध गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .