ad ad

राजनीति


देउवालाई विश्वासको मत: अरू दल एक हुँदा गुट समेत फुट्यो एमालेको

देउवालाई विश्वासको मत: अरू दल एक हुँदा गुट समेत फुट्यो एमालेको

मणि दाहाल
साउन ४, २०७८ सोमबार २३:८,

शेरबहादुर देउवाले आइतबार विश्वासको मत प्राप्त गरेर संसदको बाँकी अवधी र आफ्नो शासनको समय सुनिश्चित गरिरहँदा विपक्षी दल नेकपा एमालेको अवको यात्रा भने अझै निश्चित छैन। 

अहिलेकै अवस्थालाई हेर्दा एमालेभित्र दुई हैन चार चिरा छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको समूहभित्र पनि थप बिबाद बढेसँगै अब सिंगो एमाले रहन्छ भन्नेमै अन्योल बढेको छ। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अवस्थादेखि ओलीलाई साथ दिँदै आएका ८ सांसदले विश्वासको मत दिएका छन्। देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। 

नेपाल समूहका १० जना सांसदहरु मतदान प्रक्रियाबाट अलग्गिएका छन्  तर त्यसभन्दा अघि दुवै पक्षमा निकै तानातानको अवस्थामा बनेको थियो। 

आइतबार बिहान विघटित कार्यदलका सदस्यहरु नेता नेपाललाई भेट्न गएका थिए। कोटेश्वरस्थित निवासमा भएको भेटमा कार्यदलमा नेपालको पक्षबाट संयोजक रहेका भीम रावलले देउवाको विपक्षमा मतदान गर्न प्रस्ताव गरेका थिए। 

नेपालले आफैले एक्लै भएपनि मत दिने जानकारी गराएका थिए । 'रावलजीले यसरी पार्टी एकता हुन सक्ने र सञ्चालन हुन नसक्ने बताउनु भयो' बैठकमा सहभागी एक नेताले भने, 'पार्टी तपाईँले चलाउने कि मैले भनेर नेपालले भन्नुभयो।' 

कार्यदलका संयोजक बनाएको रावलको भूमिकालाई लिएर नेपालमा असन्तुष्टी बढेको छ। अध्यक्ष ओलीसँगको भेटमा कार्यवाहक अध्यक्ष बनाउने आश्वासनपछि रावल परिवर्तन भएको बुझाइ नेपालको छ । सोमबारमात्रै निकटस्थहरूसित नेता नेपालले भनेका छन्,'दाहिने हात,देब्रे हात भनिएकाहरूले नै अन्तिममा धोका दिए,कति पिडा सहेर आफ्नो अडानमा बसे हुँला म!'

नेपालसँगको बैठकपछि शंकर पोखरेलले समाजिक सञ्जालमा फेसबुकमा तीन महिनाका प्रयास खेर गएको र नेता नेपालले दस बुँदे सहमति नमानेको  लेखेका थिए।
 
एमालेको स्थायी कमिटी बैठकमा पनि त्यही ब्रिफिङ भएको थियो।  नेपालसँग कार्यदलका सदस्यहरूले भेटेलगत्तै ओली पक्षको स्थायी कमिटीमा बैठक च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्यो भने नेपाल पक्षको सांसदहरुको छलफल सिंहदरबारस्थित संसद सचिवालयमा भएको थियो। जसमा रावलले कोटेश्वरको कुरा दोहोर्‍याए।
 
तर त्यहाँ पनि सहमति बन्न सकेन। रिसाएर बाहिरिएका रावल मोटर चढेर सिंहदरबारबाट संसद भवनतर्फ लागे । 'रावल कमरेडले देउवाको विपक्षमा मत हाल्ने प्रस्ताव गर्नुभयो। हामीले मानेनौँ, त्यसो भए मैले सांसद पदबाट राजीनामा दिन्छु भनेर उहाँ झोक्किनुभयो,’ बैठकमा सहभागी एक सांसदले भने,'हामीले नदिनुस भन्याैं तर उहाँ रिसाएर फन्किदैं निस्किनुभयो।'

 सिंहदरबारबाट निस्किएका रावलको पछि पछि एमाले नेता सुरेन्द्र पाण्डेको गाडी थियो। रावललाई राजीनामा गर्नबाट रोक्न पाण्डे उनको पछिपछि संसद भवन पुगेका थिए। आक्रोशित रावलले पाण्डेको कुरै सुनेनन् र पत्रकार माझ राजीनामाको घोषणा गरे।  

उता ओली पक्षको स्थायी कमिटीको बैठकले देउवाको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो। संसद भवनमा विश्वासको मत लिने विषयमा बैठक चल्दै गर्दा नेपाल पक्षका सांसदहरुको छुट्टै बैठक भएको थियो ल्होत्से हलमा सांसदहरुबीच भएको छलफलले जसपा पनि एकै बिन्दुमा आएको अवस्थामा अहिलेको खेल एमालेलाई विभाजन मात्रै गर्न भएको निष्कर्ष निकालेको थियो। 


'माधवकुमार नेपालसँग छलफल गरेर सबै जना अनुपस्थित हौ । त्यसले पार्टी एकताका लागि पुरै दबाब ओलीलाई पर्छ भन्ने निष्कर्ष रह्यो,' छलफलमा सहभागी एक सांसदले भने। 
त्यसमा छलफलको क्रममा चलेको विषयपछि नेता नेपालसँग छलफल गर्न दैलेखका सांसद तथा केन्द्रीय सदस्य राजबहादुर बुढा गएका थिए। बुढालाई नेपालले अदालतले सबैलाई व्यक्तिगत रुपमा स्वतन्त्र बनाइदिएको भन्दै आफूले मनलागेको गर्न जवाफ दिएका थिए। 


'नेता नेपालले यो विषयको च्याप्टर बिहानै सकिएको हो। मैले एक्लै भएपनि समर्थनमा मतदान गर्छु । अहिले आएर अनुपस्थित हुन सकिदैन भनेर भन्नु भयो,' छलफलमा सहभागी ती सांसदले भने। संसद जोगाउने शेरबहादुर देउवाले विश्वासको मत चाहिने जति प्राप्त गर्न कुनै समस्या नहुने निष्कर्ष सो भेलामा थियो। 


तर ल्होत्से हलमा जम्मा भएका सांसदहरु मध्ये सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण विष्ट र योगेश भट्टराईसहित दीपकप्रकाश भट्ट, नारायण खतिवडा, सोमनाथ पाण्डे, यज्ञराज सुनुवार, राजबहादुर बुढा र झपट रावल बाहिरिएका थिए। 

'कि अदालत जाँदै हुँदैनथ्यो गएपछि विश्वासको मत दिनु पर्थ्यो। त्यो राजनीतिक र नैतिक हुन्थ्यो। जे जति साथीहरुले देउवालाई विश्वासको मत दिएर संसदलाई जोगाउने काम गर्नु भएको छ त्यो राजनीतिक रुपमा औचित्यपूर्ण छ,' नेता रघुजी पन्तले भने, 'यसको पछि राजनीतिक कारण, आधार र नैतिकता पनि छ।' 


मतदानमा भाग नलिने नेपाल समूहका १० जना मध्य सात जना मात्रै संसद विघटनविरुद्ध अदालत गएका थिए। 'एकताका लागि ओलीतर्फ पनि दबाब बढ्दै गएको छ। तल्लो तलबाट ओलीमाथि पनि एकताका लागि दबाब सिर्जना भएको छ,' सांसद दीपकप्रकाश भट्टले भने, 'एकताको बाटो बन्द गर्ने भन्दा पनि मिलेरै जाने विषयका लागि बाहिर मतदानमा भाग नलिएका हौं।'


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .